गैरकानुनी रुपमा विदेश पैसा पठाउँदै नेपालका कलेजहरु, क–कसले पठाउँछन् पैसा ?


६ चैत्र २०७६, बिहीबार
british college QdOjljRd1C

काठमाडौं, ६ चैत । विदेशी शिक्षण संस्थाको सम्बन्धनमा नेपालमा सञ्चालित कलेजहरुले गैरकानुनी रुपमा विदेशमा पैसा पठाउने गरेको पाइएको छ ।

कलेजहरुले शिक्षा मन्त्रालय र राष्ट्र बैंकको स्वीकृतिबिनै प्रक्रिया मिचेर अमूक संस्थाका माध्यमबाट रकम पठाएका हुन् । शिक्षा मन्त्रालयले गरेको छानबिनमा काठमाडौँका ब्रिटिस, इस्लिङ्टन, हेराल्ड, विराटनगरको मेरील्याण्ड, इटहरीको इटहरी इन्टरनेसनल र पोखराको इन्फर्मे्टिक्स कलेजले अवैध प्रक्रियाबाट पैसा विदेश पठाएको भेटिएको हो ।

फैसला कार्यान्वयन तथा कानुन शाखाका उपसचिव शंकरबहादुर केसीको संयोजकत्वमा गत कात्तिकमा गठित तीन सदस्यीय समितिले ती कलेजमाथि छानबिन गरेको थियो । कलेजहरुले प्रचलित आयकरअनुसार दुई प्रतिशत शिक्षा कर र अग्रिम कर (टीडीएस) १५ प्रतिशतसमेत नतिरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

विदेशमा रकम पठाउँदा समेत कलेजहरुले अपारदर्शी प्रक्रिया अपनाएको छानबिन समितिको निष्कर्ष छ । ती कलेजले विद्यार्थीलाई तोकिएको बैंकमा व्यक्तिगत खाता खोल्न लगाउने र उक्त रकम संस्थाको खातामा सारेर विदेश पठाउने गरेका हुन् ।

कलेज र विश्वविद्यालयले पैसा पठाउने प्रयोजनका लागि संस्था बनाएका छन् । तीन संस्थाले विद्यार्थीको नाममा बिल जारी गर्छन् र त्यही अनुसार विद्यार्थीले आफ्नो खातामा रकम जम्मा गर्छन् । विद्यार्थीको खाताबाट बैंकले ती अवैध संस्थाको खातामा रकम स्विफ्ट गरेको प्रतिवेदनमा उल्लेख छ ।

कलेजले रकम उठाउन र विदेश पठाउन छुट्टाछुट्टै संस्था खडा गरेका छन् । छानविन समितिले शिक्षण संस्थाले व्यक्तिगत वा संस्थागत रुपमा विदेशी मुद्रा पठाउँदा मन्त्रालयको अनिवार्य सिफारिस लिने व्यवस्था गर्न सुझावसमेत दिएको छ । नेपालमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका ९५ वटा शिक्षण संस्था सञ्चालित छन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७