अब के गरिन्छ प्रहरीले बरामद गरेको १० लाख थान मास्क ?


३ चैत्र २०७६, सोमबार
mask baramad scaled

काठमाडौं, ३ चैत । सरकारले प्रहरीले बरामद गरेको ठूलो परिमाणको मास्क साझा औषधि पसलबाट बेच्ने भएको छ ।

कालोबजारीका लागि लुकाएर राखिएको ठूलो परिमाणको मास्क उपभोक्तासम्म कसरी पुर्‍याउने भन्ने विषयमा छलफल अघि बढाइसकिएको स्रोतले जानकारी दिएको छ । यसका लागि साझा औषधि पसल पहिलो प्राथमिकतामा रहेको स्रोत बताउँछ ।

प्रहरीले चैत २ गते कपनको मिलन चोकबाट एक लाख ६८ हजार थान मास्कसहित पाँच जनालाई पक्राउ गरेको थियो । उनीहरुसँग सोधपुछको क्रममा काठमाडौं महानगरपालिका–१० विष्णुमति पुलस्थित रोहित श्रेष्ठको घर भाडामा लिई राखेको आरडीजी सप्लायर्स कम्पनीको गौदामबाट ८ लाख ४० हजार थान मास्क बरामद गरिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।

यो समूहबाट अहिलेसम्म १० लाख ८ हजार थान मास्क बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले विष्णुदेवी विन्दवासिनीस्थित घरबाट १७७ बोरा मास्क बरामद गरेको हो । यसअघि पनि सरकारले केही ठाउँमा कालोबजारी गरिएको मास्कसहित विभिन्न व्यक्तिलाई पक्रिसकेको छ ।

प्रहरीले यसमा संलग्न आरडी इन्टरनेशनल सप्लायर्सका सञ्चालक सुरज गोयल र उनका पार्टनर सुवास महेश्वरीलाई पक्राउ गरेको छ । भारत राजस्थान घर भएका गोयल र महेश्वरीले कोरोना भाइरसको त्रास बढिरहेको मौकामा मास्कको कालोबजारी शुरु गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

‘चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीको रोहवरमा गोदाम खोलेर मास्क निकालिएको हो,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले भने ।

यसअघि आइतबार साँझ काठमाडौंको कपनमा १ लाख ६८ हजार थान मास्कसहित अजिम बक मियाँ र सज्जनकुमार रेग्मी पक्राउ परेका थिए । कपनबाट प्रहरीले बा ७ च ७२६३ नम्बरको गाडी, गाडी चालक र हेल्परलाई समेत नियन्त्रणमा लिएको छ ।

मियाँ र रेग्मीलाई मास्क उपलब्ध गराएका थिए गोयल र महेश्वरीले नै । कपनमै प्लाष्टिक पसल चलाउने मियाँ र फोटो स्टुडियो चलाउने रेग्मीले उनीहरुसँग कालोबजारीमा मास्क किनेका थिए ।
बढी नाफा खान पाइन्छ भन्दै मास्क किन्न खोजेपनि प्रहरीले उनीहरुलाई फन्दामा पारेको थियो । बरामद गरिएको मास्क महानगरीय प्रहरी परिसर टेकु लगिएको छ । डीएसपी बोगटीका अनुसार कालोबजारीको मास्क टेकु लैजान ८ वटा ट्रक चाहिएको थियो ।

यस्तै शनिबार डल्लुबाट प्रहरीले १ लाख ६८ हजार थान मास्कसहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महाकाल मञ्जुश्री ट्रेडर्सका सञ्चालक मिन्टु तामाङ, अनिस कार्की, उज्वल अधिकारी, मानकाजी लामा, थुमराज उपाध्याय, नृप कार्की, गणेश तामाङ र शिव खड्का छन् ।

कालोबजारी गरेको अभियोगमा अहिलेकै प्रक्रिया अनुसार मुद्दा चलाउने तर बरामद भएको वस्तु तत्काल बजारमा पठाउन लिखित निर्देशन नै दिने तयारी भइरहेको स्रोत बताउँछ । बरामद भएका मास्कहरु साझा औषधि पसलबाट बिक्री गर्ने तयार भइरहेको पनि जनाइएको छ ।

कोरोना भाइरसको जोखिम बढेसँगै अहिले बजारमा मास्कको माग बढेको छ । अहिले ४–५ रुपैयाँमा पाइने मास्क पनि बजारमा नपाइने गरेको उपभोक्ताको गुनासो छ । सर्वसाधरणले बजारमा मास्क नपाएको र पाए पनि कम मूल्यको मास्कलाई धेरै मोल तिर्नु परिरहेको गुनासो व्यापक बनेपछि प्रहरीले सर्च अपरेसन नै चलाएर मास्क बरामद गरेको हो ।


पक्राउ परेकाहरुलाई कालोबजारी तथा सामाजिक अपराध ऐन २०३२ अनुसार मुद्दा चलाइन्छ र जफत गरिएका वस्तु सरकारबाट बिक्री गर्न सकिने ऐनमा उल्लेख छ । तर महान्यायाधिवक्ता अग्नि खरेलले यसलाई सच्याउन पहल थालेका छन् । प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली र सम्वद्ध अधिकारीहरुलाई छलफलमा बोलाएका उनले बरामद मास्क तत्काल बजारमा पठाउन उपायको खोजीबारे परामर्श थालेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७