झापट हान्ने मनाङ्गे ६ हजारमा छुटे, कुटाइ खाने मिलनलाई थप सात दिन थुना


१२ माघ २०७६, आईतवार
dipak milan OqkPpmhWLw

पोखरा, १२ माघ । जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई मञ्चमै झापड हानेर पक्राउ परेका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) ६ हजार धरौटीमा छुटेका छन् ।

मनाङेको झापड खाएका मिलन भने थप सात दिन प्रहरी हिरासत बस्नु पर्ने भएको छ ।
मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा मनाङका खेलाडीका लागि आवास तथा खेल मैदान व्यवस्थापन नगरेको भन्दै मनाङ्गेले ७ माघमा मिलनलाई झापड हानेका थिए । त्यसको भोलिपल्ट मिलनले आफूमाथि अभद्र व्यवहार भएको भन्दै उजुरी दिए ।

मिलनको उजुरीका आधारमा बिहीबार मनाङ्गेलाई पोखराको एक होटलबाट पक्राउ गरिएको थियो । आइतबार जिल्ला प्रशासन कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अभद्र व्यवहारको मुद्धा पेश गरेको थियो ।

सांसद राजीवविरुद्ध मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरीत कसुर गरेको आरोप थियो । यो कसुरमा एक वर्षसम्म कैद सजाय र १० हजार रुपैयाँ जरिवाना वा दुवै हुने व्यवस्था छ । तर प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले ६ हजार धरौटीमा छाड्न आदेश दिएका छन् ।

धरौटी बुझाएर छुटेका मनाङ्गेले हिरासतको दुई दिन मज्जा लागेको बताएका छन् । उनले सात दिनसम्म खेलाडीसँगै बसेर ट्रेनिङ गरेको अवस्थामा हिरासत बस्दा आराम मिलेको उनले बताए । उनले भने, ‘दुई दिन मज्जाले सुतें, अब रक्सीसक्सी खानुपर्ला !’

मनाङ्गे मनाङ प्रदेश सभा ख निर्वाचित सांसद हुन् । गुण्डा नाइकेको परिचय बनाएका उनी पटक पटक जेल परेका थिए ।

यसैबीच मनाङ्गविरुद्ध उजुरी दिएको भोलिपल्ट जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलनविरुद्ध पनि उजुरी पर्‍यो । विवादास्पद छविका उनीविरुद्ध ठगीको उजुरी परेको छ ।
हरिभक्त आचार्यले मिलनविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा बिहीबार बेलुका जाहेरी दिए ।

आचार्यले ओम गौरा जोस्टेल होटेलमा गएको भदौमा ३४ जनालाई मिलनको जिम्मामा खाने र बस्ने व्यवस्था मिलाएका थिए । साफ यु १८ च्याम्पियनसिपका बेला तयारी टोली आचार्यको होटलमा बसेको थियो । मिलनले २ लाखको चेक दिए पनि नसाटिएको जाहेरीमा उल्लेख छ ।

बैंकिङ कसुरमा पक्राउ परेका मिलनलाई अनुसन्धानका लागि ७ दिन थुनामा राख्न अनुमति दिइएको छ । उच्च अदालतका न्यायाधीशद्वय विनोदमोहन आचार्य र सुवास पौडेलको संयुक्त इजलासले ७ दिन म्याद थपेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७