उत्तर कोरियामा कोरोनाबाट दुई सय सैनिकको मृत्यु, किमको दावी, ‘हाम्रो देश कोरोनामुक्त’

कोरोनाबाट विश्वभर चार हजार बढीको मृत्यु, माल्दिभ्समा चुनावी कार्यक्रम स्थगित


२७ फाल्गुन २०७६, मंगलवार
korona nkorea

काठमाडौं, २७ फागुन । उत्तर कोरियाली शासन किम जोङ उनले ‘हाम्रो देशमा कोरोना संक्रमण छैन’ भनेर दावी गरिरहेका बेला त्यहाँका दुई सय बढी सैनिकको कोरोनाका कारण ज्यान गएको खुलासा भएको छ ।

हङकङबाट प्रकाशित अंग्रेजी पत्रिका साउथ चाइना मर्निङ पोस्टको अनलाइनले उत्तर कोरियामा दुई सय सैनिकको कोरोना संक्रमणका कारण ज्यान गएको र हजारभन्दा बढी व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको समाचार लेखेको छ ।

गत जनवरीदेखि फेब्रुअरी महिनासम्म कोरोना भाइरसका कारण उत्तर कोयिामा १८० सैनिकले ज्यान गुमाएका थिए । तीन हजार ७ सय सेनालाई क्वारेन्टाइनमा राखिएको सो अनलाइनले दावी गरेको छ ।

चीनको सीमामा खटिएका सेनामा कोरोना देखिएको वेलायत तथा दक्षिण कोरियाबाट प्रकाशित हुने मिडियाले दाबी समेत लेखेका छन् । कोरोना भाइरसका कारण सेनाको ज्यान गएकोबारे उत्तर कोरियाले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

उत्तर कोरियाले हालसम्म आफ्नो देशलाई कोरोना भाइरस मुक्त भनेर दाबी गर्दै आएको छ । केहि दिनअघि मात्र उत्तर कोरियाली शासक किम जोङ उनले दक्षिण कोरियामा जस्तो आफ्नो देशमा कोरोनाको संक्रमण नभएको बताएका थिए ।

korea army
तस्विर : रोयटर्स

दक्षिण कोरियाको समाचार संस्था योनहापले उत्तर कोरियाले १० हजार मानिसलाई क्वारेन्टाइनमा राखेकोमा यतिबेला ४ हजारलाई घर फर्काएको दाबी गरेको छ ।

सोमबार उत्तर कोरियाली पत्रिका रोदोङ सिनमुनले भनेको थियो, ‘कोरोनाको प्रकोप हाम्रो देशमा देखिएको छैन ।’ मृत्यु हुनेहरु निमोनिया, आस्थ्मा, ट्युबरक्लाइसिस र चिसो लाग्ने संकेतहरु देखिएको सो पत्रिकाले उल्लेख गरेको थियो ।

उत्तर कोरियाली सैनिकलाई कोरोनाबाट बच्न पर्याप्त उपाय अपनाउन आग्रह गरिएको छ । त्यसो नगरे दण्ड दिने चेतावनी दिएको पनि बताइएको छ । उत्तरका अधिकारीहरुले अस्वस्थ्य र रोगी सैनिकलाई राम्रो हेरचाह दिइरहेको दाबी गरेका छन् ।

कोरोनाबाट विश्वभर चार हजार भन्दा बढीको मृत्यु
कोभिड–१९ सङ्क्रमणको कारण ४ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको फ्रान्सेली समाचार संस्था एएफपीले मङ्गलबार जनाएको छ । यस भाइरसबाट एक लाख १४ हजार ४५८ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये ६४ हजार १२० जना निको भएर घर फर्किएका छन् ।

यस भाइरस सङ्क्रमणका कारण विश्वभरी चार हजार २७ व्यक्तिको मृत्यु भएको मङ्गलबार प्राप्त समाचारमा जनाइएको छ । बङ्गलादेश, अल्बानिया र पाराग्वेमा तीन ओटा नयाँ देशमा कोभिड–१९ का सङ्क्रमण देखिएपछि विश्वव्यापी स्वास्थ्य चुनौतीको चिन्ता बनेको कोरोना भाइरस संसार ११० देशमा फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

गत वर्षको अन्त्यबाट यस भाइरसको सङ्क्रमण शुरु भएको चीनको हुबेई प्रान्त वुहानमा एकै दिनमा १७ व्यक्तिको मृत्यु भएपछि चीनभरी यस रोगबाट मृत्यु भएपछि तीन हजार १३६ पुगेको जनाइएको छ ।

एक दिनमा मारिएका १७ मध्ये १६ जना हुृबेईको प्रान्तीय राजधानी वुहानका रहेका जनाइएको छ । चीनमा कोरोना भाइरस सङ्क्रमणको कारण जनवरीको अन्त्यदेखि हालसम्म एकै दिनमा मृत्यु भएको यो सबैभन्दा कम संख्या भएको पनि समाचारमा जनाइएको छ ।

गत २४ घण्टा यी तीन देशमा कोरोना भाइरस सङ्क्रमण फैलिएको डब्लुएचओले सोमबार प्रकाशित एक विज्ञप्तिमा जनाएको छ । गत २४ घण्टामा विश्वभरी तीन हजार ९९३ मा यस भाइरसको थप सङ्क्रमण देखिएको डब्लुएचओले जानकारी दिएको हो ।

इटालीमा यस भाइरसको सङ्क्रमणपछि मृत्यु हुने व्यक्तिको संख्या ४६३ पुगेको जनाइएको छ । त्यसैगरी दक्षिण कोरियामा सात हजार ५१३ जना सङ्क्रमित रहेका र ५४ जनाको मृत्यु भएको जनाइएको छ ।

यसैबीच प्राप्त समाचार अनुसार इरानमा सात हजार १६१ जना सङ्क्रमित रहेका र २३७ व्यक्तिको मृत्यु भएको मङ्गलबार प्राप्त समाचारमा जनाइएको छ । विश्वका विभिन्न तथ्याङ्कबारे जानकारी राख्ने वेभसाइट वल्डोमिटरका अनुसार कोरोना भाइरसको सङ्क्रमणपछि उपचार गराएर घर फर्किनेको संख्या ९४ प्रतिशत रहेको छ ।

kim jong 1

घातक कोरोना भाइरसबाट सङ्क्रमितको संख्या भारतमा ४७ पुगेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । मङ्गलबारसम्म ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको एएनआईले जनाएको छ ।

उनीहरुमध्ये केरलाका तीन जनालाई पूर्ण उपचारपछि अस्पतालबाट फिर्ता गरिएको पनि सरकारी अधिकारीहरुले बताएका छन् । उता जर्मनीमा भने सङ्क्रमितको संख्या एक हजार नाघेको छ । रोबर्ट कोच इन्स्टिच्यूटले सोमबारसम्ममा एक हजार ११२ जना सङ्क्रमित भएको जनाएको छ ।

यसैबीच माल्दिभ्समा कोरोनाका कारण चुनावी कार्यक्रम स्थगित गरिएका छन् । बेलायतमा कोरोना भाइरस सङ्क्रमितको संख्या ३१९ पुगेको बेलायतका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

आसन्न स्थानीय निकाय र महिला विकास समितिको निर्वाचनका लागि भइरहेको कार्यक्रमहरु स्थगित गरिएको अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार माल्दिभ्समा अहिलेसम्म दुई जनामा सङ्क्रमण भएको पुष्टि भएको छ ।

जापानमा भने मृत्यु हुनेहरूको संख्या सोमबारसम्म १६ पुगेको छ । सङ्क्रमितको संख्या ५०५ पुगेको छ । स्थानीय समयअनुसार सोमबार बेलुका ८ः३० बजेसम्ममा थप १० जना बिरामी भेटिएका छन् । जापानको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले टोकियोमा ७६ र ओशाकामा ५५ जना बिरामी रहेको जनाएका छन् ।

त्यसैगरी बेल्जियममा सङ्क्रमितको संख्या २३९ पुगेको छ भने हङ्कङमा ११५, प्यालेस्टाइनमा २५, मलेसियामा ११७, कुवेतमा ६५ र इन्डोननेसियामा १९ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । कोरियामा रहेका आठ जना अमेरिकी सैनिकलाई पनि कोरोनाको सङ्क्रमण भएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७