दाउ हेर्दै ओली–प्रचण्ड, असमझदारीले सत्तारुढ दलमा ‘सन्नाटा’


१ माघ २०७६, बुधबार
KP oli And Prachand 12

काठमाडौं, १ माघ । नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीचको असमझदारीले सत्तारुढ दलमा ‘सन्नाटा’ छाएको छ ।

आइतबार तेस्रो पटक ६ माघसम्मका लागि संसद् बैठक स्थगित भएयताका दुई दिन नेकपाका दुई अध्यक्षबीच संवाद छैन । प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा व्यस्त छन् भने अर्का अध्यक्ष दाहाल खुमलटार–चितवन आउजाउ गरिरहेका छन् ।

मंगलबार प्रधानमन्त्री ओली बालुवाटारमै चेम्बर अफ कमर्सका प्रतिनिधिसँगको भेटघाटदेखि उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको प्रतिवेदन बुझ्ने कार्यक्रममा व्यस्त देखिए । दाहाल भने बिहान पार्टीका नेता भीम रावल, अग्नि सापकोटालगायतसँग अलग–अलग छलफल गरी चितवन पुगेर फर्केका छन् ।

नेकपाभित्र सभामुख चयन, विकास र सहयोगसम्बन्धी अमेरिकी नियोग मिलेनियम च्यालेन्स कर्पाेरेसन (एमसीसी) का विषयमा पार्टी नेताहरूकै बीचमा तीव्र ‘धु्रवीकरण’ भइरहेको छ । दाहालले चितवन पुगेर मंगलबार साँझ थुप्रै मिटिङ गर्नुपर्ने भएकाले आफू दुई घण्टाका लागि मात्र माडी आएको बताए पनि त्यस्तो छलफल दाहाल फर्केपछि पनि भएको छैन ।

संसद्मा झण्डै दुई तिहाइ मतका साथ बलियो उपस्थिति रहेको नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसक्दा संसद् एक महिना बन्धक बनिसकेको छ । तर, बन्धक संसद् खुलाउने र पार्टी्भित्रको धु्रवीकरण तोड्न नेकपाका दुई अध्यक्षलाई तीव्र दबाब भए पनि ओली–दाहाल संवादमा छैनन् ।

दुवै अध्यक्ष दुई दिनयता एक–अर्काे अध्यक्षले चाल्ने ‘कदम’ को सूक्ष्म अध्ययन गर्दै बसेका छन् । ‘दुवै अध्यक्ष केही दिन पर्ख र हेरको नीतिमा देखिनुभएको छ’, नेकपाका एक स्थायी समिति सदस्यले भने, ‘प्रधानमन्त्री आफू अनुपस्थित बैठकको निर्णय दाहालले कसरी कार्यान्वयन गर्न सक्छन् भनेर हेर्न थाल्नुभएको छ, दाहाल पनि प्रधानमन्त्री ओलीको अबको स्टेप के हुन सक्छ भनेर बसिरहेको देखिनुहुन्छ ।’

नेकपाभित्रको गाँठो फुकाउन संवादमा बस्नुपर्ने दुवै अध्यक्ष आफूनिकट नेतासँगको संवादमा छन् । दाहाल सचिवालयका एक सदस्यले मंगलबार चितवनबाट साँझ काठमाडौं फर्केर भने, ‘दुई दिनयता संवादमा गतिरोध छ, राजनीति चकमन्न छ ।’

सभामुखका लागि ओली र दाहालका आ–आफ्नै रुचिका पात्र छन् । सभामुखको पात्र चयनमा सकस परिरहेका बेला २३ पुसमा नेता वामदेव गौतमको भैंसेपाटी निवासमा बसेको बहुमत सचिवालय सदस्यको ‘प्यानल बैठक’ ले ओली–दाहालबीच झन् असमझदारी बढेको छ ।

अध्यक्षद्वयमा बढेको असमझदारीका कारण उपसभामुख शिवमाया तुम्बाहाङफेको राजीनामा अड्किएको नेकपाका नेता बताउँछन् । ‘उपसभामुखलाई पार्टी्भित्रैबाट ब्याकफोर्स रहेका कारण राजीनामा दिनुभएको छैन, यो देखिँदो कुरा हो’, नेकपा स्थायी समिति सदस्य देवेन्द्र्र पौडेलले भने ।

उपसभामुख तुम्बाहाङफेलाई पार्टी सचिवालयले शनिबार राजीनामा दिन आग्रह गरेको थियो । तर, उनले राजीनामा दिएकी छैनन् । राजीनामा नदिँदा नेकपा सचिवालयकै निर्णय कार्यान्वयनमा जटिलता पैदा भएको छ ।

दाहाल स्वयंले पनि पार्टीभित्र देखा परेको राजनीतिक जटिलता चितवनको एक कार्यक्रममा मंगलबार स्विकारे । ‘म आउने समय भएर माडी आएको होइन । निकै दबाब थियो, नजा भन्ने साथीहरू पनि थिए काठमाडौंमा।

तपाईंहरूले देख्नुभएको छ, केन्द्रीय राजनीतिमा अलि–अलि जटिलता देखा पर्छन् । तिनलाई समाधान गर्न लगातार छलफल गर्नु थियो । मलाई नेताहरूले अहिले यस्तो बेला बाहिर नजान भनिरहनु भएको थियो । म माडी जाने भएँ भनेर दुई घण्टाका लागि आएको हुँ’, दाहालले मंगलबार माडीको खिचरा महोत्सव उद्घाटनमा भने ।

दाहाल मंगलबार नै चितवन पुगेर काठमाडौं फर्केका हुन् । प्रधानमन्त्रीका निजी सचिवालयका अनुसार आइतबारयता दाहाल बालुवाटार आएका छैनन् । शनिबारको सचिवालय निर्णय कार्यान्वयनका सवालमा बालुवाटारमा तुम्बाहाङफेसँग ओली, दाहाल, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेलले छलफल गरेका थिए ।

छलफलमा तुम्बाहाङफे आफ्नो अडानबाट नगलेपछि उनलाई प्रधानमन्त्रीकै ढाडस रहेको आशंका इतर पक्षका नेताले गरेका छन् । सभामुख चयनका विषयमा दाहालले वरिष्ठ नेता माधव नेपाल, मात्रिका यादव, देव गुरुङलगायत नेतासँग अनौपचारिक संवाद गरेका छन् । प्रधानमन्त्री ओलीले पनि महासचिव विष्णु पौडेल, ईश्वर पोखरेललगायतसँग संवाद गरिरहेका छन् । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७