देशकै ठूलो सोलार आयोजनाले वैशाखबाट १५ मेगावाट विद्युत् उत्पादन गर्दै


२५ फाल्गुन २०७६, आईतवार
solar nuwakot

नुवाकोट, २५ फागुन । नुवाकोटमा निर्माणाधीन देशकै ठूलो सोलार आयोजनाले आउँदो बैसाखबाट १५ मेगावाट विद्युत उत्पादन गर्ने भएको छ ।

२५ मेगावाट जडित क्षमताको ग्रिडमा आवद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।

२५ मेगावाटमध्ये १५ मेगावाट विद्युत आगामी वैशाखभित्र (अप्रिल) उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । १० मेगावाट चैत (मार्च) र बाँकी ५ मेगावाट वैशाखभित्रमा उत्पादन गरिने छ । बाँकी १० मेगावाटका लागि प्यानल राख्ने ठाउँको पहिचाहन गरी निर्माण अगाडि बढाइएको छ ।

नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत केन्द्रको नाममा रहेको जग्गामा राखिएको सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुनेछ ।

विद्युत केन्द्रको कर्मचारी आवास क्षेत्र नजिक रहेको खाली जग्गामा १० मेगावाट र पावर हाउस नजिक रहेका तीन ठाउँमा ५ मेगावाट विद्युत् उत्पादन गर्न सक्ने सोलार प्यानलको जडान धमाधम भइरहेको छ । एउटा प्यानलबाट २ सय ७५ वाट विद्युत् उत्पादन हुनेछ । एक मेगावाट उत्पादन गर्ने प्यानल राख्न २० रोपनी जग्गा प्रयोग गरिएको छ ।

देविघाट विद्युत गृह नजिकै सोलार आयोजनाबाट उत्पादित विद्युत् जडानका लागि ६६–३३ केभीको नयाँ सबस्टेसन पनि निर्माण भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकहरु हरराज न्यौपाने र बज्रभूषण चौधरी लगायतको टोलीले शनिबार आयोजना निर्माणस्थलको निरीक्षण गरी निर्माणमा देखिएका समस्या, विद्युत् उत्पादन मिति लगायतका विषयमा छलफल गरेको छ ।

कार्यकारी निर्देशक घिसिङले सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएकाले हाल चालू अवस्थामा रहेको ३३ केभी प्रसारण लाइनमार्फत सोलारबाट उत्पादित विद्युत् जडानको वैकल्पिक व्यवस्था तत्काल गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७