भाग्यमानी सन्दीप, पाए दुर्लभ अवसर


१४ फाल्गुन २०७६, बुधबार
sandeep 1

काठमाडौं, १४ फागुन । विभिन्न देशमा हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा एकपछि अर्को उपलब्धि हासिल गर्दै आएका नेपाली लेगस्पिनर सन्दीप लामिछानेले अर्को महत्वपूर्ण अवसर पाएका छन्।

उनले अर्को महिना बंगलादेशमा आयोजना हुने विश्व—११ र एसिया—११ बीचको टीट्वेन्टी क्रिकेटमा सहभागिता जनाउनेछन्। अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एसोसिएट्स सदस्य राष्ट्रबाट उक्त प्रतियोगिता खेल्ने अवसर पाउने सन्दीप एकमात्र खेलाडी हुन् ।

उक्त प्रतियोगितामा १९ वर्षीय सन्दीप एसिया—११ का तर्फबाट खेल्नेछन्। प्रतियोगिता बंगलादेशको राजधानी ढाकास्थित सेर ए बंगला रंगशालामा मार्च १८ र २१ तारिखमा हुनेछ । आईसीसीले पनि दुवै टीट्वेन्टी प्रतियोगितालाई अन्तर्रा्ष्ट्रिय खेलको मान्यता दिएको छ ।

बंगलादेशका संस्थापक सेख मजिबुर रहमानको एक सयौं जन्मजयन्तीका अवसरमा बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । बीसीबीले मंगलबार घोषणा गरेको एसिया—११ टोलीमा भारतबाट सबैभन्दा बढी ६ खेलाडी परेका छन् ।

एसिया—११ टोलीमा भारतबाट विराट कोहली, केएल राहुल, शिखर धवन, रिसभ पन्त, मोहम्मद सामी र कुलदीप यादव छन् । राहुलले एक खेल खेल्ने बताइएको छ भने कोहलीले खेल्ने विषयमा टुंगो लाग्न बाँकी छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को निर्णयपछि मात्र कोहलीका विषयमा टुंगो लाग्ने बताइएको छ । कोहली भारतीय टोलीका कप्तान हुन् ।

एसिया—११ टोलीमा बंगलादेशका लिटन दास, तामिम इकबाल, मुसफिकर रहिम र मुस्ताफिजुर रहमान, श्रीलंकाका थिसरा परेरा र लासिथ मालिंगा तथा अफगानिस्तानका रसिद खान र मजिब उर रहमान पनि छनोट भएका छन् । सन्दीप सम्मिलित एसिया—११ टोलीले उक्त टीट्वेन्टी प्रतियोगितामा अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी सम्मिलित विश्व—११ टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

सन्दीप अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेट खेल्ने पहिलो नेपाली क्रिकेटर हुन् । भारतमा आयोजना हुने चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) बाट उनले अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा आफ्नो यात्रा प्रारम्भ गरेका थिए । छोटो समयमा नै उनले विश्वभरका थुप्रै फ्रेन्चाइज प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी गतिलो चर्चा बटुलिसकेका छन् । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७