कोरोना भित्रिए नेपालमा पहिलो महिना १५ सय संक्रमित हुने अनुमानका


२ चैत्र २०७६, आईतवार
korona 3

काठमाडौं २ चैत । सरकारले नेपालमा कोरोना भाइरस (कोभिड–१९)को प्रकोप देखिए महिनामा १५ सय नागरिक प्रभावित हुने अनुमान गरेको छ । यसै अनुमानका आधारमा १५ सय संक्रमितलाई नै लक्षित गरेर कार्ययोजना बनाएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले कम र धेरै संक्रमण भएका मुलुकको अवस्था अध्ययन गरेर कार्ययोजना बनाएको बताए । ‘भियतनाम, मलेसिया, श्रीलंका, थाइल्यान्डमा कोरोना संक्रमण तीव्र रूपमा बढेको छैन ।

तर, इरान, इटाली, दक्षिण कोरियामा एक्कासि बढेको छ । इटाली र इरानकै गतिमा नेपालमा संक्रमण भयो भने पनि महिनामा १५ सय मात्रै संक्रमित हुन्छन् । यही आधारमा सरकारले तयारी गरिरहेको छ,’ उनले भने ।

स्वास्थ्य अधिकारीहरूका अनुसार १५ सय लक्षित कार्ययोजना नेपाल सरकार एक्लैले बनाएको होइन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अन्य देशमा देखिएको संक्रमण अध्ययनका आधारमा नेपाललाई १५ सय केसका लागि तयार रहन आग्रह गरेको थियो ।

संक्रमित सबैलाई अस्पताल लैजान नपर्ने सरुवारोग विशेषज्ञहरू बताउँछन् । सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार १५ सय संक्रमित हुँदा ८० प्रतिशत अर्थात् १२ सय बिरामी अस्पताल जानुपर्ने अवस्थाका हुँदैनन् ।

कपितयलाई ज्वरो नै नआउन पनि सक्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका र वृद्धवृद्धालाई मात्रै समस्या हुन्छ । १५ प्रतशित अर्थात् १५ सयमा दुई सय २५ बिरामीलाई अस्पतालको आइसियू आवश्यक पर्छ । त्यस्तै, अन्य ७५ बिरामीलाई आइसियूसहित भेन्टिलेटर आवश्यक पर्छ । गम्भीर अवस्थाका बिरामीमध्ये ३ दशमलव ३ प्रतिशतको मृत्यु भएको तथ्यांकले देखाएको डा. पुनले बताए ।

स्वास्थ्यका एक अधिकारीले पनि अहिले सरकार ७५ जना गम्भीर बिरामीलाई कहाँ र कसरी सुरक्षित व्यवस्थापन गर्ने भन्नेमा जुटेको बताए । कोरोना संक्रमितलाई लक्षणका आधारमा उपचार गर्ने तयारी छ ।

सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा. अनुप बास्तोलाले लक्षणका आधारमा संक्रमितको उपचार गरिने बताए । ‘कोरोना संक्रमितलाई एचआईभी, मलेरिया र फ्लुको औषधि चलाइने छ,’ बास्तोलाले भने, ‘निमोनिया भएको छ भने निमोनियाविरुद्धको औषधि पनि दिइन्छ । फोक्सोमा समस्या भए आइसियु भेन्टिलेटरको सहायतामा उपचार गरिन्छ ।’

जनस्वास्थ्य प्रयोगाला टेकुसँग आपत्कालीन अवस्थामा कोरोना परीक्षण गर्न दुई हजार किट मौज्दात छ । अभाव हुन नदिन थप दुई हजार किट खरिद प्रक्रिया अघि बढाएको छ । साथै आठ हजारका लागि प्रस्ताव गरेको प्रयोगशाला प्रमुख डा. रुणा झाले बताइन् । उनका अनुसार एकै पटक धेरैको परीक्षण गर्दा किट कम लाग्छ, तर एक–एक व्यक्तिको परीक्षणमा धेरै खर्च हुन्छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाले कोरोना लक्षित कार्ययोजनाका लागि बिहीबार मन्त्रालयबाट २८ करोड बजेट पाएको छ । यो बजेटले आवश्यक उपकरण खरिदको तयार गर्दै छ । ‘हामी जतिसक्दो चाँडो आवश्यक उपकरण खरिद गर्दैछौँ,’ विभागका महानिर्देशक श्रेष्ठले भने । बजेट अपुग भए पुनः अर्थ मन्त्रालयसँग माग्ने उनले बताए ।

प्रिफ्याव भवन निर्माण प्रस्ताव अस्वीकृत

त्रिभुवन विमानस्थलमा यात्रुको कोरोना परीक्षण व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयले गरेको प्रिफ्याव भवन निर्माणको प्रस्ताव अस्विकृत भएको छ । खुला स्थानमा परीक्षण हुँदा धेरै यात्रु त्यसै बाहिरीएको भन्दै स्वास्थ्यले प्रिफ्याव भवन बनाउने प्रस्ताव गरेको थियो ।

तर, लागत महँगो भएको भन्दै मुख्य सचिवले अस्वीकार गरेको स्वास्थ्य मन्त्रालय स्रोतले बतायो । दुई करोड लागत लाग्ने योजनासहितको प्रस्ताव मुख्य सचिव नेतृत्वको समितिमा पेश भएको थियो । मुख्य सचिवले अघि नबढाउने भनेपछि अहिलेकै स्वास्थ्य जाँच नियमित हुने भएको छ ।

घरमा क्वारेन्टाइन कसरी बस्ने : प्रवक्ता डा विकास देवकोटा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

घरमा क्वारेन्टाइन गर्नुपूर्व सम्बन्धीत व्यक्तिलाई विमानस्थलमा आवश्यक जानकारी दिएका छौं । विदेशबाट आएका व्यक्तिको सबै विवरण भराइन्छ । ती व्यक्ति जाने र बस्ने ठाउँ स्पष्टरुपमा उल्लेख गरिएको हुन्छ ।

हामीले उनिहरूको ठेगाना अनुसार सम्बन्धीत जिल्लाको स्थानीय तहमा सबै रिपोर्ट पठाउछौं । त्यहाँको स्वास्थ्यकर्मीले उसको निगरानी गर्नेछ । र १४ दिन पछिको अवस्थाको प्रतिवेदन पेश गर्छ ।

हजारौं व्यक्ति घर मै क्वारेन्टाइन हुदा केन्द्रले निगरानी गर्न सम्भव हुदैन त्यसलै सम्बन्धीत ठाउँको पालिकाले त्यसको निगरानी गर्छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई हामीले कुन कुन ठाउँमा कती जना क्वारेन्टाइनमा छन भनेर जानकारी दिन्छौं । मन्त्रालयले स्थानीय तहमा पठाउँछ र स्थानीय तहले वडामा पठाउँछ ।

१८ जना एक्टिभ सर्भिलेन्स अफिसर खटाइयो

विश्वस्वास्थ्य संगठनको समन्वयमा कोरोना संक्रमित खोज्न एक्टिभ सर्भिलेन्स अफिसर खटाएको छ । अस्पतालमा नआएको पनि हुनसक्ने भन्दै डब्ल्युएचओको समन्वयमा १८ जना स्वास्थ्यकर्मी संक्रमित खोजी गर्न बाक्लो बस्ति भएको स्थानमा खटाएको छ ।

एक्टिभसर्भिलेन्स खोजी अन्तर्गत डब्ल्युएचओले सपिङ् महल, मान्छेको बढी जमघट हुने एरियाहरूको पहिचान गरी कर्मचारी त्यहा पुग्नेछन् । उनिहरूले बिरामी व्यक्ति खोज्ने र कोरोना बारे जानकारी मुलक ब्रोसर वितरण गर्नेछन् । मास्क र सेनिटाइजर प्रयोग गर्न सिकाउनेछन् । तीन महिना उनिहरूले काम गर्ने छन् । देशभर खटिएका ती १८ कर्मचारीलाई विश्वस्वास्थ्य संगठनले नै तलब खुवाउने छ ।

प्रसूति र किरिया बिदा बाहेक अन्य बिदा कटौती

स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले आफु मातहतका स्वास्थ्यकर्मीलाई प्रसुति र किरिया विदा वाहेक अन्य विदा नदिने निणय गरेको छ । विश्वव्यापी रुपमा कोभिड १९ को माहामारी फैलिएको र नेपाल पनि उच्च जोखिममा रहेको भन्दै स्वास्थ्यकर्मीलाइ प्रसुति र किरिया विदा वाहेक अन्य विदा नदिने निणय गरेको हो ।

korona tayari2020 03 15 06 42 34

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कमचारी प्रशासन शाखाले एक विज्ञप्ती जारी गर्दै अति अवश्यक अवस्थामा पनि वैकल्पिक व्यवस्था गरेर मात्र विदा स्वीकृत गर्न गराउन निर्देशन दिएको छ । मन्त्रालयले अर्काे सूचना जारी नहुन्जेल सम्मलाइ तोकिएको बाहेक अन्य विदा नदिने निर्णय गरेको हो ।

यसरी गरियो १५ सयमा कोरोना संक्रमणको अनुमान : महेन्द्र श्रेष्ठ महानिर्देशक,
स्वास्थ्य सेवा विभाग

संसारभरका विभिन्न देशको अनुभव लिएका छौँ । हाम्रोमा पनि सुरुमा एउटा केस त फेला परेको हो, तर उपचार गर्न सफल भयौँ । हामीसँगै कोरोना देखापरेका केही देशमा ४७ दिनसम्म थप देखिएका छैनन् । ्मकाउ, भियतनाम, मलेसिया, थाइल्यान्डमा केस तीव्र गतिमा बढेका छैनन् । तर, इरान, इटाली, दक्षिण कोरियामा एक्कासि बढेको छ । इटालीमा जस्तो केस नेपालमा भयो भने त्यो गम्भीर हो ।

हामीले अहिले इरान र इटालीलाई उदाहरणका रूपमा लिन सकिन्छ । एक महिनामा ती देशमा कति फैलिएको थियो ? इरान र इटालीजस्ता देशलाई आधार मान्दा एक महिनाभित्र १५ सय नेपाली संक्रमित हुनेछन् । एक महिनापछि थप बढ्न सक्छ ।

तर, अब हामी त्योभन्दा माथि जानुपर्छ । अझ बढी संक्रमण फैलियो भने तीन हजार र एकदमै नराम्रो गरी फैलियो भने महिनामा पाँच हजारसम्म पुग्छ भन्ने हो । तर, अहिले एक महिनामा १५ सयलाई संक्रमण हुन्छ भन्ने विश्व स्वास्थ्य संगठनको समेत सल्लाहमा सोहीअनुसार तयारी भएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७