बाबाले लगाए बुद्धि : बलात्कार आरोपी सिद्धबाबा पक्राउ गर्न प्रहरी आए लगत्तै आइसियूमा


१६ मंसिर २०७६, सोमबार
balatkari

मोरङ, १६ मंसिर । बलात्कार आरोपमा अदालतमा म्याद थप गराउन प्रहरी पक्राउ गर्न आएको थाहा पाएलगत्तै सिद्धबाबा भनिने कृष्णदास गिरी महाराज सिकिस्त बिरामी भएको भन्दै आइसियूमा भर्ना भएका छन् ।

बलात्कारको आरोप लागेपछि विराटनगरको मुनालपथस्थित विराट नर्सिङ होमको क्याबिनमा उपचारका लागि १२ मंसिर दिउँसो भर्ना भएका कृष्णदासलाई पक्राउ गर्न सुनसरी प्रहरीको टोली आस्पताल पुगेको थियो । जिल्ला अदालत सुनसरीमा बलात्कार आरोपमा म्याद थप गराउन सुनसरी प्रहरी प्रवक्ता डिएसपी विनोद शर्माको टोली अस्पताल पुगेको थियो ।

अस्पतालको गाइनो वार्डको पाँच नम्बर वातानुकुलित क्याबिनमा सामान्य अवस्थामा रहेका कृष्णदास अचानक सिकिस्त भएर आइसियूमा भर्ना भएपछि उनलाई नियन्त्रणमा नलिइकन प्रहरीको टोली फर्किएको छ ।

अदालतबाट पक्राउपुर्जी जारी भइसकेकाले कृष्णदास प्रहरीको नियन्त्रणमा आइसकेको भन्दै डिएसपी शर्माले भने, ‘गिरी आइसियूमा भर्ना भए पनि असई नेतृत्वको टोलीले सादा पोसाकमा रही अस्पतालमा निगरानी गरिरहेको छ ।’

विराट नर्सिङ होममा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ज्ञानेन्द्र गिरीका अनुसार सिद्धबाबालाई दिउँसो अचानक प्रेसर बढेर मुटुमा असहज भएको थियो । त्यो अवस्था भनेको हार्टअट्याककै रूप भएकाले थप जोखिम आउन नदिन आइसियूमा भर्ना गर्नुपरेको उनले बताए । आइतबार बिहान ११ बजेसम्म पत्रकार र शुभचिन्तकसँग भेटघाटमा रहेका कृष्णदास सिकिस्त भएको टेलिफोनमार्फत मुटुरोग विशेषज्ञ डा. गिरीलाई जानकारी गराइएको थियो ।

योगसाधनामा सिद्धपुरुष तथा वनस्पति गुणमा विद्यावारिधि हासिल गरेको बताउने कृष्णदास सुनसरीको बराहक्षेत्र नगरपालिका–२ चतराधामस्थित आश्रममा बस्दै आएका छन् । ४ कात्तिक ०७६ मा बलात्कार गरेको भन्दै उनकै अनुयायी एक महिलाले कृष्णदासविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छिन् । उनी १२ मंसिरमा नर्सिङ होममा भर्ना भएका हुन् । १४ मंसिर शनिबार उनले पत्रकारहरूलाई बोलाएर अन्तरवार्ता दिंदै आफूलाई बदनाम गराउने षडयन्त्र भएको बताएका थिए ।

घटनाबारे प्रधानमन्त्रीको चासो
बलात्कार आरोपमा किटानी जाहेरी दर्ता भएपछि सिद्धबाबा बताउने कृष्णदास गिरी तथा घटनाबारे प्रधानमन्त्री केपी ओलीले पनि चासो व्यक्त गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले घटनालाई गम्भीर रूपमा लिँदै कृष्णदासको विगत र वर्तमान अवस्थाबारे मिहिन ढंगले अनुसन्धान गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको निर्देशनअनुसारै जनपद प्रहरी र राष्ट्रिय अनुसन्धानका चरहरू कृष्णदासको डिटेल खोजी गर्न सक्रिय भएका छन् । हिन्दूधर्मको बहाना बनाएर सद्भाव भड्काउन खोज्ने चलखेल हुन सक्ने भन्दै सुरक्षा निकायले विशेष सावधानी पनि अपनाइएको जनाएको छ ।

कृष्णदासको विगत र वर्तमान
सोलुखुम्बुको जुबुमा ०३१ सालमा जन्मिएका कृष्णदासको खास नाम कृष्णबहादुर गिरी हो । उनी कक्षा ७ मा फेल भएपछि भारत गएका थिए ।

भारतबाट फर्केर उनले आफूलाई सिद्ध प्राप्त गरेको साधु बताउँदै सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा सुनसरी–मोरङ सिँचाइ आयोजनाको ६० बिघा जमिन आयुर्वेद विश्वविद्यालय बनाउने भनेर ओगटेका थिए । ०६५ मा उनले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई बोलाएर आयुर्वेद विश्वविद्यालयका लागि भनेर यज्ञ उद्घाटन गराएका थिए ।

त्यसैगरी, ०७५ माघमा चतरामा राष्ट्रपति विद्या भण्डारीबाट पहिलो श्रीराम तारकब्रह्म महायज्ञ उद्घाटन गराएका थिए । सोही अवसरमा उनले नक्सा पास नगरी आठ बिघा जग्गामा बनाएको एक सय २८ कोठे भवन पनि राष्ट्रपतिबाट उद्घाटन गराएका थिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७