नेपालद्वारा माल्दिभ्स पराजित, उक्लियाे शीर्ष स्थानमा


२१ मंसिर २०७६, शनिबार
Nepal vs maldivs football team

 काठमाडाैं, २१ मंसिर ।  जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । यो जीतसँगै नेपाल तीन खेलमा सात अङ्क जोड्दै लिग तालिकाको शीर्ष स्थानमा छ ।

त्यस्तै माल्दिभ्सको स्वर्ण पदक जित्ने सम्भावना भने समाप्त भएको छ । चार खेल खेलेको माल्दिभ्स दुई अङ्क जोड्दै लिग तालिकाको अन्तिम स्थानमा छ । खेलमा शुरुआती अग्रता भने माल्दिभ्सले लिएको थियो ।

खेलको १८औँ मिनेटमा इब्राहिम महुदी हुसैनले गोल गर्दै माल्दिभ्सलाई १–० को अग्रता दिलाए ।खेलको ४३औँ मिनेटमा नेपालका अभिषेक रिजालले एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले पेनाल्टी क्षेत्रको ठीक बाहिर आएको बललाई नियन्त्रणमा लिँदै गोल गरेका थिए । 

दोस्रो हाफको ५२ औं मिनेटमा नेपालले अग्रता लियो । सुनिल बलको कर्नरमा अनन्त तामाङको लो हेडरलाई माल्दिभ्सका गोलरक्षकले बचाउन सकेनन् । लगत्तै माल्दिभ्सका इब्राहिमले पेनाल्टी क्षेत्रको बाँया भागबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

७० औं मिनेटमा विक्रम लामाको लामो फ्रिकिमा अनन्तको हेडरले गोलरक्षकलाई समस्या दिन सकेन । लगत्तै हैसामले ६ यार्ड बक्स भित्रबाट गरेको प्रहार गोलरक्षक विकेशले बचाए ।

जितेसँगै नेपाल ३ खेलमा ७ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लेकाे छ । माल्दिभ्स ४ खेलमा २ अंक जोड्दै पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ । अब फाइनल पुग्न नेपालले अन्य नतिजाको प्रतिक्षा गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७