साग : खोखोमा नेपालको जीत


१५ मंसिर २०७६, आईतवार
Kho Kho Female Team 10.27 1

काठमाडौं, १५ मंसिर । १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज भएको खोखोको पुरुषतर्फको खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ ।

कीर्तिपुरमा भएको खेलमा नेपालले बङ्गलादेशलाई २१–१९ अङ्कले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको हो । जितसँगै नेपालले तीन अङ्क जोडेको छ । खोखोमा नेपालले पहिलो पटक बङ्गलादेशलाई पराजित गरेको हो ।

पहिलो इनिङको पहिलो टर्नमा चेन्जिङ गरेको नेपालले १२ अङ्क जोड्दा दोस्रो टर्नमा बङ्गलादेशले पनि १२ नै अङ्क जोड्यो । दोस्रो इनिङको पहिलो टर्नमा नौ अङ्क जोड्दा नेपाल २१–१२ को स्थितिमा पुग्यो । तेस्रो टर्नमा बङ्गलादेशले सात अङ्क जोड्दा नेपाल २१–१९ ले विजयी भयो । नेपालको जितमा धनप्रसाद चौधरी, कुशल मेछे र गणेश विश्वकर्माले समान चार–चार अङ्क जोडे ।

नेपालले भोलि दोस्रो खेलमा भारतको सामना गर्नेछ । आज नै भएको अर्को खेलमा भारतले श्रीलङ्कालाई २१–८ अङ्कले पराजित गर्‍यो । त्यस्तै महिलातर्फको आजै भएको खेलमा नेपाली महिला टोलीले बङ्गलादेशलाई ११–९ अङ्कले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको छ । जितसँगै नेपाली महिला टोलीले तीन अङ्क जोडेको छ ।

पहिलो इनिङमा रनिङ रोजेको नेपालले पहिलो टर्नमा ११ अङ्क जोड्यो । दोस्रो टर्नमा चेन्जिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै बङ्गलादेशलाई जम्मा पाँच अङ्क जोड्न दियो ।

पहिलो इनिङको समाप्तिमा नेपाल ११–५ को बलियो स्थितिमा रह्यो । दोस्रो इनिङको पहिलो टर्नमा बङ्गलादेशले चार अङ्क मात्रै जोडेपछि नेपाल एक टर्न अगाडि नै जित निकाल्न सफल भयो । नेपाली महिला टोलीले भोलि भारतको सामना गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७