रुखमा कार ठोक्किँदा एकको मृत्यु, दुई जना गम्भिर


१० फाल्गुन २०७६, शनिबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

चितवन, १० फागुन । तीव्र गतिको कार रूखमा ठोक्किँदा चितवनको भरतपुरमा एक जनाको ज्यान गएको छ भने दुई जना गम्भिर घाइते भएका छन् ।

शुक्रबार राति ९ बजे भरतपुर महानगरपालिका–१८ स्थित सडकमा थानेदार चोकबाट गोब्रेनी जाँदै गरेको बा १८ च ५७०९ नम्बरको कार अनियन्त्रित भएर सडक छेउमा रहेको बकैनाको रूखमा ठोक्किएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

कारमा रहेका तीन जनामध्ये गम्भीर घाइते भएका भरतपुर महानगरपालिका–१८ गुञ्जनगरका २४ वर्षीय नरेश कुमालको उपचारका क्रममा राति १० बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

भरतपुरस्थित पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा कुमालको मृत्यु भएको थियो । यस्तै नवलपरासी बुलिङटार गाउँपालिका–१ का २१ वर्षीय कार चालक कृष्ण कुमाल र भरतपुर–१८ गुञ्जनगरका २४ वर्षीय सन्तोष बगालेको त्यही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७