गोरखामा समातिएका आठ चिनियाँलाई काठमाडौं ल्याइयो, अध्यागमनले छानविन गर्दै


२० फाल्गुन २०७६, मंगलवार
chinese 3

काठमाडौं, २० फागुन । गोरखाबाट पक्राउ गरिएका आठ जना चिनियाँ कामदारलाई काठमाडौं ल्याइएको छ ।

माथिल्लो बूढीगण्डकी जलविद्युत आयोजनामा काम गरिरहेका चिनियाँ नागरिकको साथमा आवश्यक कागज पत्र नभेटिएपछि नियन्त्रणमा लिइएको थियो । नौलो नेपाल हाइड्रोपावर कम्पनीले काम गर्न उनीहरूलाई नेपाल ल्याएको थियो ।

आरूघाट गाउँपालिका–३ स्थित सोतीबाट सोमबार नियन्त्रणमा लिइएका आठै जनालाई काठमाडौं पठाएको जानकारी प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले दिए । चिनियाँलाई सोमबार नियन्त्रणमा लिइएको थियो ।

लिङ्घु केशेङ, ट्याङ डाक्वीङ, ट्याङ गुवाङलिन, ट्याङ जुन, ट्याङ जियानहुवा, ट्याङ युजेन, याङ चुन र याङ जियाचुनलाई काठमाडौंस्थित अध्यागमन विभाग पठाइएको प्रजिअ पौडेलले बताएका छन् ।

आधिकारिक कागजपत्र विना काम गरेको भेटिएपछि नियन्त्रणमा लिएको उनको भनाइ छ । उनीहरूलाई कागजपत्र जुटाउन यसअघि सचेत गराए पनि अटेर गरेपछि नियन्त्रणमा लिनुपरेको हो । प्रहरी, प्रशासनले कागजपत्र मागेपछि १५ जनामध्ये सात जनाले काम छाडेका थिए ।

उनीहरूमध्ये केहीको साथमा पर्यटन भिसा मात्रै छ भने केहीसँग भिसा पनि छैन । तर काम गर्न पाउने स्वीकृति पत्र साथमा फेला नपरेपछि नियन्त्रणमा लिनुपरेको प्रजिअ पौडेलले जानकारी दिए । ‘पर्यटक भिसामा आएर यहाँ काम गर्न पाइँदैन,’ प्रजिअ पौडेलले भने, ‘हामीले पक्राउ गरेर अध्यागमन पठाएका छौं । थप अनुसन्धान र कारबाही अध्यागनले नै गर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७