नेकपा र राजपाको गठबन्धनलाई नागरिकले अनुमोदन गरेर देखाई दिए : प्रभु साह


१० माघ २०७६, शुक्रबार
Prabhu Sah CPN

जनकपुर, १० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश–२ का अध्यक्ष प्रभु साहले नेकपा र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीचको गठबन्धनलाई जनताले अनुमोदन गरेको बताएका छन् ।

विहीबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपा र राजपाले गठबन्धन बनाई संयुक्त उम्मेदवारी दिएको र गठबन्धनका सबै उम्मेद्वार विजयी हुनु गठबन्धन अनुमोदित भएको र यसको निरन्तरता हुनुपर्ने स्पष्ट जनमत रहेको अध्यक्ष साहको भनाई छ ।

अध्यक्ष साहले भने ‘हाम्रो पार्टीसँग राजपाले गठबन्धन निर्माण गर्दा एकथरीले मधेसी जनताको भावना विपरीत भएको भन्दै विरोध गरिरहेको थियो । तर गठबन्धनका चारै जना उम्मेद्वारले गठबन्धनको भोट भन्दा दोबर मतले जीत निकाल्नु भनेको यो गठबन्धन सहि भएको र प्रदेश–२ को स्पष्ट जनादेश हो । यो जनादेश नेकपा र राजपा गठबन्धनको निरन्तरताको लागि पनि हो, भन्ने बुझन जरुरी छ ।’

नेकपा र राजपा मात्र नभई अन्य दलले पनि नेकपा राजपासँग मिल्ने निर्णयलाई समर्थन गरेको जिकिर गर्दै अध्यक्ष साहले थपे, ‘नेकपा र राजपा गठबन्धनको कुल मत जोड्दा ५ सय जति मतभारको फरक मात्र छ । र निर्वाचन नतिजा हेर्दा हाम्रो पार्टीको उम्मेद्वारले करिब ५ सय मतभारकै फरकका साथ जित निकालेका छन् ।’

उनले थपे, ‘जबकी राजपाका उम्मेद्वारले झण्डै हजार मतभारको फरकले जित निकालेको हो । यसले के स्पष्ट पार्छ भने राजपाका उम्मेदवारलाई नेपाली कांग्रेस र समाजवादी पार्टीका मतदाताले पनि मत दिएका छन् । यसले गठबन्धनको औचित्यको थप पुष्टि गरेको छ ।’

अध्यक्ष साहले एक वक्तव्यमार्फत यस गठबन्धनबाट विजयी उम्मेद्वारहरूलाई बधाई तथा मतदातालाई धन्यवाद दिनुको साथै गठबन्धन निरन्तरताको कामना गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७