यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग


१० फाल्गुन २०७६, शनिबार
girls in ktm back to school

वीरेन्द्रनगर, १० फागुन । कर्णाली प्रदेशका किशोर–किशोरीले यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग गरेका छन् ।

बृहत्तर यौनिकता शिक्षाका लागि पाठ्यक्रम अति आवश्यक भएको उनीहरुले औल्याउँदै यस्तो शिक्षाले समृद्ध जीवन बनाउन सहयोग पुग्ने जनाएका छन् ।

सिडिएस पार्क मुगुद्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रबार आयोजित ‘सुरक्षित गर्भपतन’ सम्बन्धी छलफलमा सहभागीले पाठ्यक्रममा यौन तथा प्रजननको विषय भएमा धेरै जानकारी पाइने बताए ।

पछिल्लो समय २० वर्ष नपुग्दै किशारीले असुरक्षित गर्भपतनको सेवा लिनेक्रम बढेकोमा सहभागीले चिन्ता व्यक्त गरे । सुर्खेतका वसन्त जैसीले प्रजननसम्बन्धी छुट्टै ऐन बनाई विषयगत रुपमा समेट्न र सुरक्षित गर्भपतनलाई वैज्ञानिक ढङ्गबाट हेर्न आग्रह गरे । जुम्लाका रुपलाल देवकोटाले सबै तहका सरकारले यौन तथा प्रजनन शिक्षाका बारेमा सचेतनाका अभियान सञ्चालन गर्न र पाठ्यक्रममा यस विषयलाई समेट्न माग गरे ।

सहजकर्ता रुपा उप्रेतीले पछिल्लो समय असुरक्षित गर्भपतन गराउनेको संख्या बद्धि भएको जानकारी दिइन् । असुरक्षित गर्भपतनका कारण महिलाको स्वास्थ्यमा नकारात्मक असर परेको र यसको सचेतना आवश्यक रहेको सिडिएस पार्क मुगुका प्रमुख अजबहादुर शाहीले बताए । कार्यक्रममा सुर्खेत, सल्यान, जाजरकोट, कालिकोट, मुगुलगायत कर्णाली प्रदेशका १० जिल्लाका किशोर किशोरीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७