साग खेलकुद सफल र ऐतिहासिक : प्रधानमन्त्री


२४ मंसिर २०७६, मंगलवार
kp oli Prime Minister of Nepal. He is the Chairman of the Nepal Communist Party 2

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकामा खेलाडी, खेल प्रेमीलगायत सबैलाई शुभकामना व्यक्त गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भव्य समापन समारोहलाई भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्दै प्रधानमन्त्रीले साग प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकामा खुशी व्यक्त गरेका हुन् ।

‘दक्षिण एशियाका लागि मिनी ओलम्पिक मानिने दक्षिण एशियाली खेलको अत्यन्तै ठूलो महत्व रहेको र यो खेल आजैबाट सफलतापूर्वक सम्पन्न हुँदैछ । म खुशी व्यक्त गर्न चाहन्छु, भूकम्पबाट ध्वस्त भएका संरचनाहरु तयार गरेर खेल आयोजना गर्न सफलता मिलेको छ’, प्रधानमन्त्रीले आफ्नो सन्देशमा भनेका छन् ।

यस पटकको खेलमा पहिले कहिलेभन्दा बढी खेलाडीको सहभागिता, पहिलेभन्दा बढी खेलहरु समावेश भएको उल्लेख गर्दै उनले पहिलेभन्दा साग प्रतियोगिता सफल र ऐतिहासिक रहेको बताए ।

प्रधानमन्त्री ओलीले दक्षिण एशियाली खेलकुदले दक्षिण एशियाली देश र जनताका बीचमा एकता र मित्रता अभिवृद्धि गर्ने कुराको अपेक्षा गरिएकामा त्यो अपेक्षा यस पटकको १३ औं दक्षिण एशियाली खेलकुदले अत्यन्तै सफलतापूर्वक पूरा गरेको बताए । उनले संलग्न सबै पक्षलाई सफल आयोजना र खेलका निम्ति बधाई ज्ञापन गर्दै धन्यवाद दिएका छन् ।

काठमाडौं, पोखरा र जनकपुरधामबाट एकैसाथ खेलकुद प्रतियोगिता सञ्चालन हुनु र सफलतापूर्वक दक्षिण एशियाली खेलकुदको सुखद समापनमा हामी आइपुग्नु ज्यादै खुशीको कुरा हो भन्दै प्रधानमन्त्रीले यस सन्दर्भमा सफलताका लागि योगदान गर्ने नेपाललगायत सबै सहभागी देशका सरकार, खेल क्षेत्र, खेलाडी र प्रशिक्षक सबैलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री ओलीले भव्य रुपमा सफल भएको यस दक्षिण एशियाली खेलकुदले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उनले यस खेलमा सहभागी विभिन्न मित्र देशका खेलाडी, प्रशिक्षक सबैले भ्रमण वर्षलाई मद्दत पुग्ने गरी योगदान गर्ने अपेक्षा समेत गरेका छन् ।

आयोजक राष्ट्रका खेलाडीको हिसाबले खेललाई अनुशासित, मर्यादित र मैत्रीभावलाई केन्द्र भागमा राखेर जुन उत्कृष्ट प्रदर्शन नेपाली खेलाडीहरुले खेलमा गरेका छन् त्यसप्रति हार्दिक धन्यवाद दिंदै उनले जुन सफलता प्राप्त भएको छ । सफलता प्राप्त गर्ने सबै खेलाडीलाई बधाई दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७