कोरोना त्रासले सुनसान बन्दै काठमाडौं, बसपार्कमा भीडले टिकट पाउनै मुस्किल

तीन दिनमै छाडे तीन लाख दुई हजार दुई सय मानिसले राजधानी


८ चैत्र २०७६, शनिबार
bus 1

काठमाडौं, ८ चैत । कोरोना (कोभिड–१९) भाइरस संक्रमणको त्रासले मानिस धमाधम गाउँ घर फर्किन थालेपछि काठमाडौं उपत्यका सुनसान बन्न थालेको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना संक्रमण भिनित्र नदिन सरकारले शैक्षिक संस्था, अदालतलगायत कार्यालय बन्द गरेपछि काठमाडौंबाट मानिस आफ्नो घर फर्किने क्रम ह्वात्तै बढेको छ ।

buspark

सरकारले आउँदो चैत १० गतेदेखि लामो दूरीका गाडीहरु समेत चल्न नदिने बताएपछि काठमाडौं उपत्यकामा रहेकाहरु गाउँ फर्किन हतारिएका हुन् । लामो दूरीका गाडी चल्न रोकिनुअघि नै घर फर्किन चाहनाहरुका कारण काठमाडौं नयाँ बसपार्कमा सर्वसाधरणको भीड लागेको छ ।

शनिबार विहानदेखि नै बसपार्कमा टिकट लिनेहरुको भिड देखिएको छ । एकै पटक ठूलो संख्यामा मानिस टिकटका लागि बसपार्कस्थित काउण्टर पुगेका कारण धेरै सर्वसाधरणलाई टिकट काट्न समेत मुस्किल परेको छ ।

दैनिक हजारौंको संख्यामा मानिस बाहिरिन थालेपछि राजधानी काठमाडौं सुनसान जस्तै बन्न थालेको छ । शुक्रबार मात्रै एक लाख ३० हजार ८२२ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । यस दिन काठमाडौं उपत्यका भित्रिने यात्रुको संख्या भने ६३ हजार ३११ मात्रै छ ।

buspark 1

विद्यालय, विश्वविद्यालय, सार्वजनिक सभासम्मेलन, सिनेमा हल बन्द गर्न, २५ जनाभन्दा बढी जमघट नगर्न र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन सरकारले आग्रह गरेसँगै उपत्यकामा मानिसको चहपहल स्वाट्टै घटेको छ ।

अहिले काठमाडौंका सडक दशैंको समयमाझैंसडक खाली देखिन्छन् भने मानिसको भिडभाड कम छ । ट्राफिक प्रहरीका अनुसार पछिल्ला तीन दिनमा मात्रै ३ लाख २ हजार २ सय बढीले काठमाडौं छाडेका छन् ।

बिहीबार एक लाख ८ हजार ४५८ राजधानीबाट बाहिरिएका थिए भने १८ हजार ५५४ जना भित्रिएका थिए । बुधबार ९५ हजार २४७ बाहिरिँदा १७ हजार ४४१ जना काठमाडौं भित्रिएको ट्राफिक प्रहरीको तथ्याङ्क छ ।

गाउँ फर्किने मानिसको भिडले यतिबेला नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला बल्खुलगायतका बसपार्कमा चहलपहल बढेको छ । यता आज (शनिबार) पनि ठूलो संख्यामा यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७