सीपी गजुरेल रिहा, भने, ‘बोलाएर पक्राउनु सुनियोजित’


१४ पुष २०७६, सोमबार
Cp gajurel

काठमाडौं, १४ पुस । सिंहदरबार अगाडिबाट आइतबार पक्राउ परेका नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेलसहित १५ जना नेता–कार्यकर्ता आज (सोमबार) छुटेका छन् ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई सीमा विवाद समाधानका लागि ज्ञापनपत्र बुझाउन जाँदै गर्दा गजुरेलसहित उनको टोलीलाई आइतबार पक्राउ गरेर पुलिस क्लबमा राखिएको थियो । पक्राउ परेका केही सोही दिन छुटे । तर, गजुरेल भने सोमबार बिहान मात्र रिहा भएका छन् ।

आफू भर्खरै मात्र छुटेको जानकारी दिंदै नेता गजुरेलले भने, ‘सीमा मिचियो, समाधान गर्नुस् भनेर ध्यानाकर्षण गराउन जाँदा समेत यो सरकारले नियन्त्रणमा लिएको छ । यो सरकार फाँसीवादतर्फ उन्मुख भएको संकेत हो ।’

सीमा मिचिएको नितान्त जायज विषय लिएर जाँदा गरिएको धरपकडले त्यसको छनक दिएको उनको आरोप छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग समय लिएर र गृहमन्त्री रामबहादुर थापा (बादल) लाई जानकारी गराएर सिंहदरबारभित्र जान खोज्दा पनि नियन्त्रणमा लिइनु सुनियोजित भएको गजुरेलले आरोप लगाए ।

‘हामी ज्ञापनपत्र बुझाउन जाँदैछौं भन्ने उपप्रधान तथा रक्षामन्त्रीसँगै गृहमन्त्रीलाई पनि थाहा थियो । उपप्रधानमन्त्रीले त समय नै दिनु भएको हो’, गजुरेलले भने, ‘बोलाएर समातिँदा यो सुनियोजित हो कि भन्ने लागिरहेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७