भूकम्प प्रभावित चार सय सम्पदा पुनर्निर्माण


२६ माघ २०७६, आईतवार
puna

काठमाडौं, २६ माघ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति भएका चार सय सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ ।

भूकम्पले ३२ जिल्लाका ९२० सम्पदामा क्षति भएको थियो । चालु आवमा १५० सम्पदाको पुनर्निर्माण भइरहेको छ । चालु आवको अन्तिमसम्म भूकम्पले क्षति पुगेका ६० प्रतिशत सम्पदा बनाइसक्ने पुरातत्व विभागको लक्ष्य छ ।

बाँकी ४० प्रतिशत सम्पदा आव २०७८–७९ सम्म सक्ने कार्ययोजना पनि विभागले सार्वजनिक गरेको छ । विभागमा आज आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षका लागि काठमाडौं, ललितपुर र भक्तपुर दरबार क्षेत्रमा राति पनि घुम्न सकिने व्यवस्था गर्न लागिएको जानकारी दिए ।

‘भक्तपुरमा पर्यटकले राति घुम्न सकिने व्यवस्था गरिसकिएको छ, वसन्तपुर दरबार क्षेत्र र पाटन दरबार क्षेत्रमा पनि छिट्टै यो व्यवस्था गरिँदै छ, उपत्यकाका सम्पदालाई एकापसमा जोड्न लागिएको छ, सम्पदाबीच साइकल लेन पनि बनाउने तयारी छ’, उनले भने ।

सम्पदा पुनर्निर्माणमा पुरानै सामग्रीको प्रयोग हुने जानकारी मन्त्री भट्टराईले गराए । पुराना सामग्रीले काम नगर्ने अवस्था भएमात्र नयाँ निर्माण सामग्री प्रयोग गरिने पुराना सामग्रीलाई सङ्ग्रहालयमा राख्ने सरकारको नीति रहेको उनले सुनाए । पाटनमा यस्तो सङ्ग्रहालय बनिसकेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले धरहरा र रानीपोखरी प्राधिकरणले नै बनाइराखे पनि त्यसको स्वामित्व विभागसँगै रहेको जानकारी दिए । त्रिपुरेश्वरको महादेव मन्दिर क्षेत्र संरक्षणकै लागि काठमाडौँ विश्वविद्यालयलाई गुठी संस्थानले दिएको पनि उनले बताए ।

pun1

विभागका निमित्त महानिर्देशक दामोदर गौतमले प्रदेश नं १ को विराटनगर क्षेत्रमा महाभारतकालीन विराट दरबार र किचकबधको पनि उत्खनन भइरहेको जानकारी दिए । सम्पदा पुनर्निर्माणमा पुराना निर्माण सामग्री र स्वरुपलाई नबिगारिएको दाबी उनले गरे ।

विभागका प्रवक्ता रामबहादुर कुँवरले कपिलवस्तु क्षेत्रमा भइरहेको उत्खननले प्राचीन कपिलवस्तु राज्यको राजधानी तिलौराकोट नै भएको तथ्य प्रमाणित गरेको सुनाए । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमै पर्नेमा विश्वस्तरमै विवाद नरहेको जानकारी समेत उनले गराए ।

विभागका प्रमुख पुरातत्व अधिकृत डा. सुरेशसुरस श्रेष्ठले उपत्यकाका विश्व सम्पदास्थलका १७० सम्पदामा गोरखा भूकम्पले क्षति पुगेको जानकारी गराए । तीमध्ये हालसम्म १०१ सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ ।

विश्व सम्पदा स्थल लुम्बिनीभित्र भइरहेका विभिन्न गतिविधिले त्यहाँको विश्वव्यापी महत्वमाथि पार्न सक्ने नकारात्मक प्रभाव कम गर्न एकीकृत व्यवस्थापन प्रक्रिया स्वीकृतिको लागि आवश्यक तयारी भइरहेको विभागले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७