कञ्चनपुरमा मन्त्री अर्यालद्वारा नमुना हलिया वस्ती हस्तान्तरण


४ माघ २०७६, शनिबार
82249517 153676865930929 117819972360601600 n

कञ्चनपुर,४ माघ । भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाँटाको हलिया वस्ती हस्तान्तरण गरिएको छ ।

हलिया वस्तीका जेष्ठ सदस्य धनिराम लुहारको नवनिर्मित घरको रिबन काटि घरको तालाचाबी खोलेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले वस्तीको हस्तान्तरण गरेको घोषणा गरेकी छिन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मुक्त हलिया पुर्नस्थापना कार्यक्रम अन्तर्गत निर्माण गरिएको नमुना वस्ती एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो । एकीकृत वस्ती नै निर्माण गरेर हलिया वस्ती औपचारिक रुपमा सरकारले हस्तान्तरण गरेको यो पहिलो हो ।  PATHAMA 2त्यस अवसरमा वस्ती हस्तान्तरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले कोही पनि भूमिहिन, सुकुम्बासी नहुने अभियानमा सरकार अगाडी बढेको बताइन् ।

हलियाको तथ्यांक संकलनका क्रममा केही हलिया छुट हुन गएको गुनासो आएपछि सरकारले त्यसलाई पुर्नपहिचान गरेको र अझैपनि छुट्न गएकालाई सम्बोधन गरिने बताइन्। मन्त्री अर्यालले भने, ‘पहिचान भएकालाई पहिला व्यवस्थापन गरौं । बाँकी छुट रहेकालाई पनि सरकारले कुनै न कुनै ढंगले सम्बोधन गर्छ ।’
सरकारले पुर्नस्थापना गरिसकेपछि आम नागरिक सरह भएको भन्दै उनले अब सधैं हलिया भएर बसिरहन नहुने बताइन् । आफैले गर्नसक्ने कामहरू आफैले गर्नुपर्ने भन्दै उनले कुनै न कुनै जिविकोपार्जनका काममा लाग्न आग्रह गरिन् ।

समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल पार्न उत्पादनमा लाग्नैपर्ने भन्दै मन्त्री अर्यालले अब सरकारले गरिबको विशेष सूचिमा राखेर गरिब लक्षित कार्यक्रम सञ्चालन गरी गरिबी निवारणको काम गर्ने बताइन् । अब कोही पनि भूमिहिन र सुकुम्बासी नहुने अभियानमा सरकार लागेको भन्दै देशभरका भूमिहिन र सुकुम्बासीको समस्या यही सरकारले समाधान गर्ने बताइन् ।

यसैगरी मन्त्री अर्यालले सरकारले हलियाका नाममा दिएको जग्गा र घर प्रयोगमा नआएमा जो छुटेको छ उसैलाई दिनुपर्ने बताएकी छिन् । ‘जसको जग्गा हो उसैले कमाउनुपर्छ । घरको पनि अरू गएर बस्न पाउदैन । सरकारले दिएको जग्गा र घर प्रयोगमा नआएमा जो छुटेको छ उसैलाई दिनुपर्छु, मन्त्री अर्यालले भनिन् ।


राज्यले दिने सहुलियत दिँदा महिला र पुरुष दुवैको स्वामित्व स्थापित हुनेगरी दिइएको भन्दै उनले सुकुम्बासी, हलिया सबैलाई संयुक्त लालपुर्जा दिइने बताइन् । सरकारले २०६५ साल भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको थियो । तर लामो समयसम्म पुर्नस्थापना हुन सकेको थिएन । साविक सुदुरपश्चिम क्षेत्रका ९ जिल्ला र मध्यपश्चिम क्षेत्रका ३ जिल्लाका १८ हजार नौ सय ५३ हलिया परिवारको पुर्नस्थापना घोषणा गरिएको थियो ।

गत वर्ष कञ्चनपुरमा मात्र १७ सय ८५ परिवारको हलियाको पुर्नस्थापना गरिएको थियो । पुर्नस्थापना हुन बाँकी हलियालाई पुर्नस्थापनाका लागि स्थानीय तहमा बजेट पठाइको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव जनकराज जोशीले जानकारी दिए ।
सरकारले बागफाँटा वस्तीमा मुक्त हलिया पुर्नस्थापनाका लागि ३२ वटा ३ कोठाको घर निर्माण गरेको हो । सँगै शौचालय, २० फुटको बाटो वरिपरी नाला सहित वस्ती निर्माण गरेको छ । बाटोको दुवैतर्फ घर निर्माण गरिएको छ ।

प्रतिघर ३ लाख लागत लागेको छ । जसमा नेपाल सरकारको २ लाख २५ हजार र बाँकी रकम ह्याबिटेट फर ह्युमानिटी नामक गैरसरकारी संस्थाले सहयोग गरेको छ । ह्याबिटेटले प्राविधिक सहयोग र अपुग रकम सहयोग गरेको हो भने भिमदत्त नगरपालिकाले नाला निर्माण र खानेपानी लगायतमा सहयोग गरेको हो । १० धुर जग्गा सहित प्रतिपरिवार ४ लाख २५ हजार जम्मा लगानी लागेको छ ।
कञ्चनपुर जिल्लामा मात्र २७ सय परिवार मुक्त हलिया रहेकोमा सूची संशोधन हुँदा २ हजार ५ सय पहिचान भएको थियो । जसमध्ये १ हजार ७ सय ८५ को गत वर्ष पुनर्स्थापना गरिएको थियो भने १०६ परिवालाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७