काठमाडौंमा २ बजेपछि भ्रमण वर्षको र्‍याली, कहाँ-कहाँ हुन्छ यातायात प्रभावित ?


१६ पुष २०७६, बुधबार
public gadi

काठमाडौं, १६ पुस । नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष सन् २०२० शुरु भएको छ ।

भ्रमण वर्षको औपचारिक उद्घाटन अगाडि काठमाडौंमा र्‍याली आयोजना गरिने भएको छ ।
भ्रमण वर्ष २०२० को उद्घाटन अगाडि निस्किने र्‍याली र राष्ट्रपतिलगायतको सवारीका कारण काठमाडौं उपत्यकाको यातायात क्षेत्र बुधबार दिउँसो २ बजेपछि प्रभावित हुने भएको ट्राफिक प्रहरी कार्यालयहरुले जानकारी दिएका छन् । आवागमन प्रभावित हुने भएपछि ट्राफिक प्रहरी महाशाखाले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

दशरथ रङ्गशालामा हुने भ्रमण वर्ष उद्घाटन कार्यक्रम पूर्व निस्किने र्‍याली र राष्ट्रपतिलगायतको सवारीले काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित हुने
ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले जानकारी गराएका छन् ।

२ बजेपछि ठमेललगायत क्षेत्रबाट भ्रमण वर्षको र्‍याली निस्किँदैछ । जसका कारण थापाथली, त्रिपुरेश्वर, कालीमाटी, शहीदगेट, जमल, केशरमहल क्षेत्रको सवारी आवागमन प्रभावित हुनेछ श्रेष्ठले जानकारी दिएका छन् । त्यसैले वैकल्पिक रुट प्रयोग गरेर यात्रा गर्न उनले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

‘ठमेलबाट निस्किने जुलुस मूल सडकबाट अघि बढ्दा सवारी आवागमन ठप्प हुने भएकाले क्षेत्रपाटी, वसन्तपुर, न्युरोड, सुन्धाराको ओभरहेड ब्रिज हुँदै दशरथ रङ्गशालाको रूट प्रयोग गर्न सिफारिस गरेका छौं’, एसपी श्रेष्ठले भने, ‘हामीले सिफारिस गरेको रूट प्रयोग भएमा सवारी आवागमन कम प्रभावित हुनेछ ।’

रङ्गशाला पछाडि पाहुनाका गाडी पार्किङ
उदघाटन कार्यक्रममा स्वदेशी तथा विदेशी पाहुना सहभागी हुने हुँदा पार्किङको समस्या केही कठिन हुने ठानिएको छ । यद्यपि, ट्राफिक प्रहरीले विभिन्न खाली स्थान पाहुना चढ्ने सवारीको पार्किङका लागि व्यवस्था गरिएको जनाएको छ ।

टुँडिखेलसँगै आर्मी क्लबभित्रको खाली भाग, विश्वनिकेतन स्कुल, रङ्गशालाको पछिल्लो भागमा पार्किङ गर्ने व्यवस्था मिलाइएको एसपी श्रेष्ठले बताएका छन् । विदेशी पाहुना चढ्ने गाडी रङ्गशालाको पछाडितर्फको भागमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

२० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्यका साथ मनाउन लागिएको भ्रमण वर्ष सन् २०२० को राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे दशरथ रङ्गशालामा उदघाटन गर्ने कार्यक्रम छ । उद्घाटन कार्यक्रममा आमन्त्रण गरिएका विभिन्न देशका मन्त्रीलगायतका पाहुना सोमबारै काठमाडौं आइसकेका छन् । भ्रमण वर्ष सातै वटै प्रदेशमा एकसाथ शुरु हुने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७