यी पाँच प्रमुख प्रशासकीय अधिकृत घरमै बसेर गर्छन् कार्यालय आउजाउको हाजिरी


२४ मंसिर २०७६, मंगलवार
0 Hari Ghimire final pic cover 1

शिवहरि घिमिरे: खोज पत्रकारिता केन्द्र

राजधानी घर भएका स्थानीय तहका पाँच जना प्रमुख प्रशासकीय अधिकृतले घरबाटै कार्यालय आउजाउ गरेको देखाएर नगएको दिनको पनि हाजिर गरिरहेका छन् । विद्युतीय हाजिरी बिगारेर मनमौजी गर्ने पाँच स्थानीय तहका प्रमुखको कर्तुत ।

कर्मचारी नम्बर एक

6

ललितपुरको महाँकाल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डे काठमाडौंको थानकोटबाट दैनिक ५५ किमी दूरी पार गरेर कार्यालय ओहोरदोहोर गर्छन् । ग्रामीण सडक भएकोले गाडीबाट यो दूरी पार गर्न करीब ४–५ घण्टा लाग्छ । २६ कात्तिक २०७६ मा गोटिखेलस्थित गाउँपालिकाको कार्यालय पुग्दा पाण्डे भेटिएनन् । तर, त्यस दिन उनले रजिष्टरमा हाजिर गरिसकेको भेटियो । उनले अघिल्लो दिन नै भोलिपल्टको पनि हाजिर गरेका थिए ।

हामी कार्यालयमा पुग्दा दुई नायब सुब्बा, कम्प्युटर इन्जिनियर र एकजना कार्यालय सहायक थिए । गाउँपालिका उपाध्यक्ष कमला तामाङका अनुसार, प्रमुख प्रशासकीय अधिकृत सातामा दुई–तीन पटक मात्रै कार्यालय आएर एकैपटक धेरै दिनको हाजिर गर्छन् । “पाण्डे सर नियमित कार्यालय आउनुहुन्न, आएपछि गयल दिनको पनि हाजिर गरेको भेट्टाएका छौं” उपाध्यक्ष तामाङ भन्छिन्, “मन्त्रालयले पठाएका कर्मचारीसँग काम गर्न सारै गाह्रो भइरहेको छ ।”

कार्यकारी नियमित नआउँदा सेवाग्राही मर्कामा परेका छन् । स्थानीय प्रकाश थिङले, काम लिएर हप्तामा तीनपटक आउँदा एकपटक मुश्किलले कार्यकारी भेटिने गुनासो गरे । उनले भने “हाकिमको कुर्सी सधैं खाली हुन्छ । काम परेरै आउँदा पनि कार्यालयमा भेटिनुहुन्न, प्रशासकीय अधिकृत खोई भनेर सोध्दा अरू कर्मचारी रिसाउँछन् ।”

कार्यालयमा नभेटिएपछि २६ कात्तिकमा पाण्डेलाई हामीले कार्यालयबाटै फोन सम्पर्क ग¥यौं । प्रशासकीय अधिकृत पाण्डेले आफू कार्यालयमै रहेको दाबी गरे । तर जब हामीले आफूहरू पनि कार्यालयमै भएको बतायौं उनले बोली फेरे ।  उनले भने “मैले सेवाग्राहीलाई मर्का पारेको त छैन नि !”

गाउँपालिका प्रमुख रामचन्द्र दाहालले कर्मचारीलाई मनाएर प्रशासनिक काम गर्न मुश्किल परेको व्यथा सुनाए । उनले भने, “कार्यालयका कागजात र निर्णयमा हामीले हस्ताक्षर गरेर हुँदैन, कार्यकारी नियमित कार्यालय नआएकोले काममा बाधा परेको छ ।”

गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय नजिकै बस्ने व्यवस्था मिलाइदिने प्रस्ताव गरेको तर त्यसलाई उनले अस्वीकार गरेको दाहालले सुनाए । पाण्डे पाहुना आए झैं कार्यालयमा आउने–जाने गरेको धेरैको गुनासो छ ।  गाउँपालिकाका एकजना कर्मचारीका भनाइमा, कात्तिक महीनामा उनी ८ दिन मात्रै कार्यालयमा गएका छन् । हाजिर चाहिं महीनाभरिको गरेका छन् ।

कर्मचारी नम्बर दुई

ललितपुरको वागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य भक्तपुरको बालकोटमा बस्छन् । बालकोटबाट भट्टेडाँडास्थित वागमती गाउँपालिकाको कार्यालयको दूरी झन्डै ५० किमी छ । बालकोटबाट गाडीमा कार्यालय पुग्न उनलाई कम्तीमा तीन घण्टा लाग्छ ।

त्यसैले उनी नियमित कार्यालय जाँदैनन् । निर्णय गर्नुपर्ने काम र हस्ताक्षर गर्नुपर्ने कागजात तयार पारेर अरू कर्मचारीले उनको टेबुलमा राखी दिन्छन् । उनी आफ्नो अनुकूलतामा त्यहाँ पुगेर कागजातमा सही गरेर घर फर्किन्छन् । स्थानीय मनोज पराजुली भन्छन्, “आचार्य सरले अफिस आएको वेला रजिष्टरमा हाजिर गरेर फर्किएको गुनासो सुनिएको छ ।”

१४ कात्तिक, दिउँसो १२ बजे कार्यालय पुग्दा उनको कोठा चकमन्न थियो । सूचना अधिकारी मिलन शर्मा भन्दैथिए,  “उहाँ टाढाबाट आउनुपर्ने भएकोले ढिलो भएको हो ।” सेवाग्राही चाहिं आचार्य आउने बाटो हेरेर बसिरहेका थिए । भट्टेडाँडाका केशव तिम्सिना भन्छन्, “कुन दिन कति वेला आउनुहुन्छ, थाहै हुँदैन । कहिलेकाहीं त कुर्दाकुर्दै दिनै बित्छ ।”

आचार्य भने टाढाबाट आउँदा ढिलो हुने गरे पनि आफू कार्यालयमा नियमित उपस्थित हुने गरेको दाबी गर्छन् । यो गाउँपालिकामा पनि विद्युतीय हाजिर मेशिन बिग्रेकोले कर्मचारीहरू रजिष्टरमै हाजिर गर्छन् । आचार्य कात्तिकमा ९ दिन मात्रै कार्यालयमा उपस्थित भएका छन्, अरू दिन कार्यालयमा अनुपस्थित भएको विवरणबाट देखिन्छ ।

कर्मचारी नम्बर तीन

ललितपुरको कोन्ज्योसोम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमबहादुर महत सुनाकोठीमा बस्छन् । घरदेखि ३५ किमी कच्ची बाटो पार गरेर कार्यालय पुग्न महतलाई साढे दुई घण्टा लाग्छ । १४ कात्तिक दिउँसो ३ बजे गाउँपालिका कार्यालय पुग्दा उनी कार्यालयमा थिएनन् । गाउँपालिकाका इन्जिनियर दिनेश सञ्जेलले प्रशासकीय अधिकृत नियमित कार्यालय नआएको सुनाए । उनले भने, “कार्यकारीले गर्नुपर्ने काम धेरै हुन्छ, हस्ताक्षर उहाँकै चल्छ, तर नियमित कार्यालय आएको थाहा छैन ।”

यो गाउँपालिकामा पनि विद्युतीय हाजिरी बिग्रिएको छ । त्यसैले कर्मचारीले रजिष्टरमै हाजिर गर्छन् । गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङतानले कार्यकारी टाढा बस्दा कार्यालयको काममा बाधा परेको गुनासो गरे । उनका अनुसार केही कर्मचारी गाउँपालिका कार्यालय नजिकै डेरा गरेर बसेका छन् । तर महत चाहिं कार्यालय नजिक बस्न तयार छैनन् । गाउँपालिका प्रमुख सिङतान भन्छन्, “मन्त्रालयले खटाएका कतिपय ‘कामचोर’ कर्मचारीलाई मैले फर्काइदिएको छु ।” प्रमुख प्रशासकीय अधिकृत महतले ‘टाढा बसे पनि आफूले जिम्मेवारी पूरा गरेको’ बताए ।

उनले कात्तिकको हाजिरी दिन मानेनन् । सूचना अधिकारी चित्रदेव दाहालले सार्वजनिक विदा बाहेक अन्य दिन प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा उपस्थित भएको लिखित जानकारी दिए । कात्तिकमा शतप्रतिशत हाजिर गरे पनि महत १४ कात्तिकमा कार्यालयमै थिएनन् । सेवाग्राहीले समेत महत अधिकांश समय कार्यालयमा नभेटिने गुनासो गरेका छन् । स्थानीय सुजन तामाङ भन्छन्, “धेरै पटक कार्यालय आउँदा महत सरलाई हामीले भेटेका छैनौं ।”

कर्मचारी नम्बर चार

काभ्रेको पाँचखाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारी भक्तपुरको लोकन्थलीका बासिन्दा हुन् । उनको घरदेखि कार्यालयको दूरी करीब ४५ किमी टाढा पर्छ । भण्डारी हप्तामा चार दिनभन्दा बढी कार्यालयमा भेटिंदैनन् । पाँचखाल वातावरण बचाऊ अभियानका संयोजक सूर्यबहादुर भेटवाल भन्छन्, “सेवाग्राही १० बजेदेखि हाकिम कुरेर बसेका हुन्छन् । तर हाकिमसा’प १२ बजेअघि कार्यालय छिरेको देखिएको छैन । त्यो पनि सातामा तीन–चार दिन मात्रै ।”

पाँचखाल नगरपालिकाको पनि विद्युतीय हाजिरी बिग्रिएको छ । त्यसैले यहाँका कर्मचारी रजिष्टरमा हाजिर गर्छन् । विद्युत् नियमित नभएकोले विद्युतीय हाजिरी मेशिन बिग्रिएको प्रशासकीय अधिकृत भण्डारीले दाबी गरे । उनको स्पष्टीकरण छ, “टाढाबाट आउनु पर्दा सेवाग्राहीलाई मात्रै होइन, मलाई पनि अप्ठेरो छ ।”

उनी मात्र होइन, नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनानाथ पन्थी, लेखा सहायक सुशीला पाठक, सीतामाया तामाङ पनि भक्तपुरबाट भण्डारीसँगै ओहोरदोहोर गर्छन् । कार्यकारी कार्यालय नगएको दिन उनीहरू पनि जाँदैनन् । २७ कात्तिक दिउँसो पाँचखाल नगरपालिका पुग्दा उनीहरूमध्ये कोही पनि कार्यालयमा थिएनन् । भण्डारी कात्तिकमा ११ दिन मात्रै कार्यालयमा उपस्थित भएका छन् ।

कर्मचारी नम्बर पाँच

पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईं भक्तपुरको गठ्ठाघरवासी हुन् । घरदेखि करीब ३२ किमीको दूरीमा छ पनौती नगरपालिकाको कार्यालय । त्यहाँ पुग्न चापागाईंलाई कम्तीमा डेढ घण्टा लाग्छ ।

१ मंसीर आइतवार दिउँसो पनौती नगरपालिका पुग्दा चापागाईं कार्यालयमा भेटिएनन् । उनको हाजिरी विवरण अरू कर्मचारीले देखाउन मानेनन् । १० बजेदेखि पर्खेर बसेका सेवाग्राही प्रमुख प्रशासकीय अधिकृत चापागाईं १ बजेसम्म पनि नआएकोले आक्रोशित देखिन्थे ।

“हामीले तिरेको कर खाएका कर्मचारीले हामीलाई नै सताउने ?” पनौतीका बासिन्दा ईश्वर बस्नेतले भने, “नगरपालिकाको फोहोर व्यवस्थापनको एउटा योजनाका लागि धाउँदा धाउँदा जुत्ता फाट्न लागे ।” कतिसम्म भने तीन पटक कार्यालय पुग्दा पनि प्रमुख प्रशासकीय अधिकृत नभेटिएको गुनासो उनले गरे । त्यसै दिन कार्यालयबाट हामीले फोन गर्दा चापागार्इंले ‘पारिवारिक समस्याका कारण विदामा बसेको’ बताए । उनले भने, “हामी पनि मान्छे हो, बिरामी परिन्छ ।” तर, उनले त्यस दिनको पनि हाजिर गरेका छन् ।

पनौती नगरपालिकाको पनि विद्युतीय हाजिर बिग्रिएको छ । कात्तिकमा सार्वजनिक विदा बाहेक अन्य दिन विदा नबसेको उनले दाबी गरे । “म ११ गते विदामा बसेको छु, अरू दिन विदा बसेको छैन, नपत्याए मेयरसा’पलाई सोध्नुस् ।”

नगरप्रमुख भीम न्यौपानेले टाढा बसे पनि कार्यालयको काममा अवरोध नगर्न कर्मचारीलाई आग्रह गरिएको बताए । “कर्मचारी टाढा बसेपछि काममा अप्ठेरो त हुन्छ नै”,  न्यौपानेले भने । स्थानीय तहले कर्मचारीलाई डेराको व्यवस्था गरेको भए पनि कर्मचारी नबसेको न्यौपानेको भनाइ छ ।

मारमा सेवाग्राही

10 768x576
बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यको कार्यकक्ष ।

स्थानीय तहका कर्मचारी कार्यालयबाट टाढा बस्दा त्यसको सीधा असर सेवाग्राहीलाई परेको छ । टाढा बस्दा इन्धन र समयको खर्च त भएको छ नै, कार्यालयको काममा बाधा पुगेको छ । दुई वर्षअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव दिनेश थपलियाको अग्रसरतामा कर्मचारी टाढा बसेर सेवाग्राहीलाई सताएपछि मन्त्रालयले ‘परिपत्र’ गरेरै स्थानीय तहमा खटिएका कर्मचारीलाई सम्बन्धित स्थानीय तहभित्रै बस्न भनिएको थियो ।

त्यसअघि सोही मन्त्रालयले १ वैशाख २०७४ मा स्थानीय तहका कार्यकारीहरू समयमै हाजिर हुन र मन्त्रालयको स्वीकृति विना विदा लिन नपाउने व्यवस्था सहितको परिपत्र जारी गरेको थियो । त्यो परिपत्रमा भनिएको थियो– ‘अधिकृतहरूले मन्त्रालयको पूर्व स्वीकृति नलिई कार्यालय नछाड्नु हुन अनुरोध छ । पालिकाबाट विदा लिंदा वा बस्दा स्वीकृति लिएर मात्रै जानुहुन अनुरोध छ ।’

तर, प्रमुख प्रशासकीय अधिकृतहरूबाट दुवै परिपत्रको पालना नभएको पूर्वसचिव तथा प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । “त्यसवेला कर्मचारी सम्बन्धित स्थानीय तहमा नबसेका गुनासा धेरै आए, त्यसपछि मन्त्रालयमा ५/६ जनाको समूह बसेर त्यो परिपत्र जारी गरेका थियौं” उनले भने, “तर, कर्मचारी स्थानीय तहभित्र बस्नुपर्ने नियम पालना भएन ।”

मन्त्रालयका सूचना अधिकारी जीवलाल भुसालका अनुसार, स्थानीय तहभित्र नबस्ने कर्मचारीलाई सरुवा गरेर कारबाही गरिने अभ्यास पनि भएका छन् । तर, त्यसको लागि सेवाग्राहीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिनु जरूरी हुन्छ । मन्त्रालयका सहसचिव भुपाल बराल कर्मचारी टाढा बस्दा त्यसको घाटा सेवाग्राही र राज्यलाई भएको बताउँछन् । उनले भने, “स्थानीय तहका कर्मचारीको बदमासी नियन्त्रण गर्ने जिम्मा स्थानीय तहकै हो, टाढाबाट कार्यालय ओहोरदोहोर गर्दा राज्यलाई क्षति भएको छ । त्यसैले जनप्रतिनिधिहरू नै यसमा जागरुक हुुन जरूरी छ ।”

दुईथरी हाजिरी

समयमै कार्यालय नपुग्ने अनि सातामा एक–दुई दिन कार्यालय पुगेर हाजिर गर्ने कर्मचारीले अनेक बहानामा विद्युतीय हाजिर बिगार्ने गरेका छन् । उनीहरू मेशिन बिग्रिएको, सफ्टवेयरले काम नगरेको, बिजुली नभएको जस्ता कारण देखाएर रजिष्टरमै हाजिर गर्छन् । काभ्रेपलाञ्चोकका पाँचखाल, बनेपा, पनौती, धुलिखेल नगरपालिकाको विद्युतीय हाजिर चल्दैन । त्यस्तै ललितपुरको वागमती, कोन्ज्योसोम र महाँकाल गाउँपालिकामा पनि विद्युतीय हाजिरी नचल्ने बनाइएको छ ।

0 Hari Ghimire final pic cover

जनप्रतिनिधि आएपछि कर्मचारीले नै जानी जानी विद्युतीय हाजिरी बिगारेका हुन् । मेशिन बिग्रिएपछि आफ्नो अनुकूलतामा रजिष्टरमा हाजिर गर्ने छुट कर्मचारीले पाएका छन् । पाँचखाल नगरपालिकाका नासु प्रशन्न सिपखानले भने, “प्रमुख प्रशासकीय अधिकृतले जे भन्यो जनप्रतिनिधिले त्यही मान्नुपर्ने अवस्था छ । जानी जानी विद्युतीय हाजिरी बिगारिएको छ ।”

वागमती गाउँपालिकाको कार्यालयको ढोका बाहिर विद्युतीय मेशिन जडान छ । तर, प्रशासकीय अधिकृत युवराज आचार्यले विद्युतीय हाजिर भए पनि ढड्डामै हाजिर गरिएको बताए । उनले भने, “विजुलीबत्ती हुँदैन, कहिले सफ्टवेयरले काम गर्दैन, त्यसकारण ग्रामीण क्षेत्रमा रजिष्टरमै हाजिर गर्न सहज हुन्छ ।”

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाका अनुसार विद्युतीय हाजिरीको व्यवस्था नै कर्मचारीलाई समयको पालना गराउनका लागि हो । तर, त्यो मेशिन नै नचलेपछि कर्मचारीलाई मनपरी गर्ने छुट मिलेको छ । उनी भन्छन्, “कार्यालयमा समयमै नआउने कर्मचारीलाई विद्युतीय हाजिरले निगरानीमा राखेको हुन्छ । त्यो नै बिगारेर ढड्डामा हाजिर गर्नु बदमासी हो ।”

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७