शिक्षा र विकासपछि फेरिँदै चेपाङ गाउँ


प्रकाशित मिति : March 17, 2020

धादिङ, ४ चैत । शिक्षाको कुरा कोट्याउँदा खीरबहादुर चेपाङलाई ऊ बेला आफूले रु ३०० मा बेचेको ब्याउने बाख्रोको झल्झली याद आउँछ ।

आफूले पालेको मायालाग्दो बाख्रो बेचेर पनि पढाइ खर्च जुटाउन नसक्दा चाहे जति शिक्षा पाउन नसकेका ५२ वर्षीय खीरबहादुरका छोरा रमेश चेपाङ अहिले ‘ओभरसियर’ बनिसकेका छन् । खीरबहादुरका पिता ७७ वर्षीय धनबहादुर चेपाङका पालामा त ‘गरिब’ ले शिक्षाको ‘पारिलो घाम’ ताप्न सक्ने अवस्थै थिएन । धनबहादुरको जीवनको ऊर्जाशील समय साहुकोे खेतमा हलो जोतेर र अरुको भरिया भएर बितेको थियो ।

त्यसबेला जलकन्या विद्यालय खुलेकै थिएन । अहिले जस्तो मोटरबाटो हुने कुरा पनि भएन । कक्षा ३ सम्म पढ्न पनि करिब एक घन्टाको पैदल हिंडेर पारी गाउँ खोरभञ्ज्याङको राष्ट्रिय माविमा पुग्नुपथ्र्यो । त्योभन्दा माथिल्लो कक्षा पढ्न कोदाको पीठो बोकेर गजुरीको आदर्श मावि धाउनुपथ्र्याे । दैनिक त्यहाँ पुगेर बेलुका घर फर्कन सम्भव पनि थिएन । त्यहीँको छात्रावासमा बस्नुपथ्र्याे ।

अहिले जस्तो माविसम्म निःशुल्क शिक्षाको व्यवस्था पनि त्यतिबेला थिएन । मासिक शुल्क रु २० तिर्नुपथ्र्याे । राजमार्गमा गाडीले भाडा मात्रै पाँच मोहोर लिने गथ्र्याे । यसो कम्मरमाथि हात राखेर खीरबहादुरले भने, ‘शुल्क तिर्न नसकेर यत्रो बडाँ ब्याउने बाख्रो बेचें, तर पनि मैले खर्च नपुगेकै कारण एसएलसीसम्म पनि पास गर्न सकिनँ ।’

उच्च शिक्षा हासिल गर्ने आफ्नो धोको अधुरै रहे पनि छोराछोरीलाई जसरी पनि पढाउनु पर्छ भन्ने दृढ भावना थियो खीरबहादुरको । त्यसैले अहिले उहाँका आठ सन्तान शिक्षा हासिल गरिरहेका छन् । परिवार नियोजनको ‘सीप’ थाहा नपाउँदा खीरबहादुरका १० सन्तान हुन पुगेको सुनाए ।

उनका दुई सन्तान सानैमा बिते । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) बाट तीन वर्षे ओभरसियर गरेका जेठा छोरा रमेश ताकथलीस्थित चेपाङ गाउँको ७० घर (परिवार) मा माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) सफल हुने छ जनामध्येका एक हुन् ।

पढेका हुनाले रमेशको विवाह पनि पढे लेखेकै महिलासँग भयो । रमेशकी श्रीमती सीता चेपाङ हाल गाउँकै जलकन्या आधारभूत विद्यालयमा पढाउँछिन् । नब्बे प्रतिशत भन्दा बढी चेपाङ बालबालिका पढ्ने कक्षा ३ सम्मको यो जलकन्या आविमा गाउँकै चेपाङ समुदायका शिक्षक नवीन्द्र चेपाङ र सुमिला चेपाङ पनि निजी स्रोतमा कार्यरत छिन् ।

कुनै बेला गाउँको विद्यालयमा शिक्षक पाउन मुस्किल थियो । अहिले गाउँमै जन्मी हुर्केका र पढेका आफ्नै समुदायका शिक्षक पाउनु चेपाङ गाउँको शैक्षिक रुपान्तरण हो । गाउँमा एसइई सफल हुनेमध्येका अर्का स्थानीयवासी सूर्य चेपाङ पनि हुन् । गाउँमा तीन एसइई सफल हुने युवाले विवाह गरेर तीन पठित बुहारी भित्र्याएपछि सो तहमा पढ्ने ‘यस गाउँमा कतिज ना छन्’ भनेर सोध्दा ‘छ जना’ भन्ने जवाफ दिन सकिएको हो ।

वन जङ्गलका गिठ्ठा, भ्याकुर खाने र सीमान्तकृत समुदायको हेपिएको पहिचान बदलेर चेपाङ गाउँ अहिले शिक्षित र आधुनिक हुन थालेको छ । विनाशकारी भूकम्पछिको पुनर्निर्माणका कारण अधिकांश घरमा जस्ताको छानो टल्किन थालेको छ । खोरिया खन्न छाडेर गाउँमै कुखुरापालन, तरकारी खेती जस्ता आयआर्जनका काम पनि क्रमशः वृद्धि हुन थालेका छन् ।

नेपालको राष्ट्रिय जनगणना २०६८ का अनुसार मुलुकभर ६८ हजार ३९९ चेपाङ छन् । मुख्यगरी धादिङ, गोरखा, चितवन, मकवानपुर, तनहुँ र लमजुङमा यो समुदायको बसोबास छ । कूल ३६ दशमलव एक प्रतिशत साक्षरता रहेको चेपाङ (प्रजा) समुदायको परम्परा र थातथलोबारे आधिकारिक दस्तावेज पाइँदैन । यस समुदायलाई पहिलोपटक बेलायती नागरिक सर हड्सनले प्रकाशमा ल्याएको पाइन्छ भने विदेशी नागरिक टोनी हेगनले चेपाङलाई नेपालको ‘वास्तविक जनजाति’ मानेका थिए ।

नेपाल चेपाङ सङ्घले प्रकाशन गरेको ‘चेपाङ जीवनशैली ज्ञानकोष’ मा उल्लेख भएको जनश्रुतीअनुसार ‘चे’ को अर्थ कुकुर र ‘पाङ’ को अर्थ धनुकाँड हुने भएकाले प्रायः पहाडको टुप्पोमा बस्ने यो समुदाय घरमा कुकुर पाल्ने र धनु लिएर शिकार खेल्ने गर्दथ्यो ।

बेनीघाट–रोराङ गाउँपालिका–१० मा रहेको सो जलकन्या मावि छ वर्ष अघिसम्म भीरालो ठाउँमा गोठजस्तो भवनमा सञ्चालित थियो । जापानी नागरिकको सहयोगमा स्थापित ‘एसियन फ्रेन्डसिप नेटवर्क’ को रु १० लाख सहयोगमा खेल मैदानसहितको दुई तले नयाँ भवन बनेपछि चेपाङ बालबालिका रमाएर पढ्न थालेका छन् । अधिकांश विद्यार्थी पोशाक लगाएर आउँछन् ।

विद्यालयमा दिवा खाजाको व्यवस्था गरिएको छ । अभिभावकले पनि विद्यालयमा चासो दिने गरेका छन् । अन्दाजी ४० वर्षकी स्थानीय इन्द्रमाया चेपाङले आफूले अहिलेसम्म ‘क’ कक्षा पनि नपढेको बताउनुले यहाँ ‘साक्षरता कार्यक्रम’ ले भने निरन्तरता नपाएको देखिन्छ । यहाँ गुपचुपरुपमा बालविवाह हुने गरेको पनि जानकार बताउँछन् ।

जलकन्याका प्रधानाध्यापक टङ्कबहादुर रानामगरका अनुसार हाल बालकक्षादेखि ३ सम्ममा २६ छात्र र ३५ छात्रा गरी ६१ विद्यार्थी छन् । शिक्षक दरबन्दी एक र निजी स्रोतमा दुई छन् । एक बालविकास सहजकर्ता पनि कार्यरत छन् । उनका अनुसार विद्यालय आउने उमेरका कुनै पनि बालबालिका विद्यालय बाहिर छैनन् । कक्षा छाड्ने क्रम भने रोकिएको छैन ।

विद्यालयलाई कक्षा ४ मा स्तरोन्नतिका लागि गाउँपालिकालाई निवेदन दिइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर चेपाङ भवन बनेकामा खुशी हुँदै अब मातृभाषामा पढाइको प्रबन्धका साथै पुस्तकालय र अन्य भौतिक सुविधा हुनुपर्ने बताउँछन् ।

चेपाङ सङ्घका केन्द्रीय शिक्षा विभाग प्रमुख तिलक चेपाङ सीमान्तकृत समुदायको शिक्षामा सरकार र स्थानीय तहले नयाँ ढङ्गले काम गर्नुपर्नेमा पुरानै नीति र नियमका आधारमा व्यवहार गरिएको गुनासो गर्छन् तर बेनिघाट–रोराङ गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटीले चेपाङ बालबालिका पढ्ने विद्यालयमा आवश्यकताका आधारमा सहयोग उपलब्ध गराइरहेको बताए । ‘चेपाङ गरिब भएकाले खाजा कार्यक्रम र अन्य किसिमका सहयोग जारी रहनेछ । विद्यालय स्तरोन्नतिका विषयमा छलफल भइरहेको छ’, अध्यक्ष डल्लाकोटीले भने ।

गाउँपालिकाका शिक्षा तथा युवा शाखा प्रमुख बोधराज पाठक शिक्षक–विद्यार्थी अनुपातका आधारमा शिक्षक दरबन्दीको पुनः वितरणको क्रम जारी रहेकाले त्यसपछि विद्यालय स्तरोन्नतिका लागि आधार तयार हुने बताए । उनका अनुसार सङ्घीय सरकारले शर्तसहित अनुदानतर्फ साक्षरताका कार्यक्रम नराखेकाले सो कार्यक्रम सञ्चालन हुन नसके पनि सीमान्तकृत समुदायको शिक्षा र सामाजिक विकासका लागि प्राथमिकता दिइने छ ।

प्रतिक्रिया दिनुहोस्