उपल्लो मुस्ताङमा चार हजार पर्यटक


१० पुष २०७६, बिहीबार
mustang

मुस्ताङ, १० पुस । सन् २०१९ मा करिब चार हजार विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन् । जनवरीदेखि नोबेम्बरसम्म ११ महिनामा तीन हजार ८६३ विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका हुन । यो सङ्ख्या सन् २०१८ को सोही अवधिको भन्दा १.५० प्रतिशतले कम हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को इलाका संरक्षण कार्यालय लोमान्थाङका प्रमुख तुलसी दाहालका अनुसार २०१८ को जनवरीदेखि नोबेम्बर महिनासम्म तीन हजार ९२२ ले उपल्लो मुस्ताङ भ्रमण गरेका थिए । चालू अङ्ग्रेजी महिना डिसेम्बरको तथ्याङ्क प्राप्त हुन बाँकी छ ।

एक्यापको कागबेनीस्थित चेकपोष्टले अर्धनिषेधित क्षेत्रको रुपमा रहेको उपल्लो मुस्ताङ भ्रमणमा जाने पर्यटकको तथ्याङ्क राख्ने गरेको छ । जनवरीमा १०, फेब्रअरीमा ९, मार्चमा १०२, अप्रिलमा ४७०, मेमा ६४०, जुनमा १०४, जुलाइमा २५३, अगस्तमा ४३४, सेप्टेम्बरमा ५५०, अक्टोबरमा ९६७ र नोबेम्बरमा ३२४ जना पर्यटक उपल्लो मुस्ताङ भ्रमणमा गएको तथ्याङ्क छ ।

आगामी सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने तयारी भइरहेका बेला राष्ट्रिय तथ्याङ्कको अनुपातमा उपल्लो मुस्ताङ घुम्ने पर्यटकको संख्याले मुस्ताङका सरोकारवालालाई चिन्ता पैदा गरेको छ ।

महङ्गो प्रवेश शुल्क, भ्रमण अनुमतिका लागि झञ्जटिलो प्रक्रिया र पुराना पदमार्ग सडकमा परिणत हुँदा पर्यटक आगमनमा असर परेको लोमान्थाङ होटल व्यवसायी सङ्घका कोषाध्यक्ष रामबहादुर गुरुङले बताए ।

पर्यटक बढाउन वैकल्पिक पदमार्ग सञ्चालन, प्रचारप्रसार र प्रवेश शुल्क घटाउन स्थानीयवासीले एक वर्षयता दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । चीनको सीमा क्षेत्रमा अवस्थित लोमान्थाङ र दामोदरकुण्ड लोघेयकर गाउँपालिकामा पर्ने उपल्लो मुस्ताङ भ्रमणका लागि विदेशीले कम्तीमा दुई जनाको समूह बनाएर अध्यागमन विभागलाई ५०० डलर तिरेर १० दिनका लागि अनुमति लिनुपर्ने व्यवस्था छ ।

दश दिनभन्दा बढी बस्नुपर्दा कारण खुलाएर प्र्र्तिदिन ५० डलरका दरले अतिरिक्त शुल्क बुझाउनुपर्छ । काठमाडौंबाट अनुमति लिएर भ्रमणमा आउनुपर्छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा करोडौं खर्चेर सुविधा सम्पन्न होटल खोल्ने क्रम बढेको छ । महङ्गो शुल्क र झञ्जटिलो प्रक्रियाका कारण पर्याप्त पर्यटन नआउँदा व्यवसाय सङ्कटमा परेको होटल व्यवसायी गुरुङले बताए ।

‘प्रवेश शुल्क महङ्गो भएका कारण सबै वर्ग र आर्थिक हैसियतका पर्यटक उपल्लो मुस्ताङ घुम्न आउन नसकेको ठहर गर्दै शुल्क घटाउन गाउँपालिका, प्रदेश र सङ्घीय सरकारसम्म ज्ञापनपत्र बुझाएका छौं’, गुरुङले भने, ‘शुल्क नघटे हामी आन्दोलनमा जाने तयारीमा छौँ । डिसेम्बरसम्म सरकारको निर्णय पर्खेर बसेका छौं ।’

mustang 2

दुई वटा गाउँपालिकामा ३० लाखदेखि २० करोडसम्म लगानीका दैनिक ५०० जना बास बस्न सक्ने क्षमताका करिब ५० वटा रिसोर्ट, होटल तथा लज सञ्चालनमा छन् । यस वर्ष थप ५० बेड क्षमताका होटल थपिँदै छन् ।

सडक सुविधासँगै बिदा र चाडपर्वको समयमा आन्तरिक पर्यटकको आगमन बढेपनि नियमित छैन । एक्याप लोमान्थाङका अनुसार सन २०१६, १७ र १८ मा क्रमशः तीन हजार ९१८, चार हजार १५ र तीन हजार ९४६ विदेशीले उपल्लो मुस्ताङ घुमेका थिए ।

पर्यटक आगमन बढाउन नयाँ पदमार्ग र गन्तव्यको खोजीमा लागेको एक्याप लोमान्थाङका श्रीकृष्ण न्यौपानेले बताए । पुरानो पदमार्ग सडकका कारण विस्थापित भएकाले विभिन्न बस्ती, गुफा, गुम्बा र दरबार भएका क्षेत्रलाई समेटेर पदमार्ग सञ्चालनको तयारी गरेको उनले बताए । सडक बनेपछि पैदल यात्रा गर्ने पर्यटकलाई धुलो र धुवाँले असर गरेको छ । पर्यटकको बसाइ छोटिएको छ ।

यातायातको साधनबाट यात्रा गर्दाबीचका पर्यटकीयस्थल ओझेलमा परेका चराङकी अगुवा माया विष्टले बताइन् । पहिले १० दिने लाग्नेमा अहिले तीन चार दिनमै भ्रमण गर्न सकिने भएको छ । पर्यटक सिधै कुनै ठाउँमा जाने भएकाले बीचका बस्तीको व्यवसायमा असर परेको हो ।

सन १९९२ मा उपल्लो मुस्ताङमा पर्यटकलाई भ्रमणका लागि खुल्ला गर्दा पहिलो वर्ष ४८३ जना पर्यटक आएका थिए । सन् २००७ सम्म प्रतिदिन सत्तरी डलर प्रवेश शुल्क हुँदा वार्षिक ८०० पर्यटक आउने गरेकोमा शुल्क घटाएपछि बढेका थिए ।

कलात्मक पहाड, उजाड मरुभूमि जस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्वका दरबार, गुफा, गुम्बा, छोर्तेन, कोरला नाका यस क्षेत्रको आकर्षण हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७