तोकिएकै समयमा आकाशे पुल सम्पन्न नहुने


२५ मंसिर २०७६, बुधबार
sky Bridge

काठमाडौं, २५ मंसिर । काठमाडौंमा सबैभन्दा धेरै पैदल यात्रुले सडक वारपार गर्ने स्थानको रुपमा रहेका नयाँ बानेश्वर चोकमा आकाशे पुलको निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ ।

आगामी महिनासम्ममा पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकामा अहिले जगको काम मात्रै भएकाले समयमै सम्पन्न नहुने देखिएको हो । डिभिजन सडक कार्यालय काठमाडौँले गत चैतमा आठ महिनामा आकाशे पुल सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

आकाशे पुल निर्माणका कतिपय काम बाँकी रहेकाले एक महिनामै सम्पन्न हुने नदेखिएको कार्यालयका इञ्जिनीयर सुदर्शन कार्कीले बताए । उनले भने, ‘आकाशे पुल निर्माणको काम भइरहेको देखिए पनि समयमै सकिने अवस्था देखिएको छैन ।’

ठेक्का सम्झौता भइसक्दा पनि सडकमा रहेका खानेपानीको पाइप, विद्युतको पोललगायतका संरचनाका कारण निर्माण शुरु गर्न केही ढिलाइ हुन गएको थियो । अहिले निर्माणका क्रममा कुनै अवरोध नभएको इञ्जिनीयर सुदर्शन कार्कीले बताए । यस स्थानमा महानगरपालिकाको आकाशे पुल निर्माणको योजना नभएकाले कार्यालयले अघि बढाएको थियो ।

अघिल्ला वर्षमा डिभिजन सडक कार्यालयले सडक निर्माण मात्रै गर्दै आएकामा यस वर्ष आकाशे पुल निर्माण समेत गर्दैछ । कोटेश्वर चोकमा पनि आकाशे पुल निर्माणको प्रक्रिया अघि बढे पनि वडा कार्यालयले स्थान परिवर्तनको माग गरेपछि अघि बढ्न सकेको छैन । काठमाडौं महानगरपालिकाले माइतीघर, टेकुलगायतका स्थानमा आकाशे पुल निर्माण गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७