एकता संयोजन समितिको पहिलो बैठक : क्षेत्र बाँडफाँट र घोषणापत्रका लागि छुट्टाछुट्टै समिति


१९ आश्विन २०७४, बिहीबार

काठमाडौं : एमाले, माओवादी केन्द्र, नयाँ शक्ति पार्टीको एकता संयोजन समितिले उम्मेदवारीका लागि क्षेत्र निर्धारण र संयुक्त घोषणापत्रका लागि छुट्टाछुट्टै समिति बनाएका छन् । एमाले उपाध्यक्ष वामदेव गौतमको भैँसेपार्टीस्थित निवासमा बसेको समितिको पहिलो बैठकले समितिहरू बनाएको हो । एमाले अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकमा दुई समिति बनाउने एजेन्डामा निर्णय भएको उपाध्यक्ष गौतमले बताए ।

cpn uml moist

उम्मेदवारीका लागि क्षेत्र निर्धारण समितिमा एमाले र माओवादी केन्द्रबाट तीन–तीन र नयाँ शक्तिबाट एकसहित सात सदस्य रहेका छन् । संयुक्त घोषणापत्र मस्यौदा समितिमा एमालेबाट तीन र माओवादी केन्द्रबाट तीन–तीन र नयाँ शक्तिबाट दुईसहित आठ सदस्य रहेका छन् ।

समितिले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा कुन पार्टीले कुन–कुन क्षेत्रमा कति उम्मेदवारी भन्ने टुंगो लगाउनेछ । प्रदेश र प्रतिनिधिसभाका लागि तीनवटै पार्टीका एजेन्डा समेटिनेगरी संयुक्त घोषणापत्र तयार पारिनेछ । दुवै समितिमा पदाधिकारी तह र प्रभावशाली नेताहरू समेटिएका छन् ।

‘समितिले छिटोभन्दा छिटो काम सम्पन्न गर्नेछ ।’ गौतमले भने । आठ सदस्यीय एकता संयोजन समितिमा ओली र प्रचण्ड संयोजकको हैसियतमा रहेका छन् भने बाँकी सदस्यका रूपमा रहेका छन् । 
संयुक्त घोषणापत्र मस्यौदा समिति
संयुक्त घोषणापत्र मस्यौदा समितिमा वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भीमबहादुर रावल, देव गुरुङ, प्रदीप ज्ञवाली, विश्वभक्त दुवाल, डम्बर खतिवडा र डा। लक्ष्मी देवकोटा रहेका छन् ।

६०/४० क्षेत्र निर्धारण समिति
क्षेत्र निर्धारण समितिमा ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, वर्षमान पुन, सुरेन्द्र पाण्डे, मातृका यादव र गंगा श्रेष्ठ रहेका छन् ।

बिहीबार दुवै समितिको बैठक
घोषणापत्र र क्षेत्र बाँडफाँटका लागि दुवै समितिको बैठक बिहीबार बिहान ९ बजे माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको छ । बिहीबारकै बैठकले मोटामोटी खाका तयार गर्ने नेताहरूले दाबी गरेका छन् ।

आठ सदस्यीय एकता संयोजन समितिमा
एमाले  केपी शर्मा ओली (संयोजक), माधवकुमार नेपाल, वामदेव गौतम र ईश्वर पोखरेल,  माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ र
नयाँ शक्ति पार्टीबाट डा. बाबुराम भट्टराई छन् ।

समितिमा झलनाथ परेनन्
तीन पार्टीको एकता संयोजन समितिमा एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल रहेका छैनन् । सुरुमा समितिमा खनाल रहने भनिए पनि उनलाई आमन्त्रितका रूपमा बैठकमा बोलाउने समझदारी बनेको उच्चस्रोतले जनाएको छ । खनालको स्थानमा समितिमा महासचिव ईश्वर पोखरेल सहभागी भएका छन् ।

एकता घोषणाबारे बैठकमा एसएमएस रिपोर्टिङ
एकता समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अध्यक्षता गर्दै बैठक सुरु गर्न ओलीलाई आग्रह गरेका थिए । नेताहरूबीचको समझदारीअनुसार अबदेखि समितिको बैठकको अध्यक्षता ओलीले नै गर्नेछन् ।

बैठकमा एकताको घोषणाले जनतामा उत्साह आएको भन्दै मोबाइलमा आएको बधाई सन्देश देखाएका थिए । ‘एकतालाई बौद्धिक क्षेत्रले सचेतन तरिकाले विश्लेषण गर्दै सही भनेको छ, कतै बिथोलिने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् । बधाईको एसएमएस आएको देखाएर बैठकमा आपसमा खुसी पनि साटियो,’ एक नेताले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७