कोरोना संकट : राधेराधेको १७ तले भवन अब खाद्यान्न भण्डार


१७ चैत्र २०७६, सोमबार
Radhe radhe

काठमाडौं, १७ चैत । कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउन लम्बिँदै गए जिल्लामा खाद्यान्न अभाव हुन नदिन मध्यपुरथिमि राधेराधेस्थित १७ तले खाली भवनमा खाद्यान्न भण्डार गरिने भएको छ ।

कोभिड–१९ को विश्व महामारीको चपेटामा परिरहेका अवस्थामा नेपालमा पनि सङ्क्रमण फैलिन थालेपछि सरकारले आगामी २५ गतेसम्मका लागि थप गरेकोे लकडाउनका अवधि लम्बिँदै गए जिल्लामा खाद्यान्न अभाव हुन नदिन यहाँ खाद्य सामग्री भण्डारण गर्ने भएको हो ।

Bhaktapur 8742

भवनमा नेपाली सेनाको नेतृत्वमा अत्यावश्यक खाद्यान्न भण्डारण गर्ने र अभाव भएमा जिल्लाका चारै वटा नगरपालिकामा वितरण गर्ने गरी खाद्य भण्डारण गर्ने भएको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, वीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेल, प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, सशस्त्र प्रहरी दुवाकोटका प्रहरी उपरीक्षक विश्वप्रसाद भट्टराईसहित संयुक्त सुरक्षा फौजको टोलीले उक्त भवनको अनुगमन गरी खाद्य भण्डारका लागि छनोट गरेको हो ।

भवन छनोटपश्चात् दुर्गाप्रसाद न्यौपानेको राधेराधेस्थित प्रयोगविहीन १७ तले भवन हालको सङ्कटको समयमा प्रयोग गर्न माग गर्दा न्यौपानेले विपद्मा निःशुल्क प्रयोग गर्ने गरी सुरक्षा फौजलाई उपलब्ध गर्न स्वीकृत दिएका हुन् ।

तपश्चात् जिल्ला प्रशासन कार्यालय भक्तपुरले न्यौपानेलाई उक्त भवन प्रयोग गर्नेबारे पत्राचार गरिसकेको छ । भवनमा खाद्यान्न स्टोर तथा वितरणका लागि प्रयोग गरिने भएपछि नेपाली सेनाको वीरदल गण सूर्यविनायक ब्यारेकबाट खटिएका सेनाको टोलीले भवनको सरसफाइ गरी तयारी अवस्थामा राखेको वीरदल गणका गणपति शिवप्रसाद पौडेलले जानकारी दिए ।

यसका लागि नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले ५० थान त्रिपाल उपलब्ध गराएको छ । त्रिपाल ओछ्याउने र खाद्यान्न भण्डारणका लागि ठाउँ तयारी अवस्थामा राखिएको छ । लकडाउन लम्बिदै जाँदा खाद्य सामग्रीको अभाव भएमा जिल्लाका चार वटै नगरपालिकासँग समन्वय गरी सम्बन्धित नगरपालिकाको वडा कार्यालयमार्फत नागरिकलाई खाद्य सामग्री वितरण गर्न सकिने गरी तयारी गर्न लागिएको वीरदल गणका गणपति पौडेलले जानकारी दिए ।

यसअघि विसं २०७२ को महाभूकम्पको विपद्मा पनि नेपाली सेनाले विवादरहित रुपमा जनताको सेवामा खटिएको र अहिले स्वास्थ्य सङ्कटका बेलामा पनि खरिपाटीमा क्वारेन्टाइन निर्माणदेखि कोरोना भाइरस नियन्त्रणको अभियानसँगै पिपिई, मास्क, पञ्जालगायतका सामग्रीको व्यवस्थापनमा नेपाली सेनाको वीरदल गण सक्रिय हुँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७