पूर्व सचिवको घरमा रहस्यमय हत्या : अचेत पत्नीको अस्पतालमा मृत्यु, कामदार मृत्त फेला


२७ माघ २०७६, सोमबार
hatya 3

ललितपुर, २७ माघ । पूर्व सचिव अर्जुन कार्कीको ललितपुरको सानेपास्थित घरमा रहस्यमय हत्याको घटना घटेको छ ।

घरमा कामदार झुण्डिएको अवस्थामा मृत्त भेटिएका छन् भने कार्कीकी पत्नी अचेत अवस्थामा भेटिएकी थिइन् । उनको पनि उपचारको क्रममा मृत्यु भइसकेको छ । सोमबार बिहान ललितपुरको सानेपास्थित कार्कीको निवासमा अचेत अवस्थामा फेला परेकी पत्नी मुना कार्कीको उपचारको क्रममा मृत्यु भएको छ ।

बेहोस अवस्थामा भेटिएकी मुनालाई उपचारका लागि ललितपुरस्थित स्टार हस्पिटलमा लगिएको र उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर ललिलपुरका प्रमुख एसएसपी टेक राईले जानकारी दिएका छन् ।

घटना रहस्यमय देखिएको र यसबारेमा अनुसन्धान अगाडि बढिसकेको एसएसपी राईले जानकारी दिएका छन् । महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर ललितपुरको टोलीले घटना भएको घरलाई घेरामा राखेर अनुसन्धान गरिरहेको छ ।

कामदार झुण्डिएको अवस्थामा भेटिनु र श्रीमति पनि टाउकोमा चोट र नील डामसहित अचेत अवस्थामा भेटिएर मृत्यु हुनुले यो घटना निकै शंकास्पद भएको र एउटा संगठित हत्या हुनसक्ने आशंका प्रहरीको छ ।

दुवै शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा लगिएको छ । पोस्टमार्टमको रिपोर्ट आएपछि घटनाको थप रहस्य खुल्ने राईले जानकारी दिएका छन् । उनले भने, ‘हामीले आवश्यक अनुसन्धान अगाडि बढाइसकेका छौं, थप रहस्य विस्तारै खुल्दै जाने नै छन् । गएका भदौंमा पूर्व राजदूत केशव झाको पनि रहस्यमय रुपमा हत्या भएको थियो । लामो अनुसन्धानपछि झाको हत्याको रहस्य खुलेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७