‘भगवानले त हेरेनन्, सरकारबाट के आश !’


१७ फाल्गुन २०७६, शनिबार
70 Shares
suresh

कपिलवस्तु, १७ फागुन । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको सत्भरा गाउँ । गाउँका करिब दुई सय घरमध्ये आधाउधि कच्ची छन् । विकासका न्यूनतम पूर्वाधारको समेत अभाव छ ।

खेती किसानी यहाँको मुख्य पेसा हो तर खेतीका लागि आकासे पानीको भर पर्नुपर्छ । अधिकांश युवा बेरोजगार छन् । ऋणपान गर्न सक्ने र अलिकति खर्च जुटाउन सक्ने केही युवा मलेसिया र खाडी पुगेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

नसक्नेहरू भारतको मुम्बई जान्छन् । चरम गरिबी भए पनि गाउँमा रहेकाहरूको मुहारमा परदेसिएका आफन्तसँग फोनमा हुने कुराकानीले बेलाबखत मुस्कान ल्याउँथ्यो । परदेशबाट आफन्त ढिलोचाँडो खुसी बोकेर घर फर्किन्छन् भन्ने आसमा बाँचेको थियो सिंगो सत्भरा गाउँ ।

२०७२ पुस १३ गते सबेरै मुम्बईबाट आएको फोनले भने यसअघि जस्तो सुखद सन्देश ल्याएन । पुसको ठिहिरोलाई छेड्दै आएको त्यो सन्देशमा अकल्पनीय दुःख मिसिएको थियो । त्यसको सार थियो– मुम्बईको भिबन्डीस्थित एउटा कबाडी काठ गोदाममा राति २ बजेतिर एकाएक आगो सल्कियो ।

jagdamba.cement

त्यतिबेला गोदाममा काठका मुढा ओसार्ने ११ जना मजदुर मस्त निद्रामा थिए । तीमध्ये सात जना नेपाली र एक भारतीय ठाउँको ठाउँ बिते । उनीहरूको शव चिनिँदैनथ्यो ।

उनीहरूमध्ये सत्भराका लौटु मोराइन (३० वर्ष), भुइँधर यादव (२७ वर्ष), गौरी चौहान (२७ वर्ष) र राजु चौहान (२५ वर्ष), विक्रम रइदास (१८ वर्ष) तथा कपिलवस्तुकै बराइपुर गाउँका रामदयाल भर (३८) र निरज चौधरी (२१) थिए । यही गाउँका विनोद यादव, धिरु लोनिया र बुधे लोनियाले हाम फालेर ज्यान जोगाए । विनोदको शरीरको आधा भाग जलेको थियो ।

मुम्बईको त्यस आगलागीको ‘लप्का’ केही घण्टामै सयौं किलोमिटर परको सत्भरा र बराइपुर गाउँ पुग्यो । खबर पुग्नासाथ गाउँमा कोलाहल मच्चियो । आफन्त गुमाएकाहरू छाँद हालेर रुन थाले । कर्मा्स्थित जनता माविका शिक्षक त्रिभुवन गिरी त्यो घटना सम्झिँदै भन्छन्, ‘पूरै गाउँ अचानक के भयो, कसरी भयो भनेर स्तब्ध भयो ।’ घटनाको चार वर्षपछि सत्भरा गाउँ पुग्दा पनि पीडित परिवारको अनुहारबाट शोकको रङ उडिसकेको थिएन ।

शान्ति मोराइनका श्रीमान् लौटु मुम्बई गएको १५ दिन मात्र भएको थियो । उनी धेरथोर कमाइ गरे परिवार सजिलैसँग पाल्न सकिएला भनेर मजदुरी गर्न परदेश हिँडेका साथीभाइको पछि लागेका थिए । अभावमा हुर्किरहेका ससाना छोराछोरीको अनुहार हेरेर शान्तिले श्रीमान्लाई रोक्न सकिनन् ।

घटनाको अघिल्लो दिन राति सुत्ने बेला पनि शान्तिले लौटुसँग खैखबर सोधेकी थिइन् । त्यस दिनको कुरा उनले सुनाइन्, ‘हालखबर राम्रो छ भन्नुभएको थियो, छोराछोरीबारे सोध्नुभएको थियो ।’ अहिले पनि उनलाई घटना सम्झँदा कहाली लाग्छ, पहाडै खसे जस्तो हुन्छ । ‘त्यस्तो हुन्छ भन्ने थाहा पाएको भए किन पठाउँथे होला र ?’ शान्तिले भनिन् ।

शान्ति मृत श्रीमान्को अनुहार हेर्न जान सकिनन् पैसा नभएकाले । मुम्बई गएका छिमेकीले उनका श्रीमान्को दाहसंस्कार उतै गरिदिए । यतिबेला शान्तिलाई साना दुई छोरी कसरी हुर्केलान् भन्ने पिरलोले छोपेको छ ।

श्यामदेव अहिर (यादव) का दुई छोरा भुइँधर र विनोद मुम्बई गएको १० महिनाजति भएको थियो । उनीहरू बेलाबखत घरखर्च पठाउँथे । आगलागी हुनुभन्दा दुई साताअघि मात्र श्यामदेवले छोराहरूसँग फोनमा बात मारेका थिए । उनलाई के थाहा, जेठा छोरासँगको त्यो कुराकानी अन्तिम होला भनेर । भुइँधरले त्यतिबेला फोनमा भनेका थिए, ‘अब केही दुःख नगर्नु, हामी गर्छौं ।’

आगलागीमा परेका श्यामदेवका कान्छा छोरा विनोद उपचारपछि भाउजू र पत्नी लिएर गाउँ फर्के । कान्छा छोरालाई देख्दा श्यामदेवलाई जेठा छोराको सम्झनाले धुरुक्क पार्छ । आमा सोनमतीको अनुहारमा शोकको बाक्लो रङ पोतिएको छ । श्यामदेवलले सोनमतीको अनुहारतिर हेर्दै मधुरो स्वरमा भने, ‘त्यत्रो लक्का जवान छोरो गुमाएको कुरा कसरी बिर्सनु, अब आफैं माटामा मिसिएपछि मात्र बिर्सन्छु ।’

६५ वर्षीय परसरी लौनिहा चौहानको व्यथा श्यामदेवको भन्दा चर्को छ । उनले मुम्बईको आगलागीमा दुई जवान छोरा गुमाए । गाउँलेकै साथ लागेर उनका छोराहरू गौरी र राजु मुम्बई गएको दुई महिना मात्र भएको थियो । घटनाको आठ दिनअघि मात्र उनले दुवै छोरासँग फोनमा कुरा गरेका थिए ।

दुई छोरा बितेको धेरै वर्ष भइसक्दा पनि परसरीले आफूलाई सम्हाल्न सकेका छैनन् । तीन वर्षअघि भित्रिएकी कान्छी बुहारी, सानो नातिको अनुहार देख्दा उनको गह भरिन्छ । गौना नभएकाले जेठी बुहारी घर भित्रिएकी थिइनन् र घटनापछि उनी माइतीमै बसिन् ।

घटना भएको बिहान उनलाई कसैले सुनाएको थियो, मुम्बईमा आगलागी हुँदा गाउँका आठ जना बिते भनेर । पछि त्यसमा आफ्नै दुई छोरा परेको थाहा पाएपछि उनको होसै गुम्यो । उनी आफैं मुम्बई गए । उनका दुई छोराको शरीर गोदामका काठका मुढा जसरी जलेका थिए । बचेको शरीर पोस्टमार्टम गर्न अस्पतालमा पोको पारेर राखिएको थियो । सुरुमा त उनलाई पोकामा राखिएका छोराहरूको शरीर हेर्न पनि दिइएन ।

आफ्नै छोरा हुन् भनी पुष्टि गर्ने कागजात गाउँबाट मगाएपछि आठौं दिन अन्तिम संस्कार गर्ने बेला मात्र उनले छोराको शव बेरिएका पोका खोल्न पाए । ‘के देख्नु थियो र ? जलेको मुढाजस्तो थियो, पोको पारेर राखेको,’ परसरीले भने ।

उनलाई मुम्बई जान चाहिने खर्च गाउँलेले चन्दा उठाएर दिएका थिए । परसरीको छेउमा बसेकी उनकी श्रीमती उत्तमका आँखाबाट आँसुका भेल बग्दै थिए । उनले घटनाको एक महिनाअघि मात्र छोरासँग कुरा गरेकी थिइन् । ‘आमा, पैसाको चिन्ता नगर्नुस्, राम्ररी खानुस्, आफ्नो ख्याल गर्नुस् ।’ छोराका यी शब्द अहिले पनि उनका कानमा गुन्जिरहन्छन् । ‘के गर्नु र ? गरिबी थियो । नपठाएर पनि नहुने,’ उनले भनिन् ।

उत्तमले त आफ्ना छोराको शव पनि देख्न पाइनन् । उनी अहिले पनि एकान्तमा रुन्छिन् । फेरि आफैंलाई सम्हाल्छिन् । ‘दुःख परेपछि आकासै खस्दोरहेछ,’ उनले भनिन् । लोग्नेलाई सहज होस् भनेर उनी पनि भेटेसम्म मजदुरी गर्छिन् । आठ वर्षको नातिको मुख हेरेर चित्त बुझाउनुपर्छ भनेर परसरी उनलाई सम्झाउँछन् । ‘यही एउटा सहारा छ, नाति,’ उनले भनिन् ।

यति ठूलो विपद भएको चार वर्ष बित्यो । उनीहरूलाई गाउँले र मुम्बईमा बसेका नेपालीबाहेक अरू कसैले सहयोग गरेन । ‘आँसुमै बित्यो चार वर्ष । बाँकी जीवन पनि उनीहरूकै यादमै बित्छ । अरू उपाय केही छैन,’ उनले भनिन् ।

राजुकी श्रीमती विद्या घटनाको दिन माइतीमा थिइन् । राजुसँग अघिल्लो दिन साँझ फोनमा कुरा भएको थियो उनको । राजुले हालचाल सोधेका थिए । हरेक दिन बिहान र साँझ उनीहरूबीच कुराकानी हुन्थ्यो । ‘कमाएर घर बनाउनुपर्छ भन्नुहुन्थ्यो,’ उनले सुनाइन् । अहिले उनी छोराको अनुहार हेरेर मन भुलाउँछिन् । घरको गर्जो टार्न सासू र ससुरा मजदुरी गर्न जान्छन्, उनी घर सम्हालेर बस्छिन् ।

दुःखको मुस्लो सत्भराकै गोमती रइदासको धुरीमाथि पनि मडारिएको थियो । उनका जेठा छोरा विक्रम मुम्बई गएको एक महिना मात्र भएको थियो । उनले एक दिनअघि मात्र आमा राजमतीसँग फोनमा लामो कुराकानी गरेका थिए । त्यस दिन बाबुछोराको कुरा भने हुन पाएन ।

छोरो बितेको खबर पाएपछि गोमती र राजमतीलाई संसारै खसेजस्तो भयो । ‘सुरुमा त विश्वास नै भएन । के गर्ने, जसरी भए पनि मन सम्हाल्नुपर्दोरहेछ,’ उनले भनिन् । छोराको कुरा गर्नासाथ अहिले पनि उनका आखाँबाट आँसुको भेल बग्छ । ‘नौ महिना कोखमा राखेका छोरालाई कसरी बिर्सन सक्छु ?’ उनले गहभरि आँसु पार्दै भनिन्, ‘कसैले समातेर राखेको भए पो खोजेर ल्याऊँ भन्ने हुन्थ्यो । भगवान्ले नै लगेपछि कसको के लाग्यो ।’

बुबा गोमती पनि बेलाबखत छोराको प्रसंग उप्काउँछन् । दुवै जना जेठा छोराको यादमा रुन्छन् । दुई छोरी र कान्छा छोरा भने सानै छन् । ‘छोरो भएको भए यो उमेरमा मैले दुःख गर्नु पर्दैनथ्यो भन्नुहुन्छ,’ राजमतीले भनिन् । आगलागीमा पति लौटु गुमाएकी शान्तिलाई घर चलाउन समस्या भएपछि गाउँलेले चन्दा उठाएर सहयोग गरे । चन्दाको त्यही रकमले किनेको लुगा सिउने मेसिन अहिले उनको गर्जो चलाउने एक मात्र साधन हो ।

७५ वर्षीय श्यामदेवका सामु छोराको शोक त छँदै छ, घाइते कान्छा छोरा विनोदका लागि उपचार गनुपर्ने जिम्मेवारी पनि छ । उनले गाईभैंसी बेचेर, ऋण काढेर तीन लाख खर्चेर छोराको उपचार गरे । उनको सिंचाइ नहुने दुई बिघा खेत छ । ‘सिंचाइबिनाको खेतको के अर्थ ? त्यसबाट वर्ष दिन पुग्ने चामल पनि आउँदैन,’ उनले भने ।

उनी बुढेसकालमा पनि मजदुरी गर्छन् । चौहान परिवारको अवस्था झन् कारुणिक छ । सम्पत्तिका नाममा खरले छाएको एउटा घर र त्यसले चर्चेको दस कट्ठा खेत मात्र छ । छोराहरूले पठाएको पैसाले पक्की घर बनाउने योजना बनाएका थिए परसरीले । घर बनाउन सुरु गरेका पनि थिए ।

पर्खाल लगाइएको थियो । दुवै छोरा बितेपछि छानो लगाउने योजना भताभुंग भयो । परसरीको वृद्ध शरीर दिनप्रतिदिन शिथिल बन्दै गएको छ र घरका पर्खाल पनि मक्किन थालेका छन् । एउटा नाति र आफू बूढाबूढीका लागि (६५ वर्ष र ५५ वर्ष) पनि मजदुरी नगरी हुँदैन । कान्तिपुर दैीनकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७