नेकपा सचिवालय वैठक १ बजे बस्दै, प्रधानमन्त्री ओली सहभागी नहुने


२३ मंसिर २०७६, सोमबार
nekapa scaled

काठमाडौं, २३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (सोमबार) दिउँसो १ बजे बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा बस्ने सचिवालय वैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने प्रचण्डको सचिवालयले जनाएको छ ।

एपेन्डिसाइटिसको शल्यक्रियापछि ९ दिन अस्पताल बसेर बालुवाटार फर्किएका प्रधानमन्त्री ओली स्वास्थ्यकै कारण सचिवालय बैठकमा उपस्थित हुन नसक्ने जनाएको छ । प्रधानमन्त्रीले अपरान्ह ४ बजे मन्त्रि परिषदको बैठक डाकेका छन् ।

सचिवालय बैठकको तयारी गर्न भनेर आइतबार बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, सदस्य ईश्वर पोखरेललगायत नेताहरू प्रचण्डले खुमलटारमा बोलाएर छलफल गरेका थिए ।

नेता देवेन्द्र पौडेलका अनुसार पार्टीका विभिन्न विभागमा पदाधिकारी तथा सदस्य नियुक्ति सचिवालयले गर्ने र त्यसअघिको गृहकार्य गर्न प्रचण्ड र सचिवालयका सदस्यहरूको बैठक बसेको हो । आजको बैठकमा मंसिर १४ गते भएको विभिन्न तहको उपनिर्वाचनको मत परिणामबारे पनि समीक्षा हुने जनाइएको छ ।

यसअघि मंसिर १८ गते बसेको सचिवालयले बैठकले उपनिर्वाचन भएका ५२ स्थानको समीक्षा पठाउन पार्टीका सम्बन्धित कमिटीलाई निर्देशन दिएको थियो । उपनिर्वाचनमा नेकपाले भक्तपुरमा प्रदेश सभा सदस्य र धरान उपमहानगरमा मेयर गुमाएको थियो ।

दुई वर्षअघि नेकपा (तत्कालीन एमाले र माओवादी केन्द्र) ले जितेका ६ वडामा पनि यसपालि नेपाली कांग्रेसले जितेको छ । ६ दशकदेखि कम्युनिष्टको गढ मानिएको धरानमा पराजित भएपछि नेकपाभित्र हारको कारणबारे बहस जारी छ । आजको बैठकले पार्टी स्थायी समिति र केन्द्रीय कमिटीको बैठक बोलाउनेबारे पनि छलफल गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७