बिपी मार्गमा अनुयायीहरूकै ‘बबाल’


१४ फाल्गुन २०७६, बुधबार
dhulikhel brdibas road

सिन्धुली, १४ फागुन । जापान सरकारले नेपालका लागि नमुना सडक उपहार दिएको केही वर्ष बितेको छ । तर, उपहारलाई संरक्षण गर्ने, सजाउने र निरन्तर प्रयोगमा ल्याउने नेपालीको बानी छैन । सकेसम्म फोकटमा मिल्दा अल्कजासम्म खाने हाम्रो बानीलाई छिमेकीहरूले कसरी लिएका होलान् ?

बनेपा–सिन्धुली बर्दिबास त्यसकै उदाहरण हो । सडक अतिक्रमण भएका ठाउँ आयोजनाले हटाउन सकेको छैन । कतिसम्म भने राजमार्गलाई अन्यत्र मोडिदिएर क्रसर चलाउने नेताका अगाडि कारबाही त कता हो कता ? पत्र पठाएर उन्मुक्तिको तयारी गरिएको छ । बिपी राजमार्गको साविक खार्पाचोक–२ हाल रोशी गाउँपालिका–८ डिप्सा सडकखण्डमा कांग्रेस नेताद्वय शंकर भण्डारी र तीर्थ लामाले त्यो दुस्साहस गरेका छन् ।

हुन त उनीहरूलाई आफ्ना नेता बिपीको घमण्ड पनि होला । बिपीकै नाममा नामकरण भएको उक्त राजमार्ग अतिक्रमणमा उनीहरूको संलग्नतामा कुनै निकायले चुँसम्म नगर्नु अचम्मको रहस्य छ । बिपीकै नामको मार्गलाई बिपीकै अनुयायीले मध्यरातमा डाइभर्सन गरी खोलाबाट प्रवेश गराएका छन् ।

०६४ सालदेखि निरन्तर पहरा खोपेर थिलथिलो पारिएको पहाड खसेर हुन सक्ने जोखिम रोक्न सडक रोकिएको सञ्चालक वाङचु लामाले बताएका छन् । कांग्रेस नेता भण्डारी पूर्वमन्त्री हुन् । उनैले उक्त क्रसरको उद्घाटन गरेका थिए ।

तीर्थ लामा पूर्व सभासद् हुन् । हाल कांग्रेसको क्षेत्रीय सभापति छन् । उनीहरूमाथि कसैले कारबाहीको आँट गरेका छैनन् । तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी पूजा सिंहले समेत केही दिन कारबाही गरेर दबाबका आधारमा छाड्नुपरेको थियो ।

नाङशाल ढुंगा–रोडा उद्योगले क्रसर सञ्चालनका लागि बिपी राजमार्ग ‘डाइभर्सन’ गरेको छ । सडक डाइभर्सन गर्ने क्रसरले खोला छेकेर डस्ट गोदाम गरेको छ । राजनीतिक दबाब, शक्तिको पहुँच देखाउँदै ०७६ माघ ११ गते राजमार्ग डाइभर्सन गरेको क्रसरलाई सडक ऐन २०३१ अनुसार कारबाही हुने भए पनि हुन सकेको छैन । क्रसरकै कारण पटक–पटक उक्त क्षेत्रमा सुख्खा र वर्षातको समय पहिरो गई राजमार्ग अवरुद्ध हुँदै आएको थियो ।

पूर्वमन्त्री शंकर भण्डारी, पूर्वसभासद् तीर्थ लामासहितको लगानी रहेको उक्त क्रसरले लगातार ०६४ माघदेखि नै राजमार्ग अवरोध गर्दासमेत कारबाही हुन सकेको छैन । ‘जिल्ला अनुगमन समितिको टोली हरेक वर्षको दुई पटक पुग्छ, पत्र दिएर आउँछ, गाउँपालिकाले पनि पत्र काट्छ, सडक विभागले पनि पत्र काटेर मात्रै जाने गरेको छ’, स्थानीय हर्क तामाङले भने, ‘क्रसरले राष्ट्रिय राजमार्गमा अवरोध पुर्‍याउँदा सञ्चालकलाई कारबाही हुँदैन ।’

सडक डाइभर्सनकै कारण दुर्घटना मात्रै हुने गरेको छैन राज्यको अर्बाैको क्षति भएको छ । जापान सरकारको लगानीमा निर्मित सडक अतिक्रमणबारे आयोजनालाई प्रश्न तेस्र्याइएको छ । ‘राजमार्ग नै अवरुद्ध गरेर डाइभर्सन गरेको विषयमा क्रसर सञ्चालकलाई कारबाहीको चेतावनीसहित स्पष्टीकरण सोधिएको छ’, सूर्यविनायक–धुलिखेल–सिन्धुली बर्दिवास सडक आयोजनाका प्रमुख सूर्य भाटले भने, ‘कसैले पनि सडक अतिक्रमण गरी अनधिकृत रूपमा प्रयोग गर्न पाउँदैन, नाङशाल ढुंगा रोडा उद्योगले माघ ११ गते सडक डाइभर्सन गरेको सूचनाका आधारमा १९ गते पत्र काटिएको छ ।’ सडक डाइभर्सन गर्न अनुमति नदिएको उनले बताए । भाटले अध्ययनपछि कारबाही प्रक्रिया अगाडि बढाइने बताए ।

क्रसरमा प्रयोग भएका मेसिनका कारण हिउँदमा समेत सुख्खा पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको हो । माघ २६ गते राति पहिरो जानुअघि ११ गते रोशी खोलामा वैकल्पिक सडक निर्माण गरिएको थियो । ०७६ असार २६ गतेदेखि परेको अविरल वर्षातका कारण पहिरो गई डस्ट बगाउँदा राजमार्ग अवरुद्ध भयो । क्रसर उद्योगका कारण बिपी राजमार्ग माघ ११ गतेदेखि अवरुद्ध छ ।

crasar sindhuli

खानी तथा क्रसरमा कांग्रेसका क्षेत्रीय सभापति एवं पूर्व सांसद तीर्थ लामाको २२ प्रतिशत, ग्राण्डी अस्पतालका सञ्चालक दीपक कुँवरको ६३ प्रतिशत (सोही प्रतिशतमा कांग्रेस नेता एवं पूर्वमन्त्री शंकर भण्डारीको पनि शेयर छ ।) तीर्थ लामाका भाइ नानीबाबु लामाको २ प्रतिशत, नेकपा नेता सुजन लामा २ प्रतिशत, भीम लामा ५ प्रतिशत, सेराप लामा १ प्रतिशत, वाङचु लामा ४ प्रतिशत शेयर छ ।

उद्योग सञ्चालक वाङचु लामाले उद्योगका कारण पहिरो नगएको बताउँदै उक्त जग्गा व्यक्तिका नाममा रहेको बताए । क्रसरसँगै जोडिएको कुवेर सिंह लामाको नाममा रहेको जग्गा सञ्चालक सेराप लामाका बाबुको हो । ०६४ माघदेखि शुरु भएको क्रसरले पटक–पटक सडकमा अवरोध पुर्‍याएको भन्दै कारबाहीका लागि पत्र काटिएको थियो ।

क्रसरको २ सय रोपनीभन्दा धेरै जमिन छ । ०६६ साल असोज ६ गते घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरिएको उद्योगले वार्षिक १ करोड २८ लाख २० हजार क्युफिट रोडा, ढुंगा उत्पादन गर्ने भने पनि चालु वर्षमा उद्योग नै नवीकरण भएको छैन । आयोजनाका सुपरभाइजर रामकृष्ण खनालले क्रसरकै कारण उक्त क्षेत्रमा पहिरो जाँदा सडक अवरुद्ध भएको बताएको खबर जनआस्था साप्ताहिकले छापेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७