१३ औं साग : आज १५ खेल हुँदै, कुन खेल कहाँ ?

भारत ११९ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल ४३ स्वर्णसहित दोस्रो स्थानमा


२२ मंसिर २०७६, आईतवार
sag

काठमाडौं, २२ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को आज (आइतबार) आठौं दिन विभिन्न १५ खेलमा स्पर्धा हुँदैछ ।

आज आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, ह्यान्डबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्ती खेलमा प्रतिस्पर्धा हुनेछ । महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुँदैछ । जनकपुरमा कुस्ती र बाँकी खेल काठमाडौंमा हुनेछ ।

मुख्य आकर्षणको रुपमा रहेको नेपाल र बङ्गलादेशबीको पुरुष फुटबल साँझ ५ः०० बजे दशरथ रङ्गशालामा हुँदैछ । फाइनलमा पुग्न नेपाललाई बङ्गलादेशलाई कम्तिमा बराबरीमा रोक्नुपर्ने चुनौती छ । सातौं दिनसम्म नेपाल ४३ स्वर्णसहित पदक तालिकाको दोस्रो स्थानमा छ । भारत एक सय १९ स्वर्णसहित शीर्ष स्थानमा छ ।
आजदेखि जुडो शुरु हुँदै
साग अन्तर्गत नेपालले स्वर्ण अपेक्षा गरेको खेल जुडोको प्रतिष्पर्धा आजदेखि शुरु हुँदैछ । लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद प्रशिक्षण केन्द्रमा हुने जुडोमा केही खेलको स्वर्ण छिनोफानो हुनेछ ।

जुडोमा महिलातर्फ ४८ किलोमुनि, ५२ किलोमुनि, ५७ किलोमुनि र ६३ किलोमुनि समूहमा प्रतिष्पर्धा हुनेछ । यस्तै पुरुषमा ६० किलोमुनि ६६ किलोमुनि र ७३ किलोमुनि तौल समूहमा प्रतिष्पर्धा हुनेछ ।

यस्तै सातदोबाटोमा सञ्चालन भइरहेको पौडीमा आज ८ स्वर्णका लागि प्रतिष्पर्धा हुनेछ । जसमा ४०० मिटर फ्रिस्टायल पुरुष र महिला, २०० मिटर बटरफ्लाई पुरुष र महिला, ५० मिटर ब्याकस्ट्रोक पुरुष र महिला तथा चार गुणा २०० मिटर फ्रिस्टायल रिलेमा प्रतिष्पर्धा हुने जनाइएको छ ।

सातदोबाटोमै बक्सिङका खेलहरु पनि हुनेछन् । बक्सिङमा आज पनि सेमिफाइनल राउण्डको खेल हुनेछ । जसमा नेपालका ५ खेलाडीले खेल्दै छन् । नेपालबाट माला राईले महिला ५१ किलो, चन्द्रकला थापाले महिला ५७ किलो, तेजबहादुर देउबाले पुरुष ५२ किलो, सनिल शाहीले पुरुष ६० किलो र गणेश प्रधानले पुरुष ८१ किलो समूहमा प्रतिष्पर्धा गर्नेछन् ।

यसैगरी सातदोबाटोमा सुटिङ, टेनिस र स्क्वासले पनि निरन्तरता पाउनेछ । स्क्वासमा आज महिला र पुरुषका फाइनल खेलहरु हुनेछन् । कीर्तिपुरस्थित कभर्डहलमा हुने फेन्सिङमा आज तीन स्पर्धाको फाइनल खेल हुनेछ ।

बास्केटबलतर्फ नेपालको महिला र पुरुष दुवै टिमले आज खेल्दैछ । पुरुष टिमले बिहान साढे १० बजे माल्दिभ्ससँग र महिला टिमले दिउँसो ३ बजे भुटानसँग प्रतिषपर्धा गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७