विद्यार्थी तान्न गेटमै सोधनी बोर्ड


१६ मंसिर २०७६, सोमबार

मोरङ, १६ मंसिर । सामुदायिक विद्यालयप्रति अभिभावकको आकर्षण घट्दै जान थालेपछि विद्यालयले सुधारका विभिन्न उपाय अपनाउन थालेका छन् । यही क्रममा बेलबारी–११ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयले अभिभावकको ध्यान आकर्षित गर्न प्रवेशद्वारमै सोधनी बोर्ड राखेको छ ।

बोर्डमा लेखिएको छ, ‘अभिभावक ज्यू नमस्कार ! कता हिंड्नु भयो कुन्नि ? विद्यालय प्रवेश गरी छोराछोरीको पढाइबारे छलफल गरौं कि ?’ यो बोर्डले धेरै अभिभावकलाई एकपटक सोच्न बाध्य बनाएको छ ।

केही अभिभावक मात्रै आफ्ना छोराछोरीको पढाइबारे सोध्न आउने गरेको भन्दै लक्ष्मी माविका प्रधानाध्यापक गोविन्द भण्डारीले भने, ‘अधिकांश अभिभावक छोराछोरी पास भयो कि भएन भनेर रिजल्ट लिन मात्रै आउँछन् ।’ तर, विद्यालयले सोधनी बोर्ड राखेपछि अभिभावकको चासो बढेको भन्दै शैक्षिक सुधारमा पनि गुणात्मक फड्को मारेको उनले बताए ।

गुणस्तरीय शिक्षामा जोड दिएकै कारण अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै जान थालेको उनले बताए । चालू शैक्षिक सत्रमा विद्यालयमा एक सय ५२ जना विद्यार्थी बढेका छन् ।

प्रधानाध्यापक भण्डारीका अनुसार ४९ जना निजी विद्यालय छाडेर आएका छन् भने अन्य बसाइँ सरेर तथा सामुदायिक विद्यालयबाटै आएका छन् । लक्ष्मी माविमा नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन हुने गरेको छ ।

सामुदायिक विद्यालयले विद्यार्थी आकर्षित गर्न विभिन्न अभियान थालेसँगै विद्यार्थीको आकर्षण पनि बढ्दै गएको छ । विद्यार्थी आकर्षित गर्न कम्प्युटर तथा व्यवस्थित पुस्तकालयको व्यवस्थापन गरिएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । सुवेदीका अनुसार चालू आवदेखि नै स्वयंसेवक शिक्षक कार्यक्रम पनि लागू गरिएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७