साग विजेतालाई प्रधानमन्त्रीद्वारा ‘सरप्राइज’ रकम घोषणा, कुन पदक जित्नेलाई कति रकम ?


२५ मंसिर २०७६, बुधबार
sag 5

काठमाडौं, २५ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) समापानका बेला स्वास्थ्यका कारण प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रममा सहभागी भएनन् ।

तर उनले भिडियो सन्देशमार्फत सागका विजेता नेपाली खेलाडीहरुलाई शुभकामना दिए । प्रधानमन्त्रीले आफ्नो वधाई तथा शुभकामना सन्देशका एउटा कुरा उल्लेख गरे । त्यो थियो–‘सरप्राइज’ सम्मान ।

प्रधानमन्त्रीले साग समापनका दिन सन्देशमा भनेको ‘सरप्राइज सम्मान’ को पोको आज खोलिएको छ । प्रधानमन्त्री ओलीले आज (बुधबार) साग विजेता खेलाडीहरुलाई आफ्नै सरकारी निवासमा बोलाएर सरप्राइज सम्मानको पोको खोलेका छन् ।

साग विजेता नेपाली खेलाडीहरुले देशको शीर उचो बनाएको र खेलका माध्यमबाट नेपाललाई विश्वमा चिनाउन सफल भएको बताउँदै सरप्राइज रकम घोषणा गरेका छन् ।

ओलीले साग प्रतियोगितामा दुई भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई जनही ११ लाख, एक स्वर्ण जित्नेलाई नौं लाख, रजत पदक जित्ने खेलाडीलाई ६ लाख र कास्य जित्ने खेलाडीलाई तीन लाख रुपैयाँ सरकारको तर्फबाट दिने घोषणा गरेका छन् । अघिल्लो सागमा भने सरकारले स्वर्ण विजेतालाई पाँच लाख, रजतलाई तीन र कास्य दिक जित्ने खेलाडीलाई दुई लाख रुपैंयाँ सम्मान रुवरुप प्रदान गरेको थियो ।

नेपालको आयोजनामा भएको साग प्रतियोगिता मंगलबार समापन भएको हो । मंगलबार साँझ दशरथ रङ्गशालामा आयोजित विशेष समारोहबीच १३ औं साग सकिएको हो । नेपालले तेस्रो पटक आयोजना गरेको सागमा नेपाली खेलाडीले ५१ स्वर्ण पदक जितेका छन् । यस पटकको सागमा नेपालले कुल २०६ वटा पदक जितेको छ ।

सागमा भारतले १७४ वटा स्वर्ण पदक जित्यो । त्यसैगरी श्रीलंका ४०, पाकिस्तान ३१, बंगलादेश १९, माल्दिभ्स १ स्वर्ण जित्न सफल भए भने भुटानले एउटा पनि स्वर्ण जित्न सकेन् । एउटा मात्र स्वर्ण जित्ने सम्भावनासहित पुरुष फुटबलको फाइनलमा नेपालसँग भिडेको भुटान उपविजेतामा सीमित भयो । नेपालले फुटबलमा समेत स्वर्ण जितेर आफ्नै भूमिमा फेरि च्याम्पियन बन्ने अवसर पायो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७