१३ औं साग उद्घाटनमा पाँच सय कलाकारको साँस्कृतिक झाँकी र आतिशवाजी (फोटो फिचर)


१५ मंसिर २०७६, आईतवार
sa scaled

काठमाडौं, १५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को आज साँझ दशरथ रङ्गशालामा आयोजित निकै आकर्षक र भव्य समारोहबीच उद्घाटन गरेकी छन् ।

सहभागी मुलुकका खेलाडीको मार्च पासबाट शुरु भएको उक्त समारोहको राष्ट्रपति भण्डारीले व्यवस्थित र भव्यरुपमा सिँगारिएको दशरथ रङ्गशालामा आयोजित विशेष समारोहमा साँझ १७ः५७ बजे प्रतियोगिता शुरुवात भएको घोषणा गरेकी छन् ।

राष्ट्रपतिबाट प्रतियोगिता उद्घाटन भएको घोषणा भइरहँदा आतशबाजी र पटका पड्काएर समारोहलाई थप आकर्षक र मनोरञ्जनात्मक तुल्याइएको थियो ।

यसअघि समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल सरकारले सागलाई सफल तुल्याउन निकै प्राथमिकता दिएर पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको बताए । उनले भने, ‘यो खेलकूद प्रतियोगिता प्रतिस्पर्धा र पदक मात्र होइन, सार्क मुलुकबीचको एकता र मित्रता पनि हो ।’

मूल आयोजक समितिका अध्यक्ष जगतबहादुर विश्वकर्मा, सदस्य सचिव रमेशकुमार सिलवाल र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले साग प्रतियोगिताको समग्र वस्तुस्थिति, महत्व र तयारीबारे जानकारी दिएका थिए ।

समारोहमा सात हजार ५०० को संख्यामा रहेका कलाकारले नेपालका साथै सदस्य मुलुकको मौलिक संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत दिएका थिए । समारोहमा लाखे नृत्य र सागको मस्कट प्रस्तुत गरिएको छ ।

समारोहमा कला र सांस्कृतिक कार्यक्रमको माध्यमबाट नेपालकोे नक्साको आकारसहितको राष्ट्रिय झण्डाको आकृति बनाइने कार्यक्रम रहेको छ । मुलुकका सातै प्रदेश पु¥याएर ल्याइएको सागको ज्योति समारोहमा प्रवेश गराइएको थियो ।

काठमाडाैं, पोखरा र जनकपुरमा आजदेखि २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका माध्यमबाट नेपालको इज्जत, प्रतिष्ठा र खेल क्षेत्रको गौरव बढाउने विश्वास गरिएको छ । तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले प्रतियोगितामा ५९४ खेलाडीको सहभागिता रहने जानकारी दिए ।

सागलाई सफल तुल्याउन करिब १८ हजार सुरक्षाकर्मी र ५०० स्वयंसेवक परिचालन गरिएको छ । सन् १९८४ मा स्थापना भएको सागको १३ औं श्रृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

सन् १९८४ मा पहिलोपटक नेपालबाट शुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो । दक्षिण एशियाली मुलुकबीचको यो प्रतियोगितालाई खेलकूद उत्सवको रुपमा लिने गरिएको छ ।

सागको यस पटकको मस्कट ‘कृष्णसार’ रहेको छ । सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भूटान र श्रीलङ्काका खेलाडीले २६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायका विशिष्ट महानुभाव साग उद्घाटन समारोह कार्यक्रम अवलोकनका लागि रङ्गशाला पुगेका थिए ।
१३ औं सागः खड्का र थापाबाट शपथ
काठमाडौं, पोखरा र जनकपुरमा आजदेखि शुरु भएको १३ औं सागमा सम्पूर्ण खेलाडीका तर्फबाट नेपालका क्रिकेट खेलाडी पारस खड्का र रेफ्री तथा अफिसियलका तर्फबाट ब्याडमिण्टनका अन्तर्राष्ट्रिय रेफ्री दीपक थापाले शपथ लिएका छन् ।

खेल उद्घाटन समारोहमा मार्चपासमा नेपालको झण्डा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोकेका थिए । समारोहमा नेपालका प्रथम ओलम्पियन जीतबहादुर केसीको नेतृत्वमा सातै प्रदेशमा साग ज्योति लगी आज दशरथ रङ्गशालामा ल्याइएको थियो । कार्यक्रममा मुकुन्दराज शर्माको शब्दमा रहेको साग गीत इन्दिरा जोशी र साथीहरुले गाएका थिए ।

त्यस्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तर्फबाट नृत्य, नेपालका सातै प्रदेशका गीतनृत्य तथा सार्क मुलुकका छुटछुट्टै गीत ती मुलुककै भाषामा प्रस्तुत गरिएको थियो ।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको चित्र, सात मुलुकका झण्डा तथा प्रतियोगितामा समाविष्ट २६ खेलको विद्युतीय प्रदर्शनी गरिएको थियो । लाखे र सागको मस्कट कृष्णसारको नृत्य तथा मयूर र याक नृत्यका साथै देवीदेवताका प्रतीक पनि प्रस्तुत गरिएको थियो । समारोहमा बौद्ध भिक्षुहरुको सहभागिता गराई शान्तिको सन्देश पनि दिइएको थियो ।
हेर्नुस तस्विरहरु

sag 2
sag 3
sag 4
sag 6
1
2
3
RS KTM 20191201 0070
RS KTM 20191201 0071
RS KTM 20191201 0080

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७