परीक्षणका लागि मेलम्चीको सुरुङ्गमा हालियो पानी

‘अब तोकिएकै समयमा काठमाडौंबासीले मेलम्चीको पानी पिउन पाउँछन्’


३ चैत्र २०७६, सोमबार
melamchi

काठमाडौं, ३ चैत । नेपालको बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्गमा पानी हालेर परीक्षण थालिएको छ ।

खानेपानी मन्त्री बिना मगर, मेलम्ची विकास समितिका पदाधिकारी लगायतका प्रतिनिधिहरुको उपस्थितिमा मेलम्चीको हेडवर्क्सबाट सुरुङ मार्गको परीक्षण गरिएको छ । आयोजनाको काम अन्तिम चरणमा पुगेकाले निर्माण गरिएका संरचनाहरुको परीक्षण कार्य जारी रहेको आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिएका छन् ।

सुरुङ मार्गको परीक्षणका क्रममा हेडवर्क्सबाट अम्बाथानमा रहेको सुरुङ मार्गभित्र मेलम्चीको पानी हालेर परीक्षण गरिएको हो । एक किलोमिटर लामो सुरुङ मार्गमा मेलम्चीको पानी पठाइएको खत्रीले जानकारी दिएका छन् ।

परीक्षणमा उक्त सुरुङ मार्गमा कुनै समस्या नदेखिएको कार्यकारी निर्देशक खत्रीले बताएका छन् । खत्रीकाअनुसार सिनो हाइड्रो आयोजनाको निर्माणको ठेक्का पाएपछि काममा गुणात्मक प्रगति भएको छ । सुरुङ मार्गको निरीक्षणपछि बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजना अब कसैले रोक्न नसक्ने बताइन् ।

उनले भनिन्, ‘लामो प्रतीक्षा, अन्यौलता र पछिल्लो चरणमा हामीले गरेको मेहेनतपछि आयोजनाको निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको छ । अब कुनै कारणले पनि आयोजना रोकिँदैन । तोकिएकै समयमा काठमाडौंबासीले मेलम्चीको पानी पिउन पाउँछन् । अब मेलम्ची आउँदैन कि भन्ने भ्रम तोडियो ।’

सीएमसी कम्पनिले मेलम्ची आयोजनाको काम छोडेपछि असोज महिनाको अन्ततिरबाट मेलम्ची खानेपानी आयोजनाको बाँकी निर्माण रहेका कामहरुको निर्माण शुरु भएपछि बितेका ५ महिनामा आयोजनाको कार्य प्रगति सन्तोषजनक रुपमा अगाडि बढिरहेको छ । यही गतिमा निर्माण कार्य भएमा लक्ष्यअनुसार नै मेलम्चीको पानी सुरुङ मार्ग हुँदै सुन्दरीजलसम्म पथान्तरण गर्ने कार्य सफल हुने देखिएको छ ।

मेलम्ची आयोजनाको निर्माणको जिम्मेवारी सिनो हाइड्रोले लिएपछि कामले गति लिएको र जिम्मा लिएका काममध्ये हेडवक्र्सको काम ४० प्रतिशत, टनेलको काम ७५ प्रतिशत, साना ठेक्काको सप्लाइको काम ७५ प्रतिशत, स्काडा प्रविधि जडानको सप्लाइको काम १०० प्रतिशत, गेटको कामः सप्लाइ १०० प्रतिशत, गेट जडान ५० प्रतिशत र भेन्टिलेशनको काम ५० प्रतिशत सकिएको आयोजनाले जानकारी दिएको छ ।

हेडवर्क्समा ७ वटा गेट निर्माण कार्य र कफरड्याम निर्माण कार्य तीब्र गतिमा भइरहेको छ । यी कामहरु पानी पथान्तरण गर्न अत्यावश्यक रहेकोले प्राथमिकताका साथ अगाडि बढाइएको छ । आगामी जेठ १५ सम्ममा यी कामहरु सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७