खुर्पा प्रहारबाट प्रहरीसहित चार घाइते


२७ पुष २०७६, आईतवार
khurpa prhar

भक्तपुर, २७ पुस । भक्तपुर नगरपालिका–१० स्थित पाइपलाइन र दोकोचामा एक व्यक्तिको खुर्पा प्रहारबाट दुई प्रहरीसहित चार जना घाइते भएका छन् ।

जाजरकोटको नलगाढ नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर विकले शनिबार साँझ खुर्पा प्रहार गर्दै हिंड्दा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–१० घर भई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ६० वर्षीया भुनामाया थापा र भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ४५ वर्षीया राजमती ज्याकिबन्जार घाइते भएका छन् ।

त्यसैगरी महानगरीय प्रहरी प्रभाग व्यासीमा कार्यरत प्रहरी हबल्दार जितेन्द्रप्रसाद यादव र प्रहरी जवान टोलबहादुर श्रेष्ठ समेत खुर्पा प्रहारबाट घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले आज जानकारी दिए ।

खुर्पा प्रहार गरी भाग्दै गरेका विकलाई दोकोचामा प्रहरीले नियन्त्रणमा लिने क्रममा खुर्पा प्रहार गर्दा बा २ झ १८५ नम्बरको प्रहरीको सिआरभी भ्यानको सिसा फुट्नाका साथै सञ्चार सेटमा समेत क्षति पुगेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी निरीक्षक पञ्चलाल गोलेले जानकारी दिए ।

घाइते थापाको मध्यपुर अस्पतालबाट थप उपचारका लागि छाउनीस्थित सैनिक अस्पतालमा पठाएपछि त्यहाँ उपचार भइरहेको र ज्याकिबन्जारको मध्यपुर अस्पतालमा उपचार भइरहेको गोलेले जानकारी दिए । विकलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७