नेपालमा कोरोना परीक्षण : कस्तो आउँला आज २५ जनाको रिपोर्ट ?

छैन ढुक्क हुने अवस्था, प्रयोगशालाको परीक्षण क्षमता कति ?


५ चैत्र २०७६, बुधबार
swasthya

काठमाडौं, ५ चैत । अहिले विश्व प्राणघातक कोरोना (कोभिड–१९) भाइरसको
त्रासमा छ । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसले अहिले युरोपेली मुलुकहरुमा संकट पैदा गरेको छ ।

नेपाल पनि कोरोनाको उच्च जोखिम भएको देशमा पर्छ । हालसम्म नेपालमा कोरोना भाइरस पाइएको छैन । तर, यसले आम नागरिकका त्रास भने सिर्जना गरिरहेको छ । जसका कारण अहिले कोरोनाको लक्षणसँग सामान्य मिल्दो बिरामीको लक्षण देखिनासाथ स्वास्थ्य परीक्षण गराउनेहरुको दिनहुँ संख्या बढ्दै गएको छ ।

नेपालमा कोरोना परीक्षणमै शंका–आशंकाको चर्चा हुने गरे पनि अहिले आफूमा कोरोना भाइरसको संक्रमण छ कि छैन भनेर जाँच गराउने क्रम बढे बढेको छ ।

यसै क्रममा हालसम्म नेपालमा पाँच सय जनाभन्दा बढीको नमुना (रगत–र्‍याल) परीक्षण गरिसकिएको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ ।
आज (बुधबार) २५ जना जतिको रिपोर्ट आउने प्रयोगशालाका प्रवक्ता प्रवक्ता राजेशकुमार गुप्ताले जानकारी दिएका छन् ।

उनी भन्छन्, ‘मंगलबारसम्म आएको ४९६ जनाको रिपोर्ट त नेगेटिभ (कोरोना भाइरस नभएको) आएको छ, अब आज आउने रिपोर्ट कस्तो होला, हेर्न बाँकी छ ।’ हिजो (मंगलबार) सम्म परीक्षण सकिएको २५ वटा जति नमुनाको नतिजा आज दिउँसो १२ बजेसम्म आउने गुप्ता बताउँछन् ।
प्रयोगशालाका प्रवक्ता गुप्ताका अनुसार केही दिनयता प्रयोगशालामा कोरोना परीक्षण गराउने बिरामीको चाप संख्या बढेको छ ।

नेपालमा अहिलेसम्म कारोना भाइरस परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मात्रै हुन्छ । ‘अहिले दिनमै २५ वटासम्म स्याम्पल (नमुना– बिरामीको रगत–र्‍याल) आइरहेका छन्,’ प्रयोगशालाका प्रवक्ता गुप्ता भन्छन्, ‘यसमा सबैभन्दा बढी काठमाडौं उपत्यकाकै बिरामी छन् ।’

काठमाडौं उपत्यका बाहिर अहिलेसम्म भरतपुर, पोखरा, लुम्बिनी, नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर, धरानबाट कोरोना परीक्षणका लागि नमुना गुप्ताले जानकारी दिएका छन् । उपत्यकापछि सबैभन्दा बढी पोखरा र चितवनबाट नमुना आउने गरेको उनले बताएका छन् ।

रुघाखोकी, ज्वरो, टाउको दुख्ने लक्षण देखिने बित्तिकै कोरोना हो कि भनेर अस्पताल पुग्नेहरूको संख्या बढेकाले नमुना परीक्षणको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको उनको भनाइ छ । यसरी परीक्षण गराउनुको कारण कोरोनाप्रति मानिसमा सतर्कता बढेको प्रमाण पनि भएको उनी बताउँछन् ।

प्रयोगशालाको क्षमता कति ?
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाका अनुसार अहिले दैनिक दुई सय नमूना परीक्षण गर्न सकिन्छ । त्यसैगरी १५ सय किट स्टकमा छ । आवश्यक पर्नासाथ तुरुन्त किट मगाउन पनि सकिन्छ ।

२० जना कर्मचारी थप्ने हो भने प्रयोशालामा भएका तीन वटा उपकरण चलाएर तीन सिफ्टमा काम गर्दा दैनिक १५ सय नमूना परीक्षण गर्न सकिन्छ । उनी भन्छिन्, ‘हामीले गर्नुपर्ने सबै पूर्व तयारी गरिरहेका छौं । महामारी नै फैलियो भने निजी ल्याबहरु पनि छन्, हामी पनि क्षमता बढाउन सक्छौं ।’

नेपालको प्रयोगशालामा गरिएको परीक्षणमा पूर्ण विश्वस्त हुन उनले आग्रह गरेकी छन् । उनका अनुसार डब्लुएचओको टोलीले पनि ल्याबमा समन्वय गरिरहेको छ ।

टेकु ल्याबमा जाँच गरिएका केही नमूना हङकङको ल्याबमा पठाउँदा पनि एउटै रिपोर्ट आएको छ । उनी थप्छिन्, ‘अहिले सरकारको मापदण्डअनुसार हामीले कोरोना परीक्षण गरेका हौं । नयाँ मापदण्ड आयो भने हामी त्यहीअनुसार काम गर्न सक्षम छौं ।’
छैन ढुक्क हुने अवस्था
अहिले सर्वसाधारणमा नेपालमा कोरोनाको संक्रमण नभित्रिएको कि नदेखिएको भन्ने जिज्ञासा बढिरहेको छ ।

यति थोरै संख्यामा गरिएको परीक्षणले नेपालमा कोरोना संक्रमण छैन भनेर ढुक्क भएर बस्ने अवस्था भने नभएको स्वयम स्वास्थ्य क्षेत्रका जानकार बताउँछन् ।

जनस्वास्थ्य विज्ञ समीरमणि दीक्षित भन्छन्, ‘तीन करोड नेपाली सबैको परीक्षण गर्न सम्भव नभए पनि कम्तीमा संक्रमण फैलिएको देशबाट आएकाहरुको परीक्षण गरिनु पर्छ, त्यसो गर्दा समाजमा मनोवैज्ञानिक त्रास कम गर्न सहयोग पुग्छ ।’

त्यसमा सहमति जनाउँदै शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका डाक्टर शेरबहादुर पुन भन्छन्, ‘जति धेरै परीक्षण त्यति धेरै शंका निवारण हुन्छ । तर सरकारको आफ्नै सीमितता होला ।’
सानो संख्यामा मात्रै परीक्षण गर्दा ठूलो जनसंख्याको वास्तविक चित्र नआउने विभिन्न अनुसन्धानले देखाएको छ । संक्रमण फैलिएको क्षेत्रबाट आएका मानिसहरु र उनीहरुले प्रत्यक्ष भेटेकाहरुको जाँच हुनुपर्छ ।

तर, नेपालमा दैनिक २–४ वटा पनि परीक्षण हुन्न । किनकी अहिलेसम्म परीक्षण भएको ४७० परीक्षणमध्ये १९३ जना सरकारले चीनबाट उद्दार गरेका र उनीहरुलाई नेपालसम्म ल्याउने टोलीको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७