अफवाह फैलाउने र तथ्यहिन समचार लेख्ने १४ अनलाइन बन्द (सुचीसहित)

क–कसले के लेखेर फैलाए भ्रम र त्रास ?


१७ चैत्र २०७६, सोमबार
press concal scaled

काठमाडौं, १७ चैत । अहिले सिङ्गो विश्व कोरोना (कोभिड–१९) भाइरस संक्रमणले आक्रान्त बनेको छ । कोरोना भाइरस संक्रमणबाट हालसम्म विश्वभर झण्डै ३५ हजार मानिसको ज्यान गइसकेको छ । विश्वभर कोरोना भाइरसबाट सात लाख ३५ हजार मानिस संक्रमित भइसकेका छन् ।

नेपालमा हालसम्म पाँच जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा एक जना उपचारपछि निको भएर घर फर्किसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारिसकेको छ । बाँकी चार जना उपचारमा छन् ।

पछिल्लो समय कोरोना भाइरस संक्रमणको तीब्र विस्तारले विश्वलाई आतंकित बनाइरहेको छ । योसँगै कोरोना महामारीको अवस्थामा गलत सूचना प्रवाह गर्ने एकाध सञ्चारमाध्यमहरुका कारण पनि मानिसमा भ्रम र आतंक सिर्जना भइरहेको छ ।

विश्वमा आइ लागेको संकटका बेला थप जिम्मेवारी देखाउनु पर्ने बेला केहि सञ्चारमाध्यमहरुले आधिकारितकता पुष्टि नभएका कुरा विभिन्न माध्यमबाट नागरिकसम्म पुर्‍याएर असहज अवस्थामा भ्रम र त्रास सिर्जना गरेको पाइएको छ ।

प्रेस काउन्सिल नेपालले यस्तै गलत सूचना प्रवाह गर्दै आएका विभिन्न १४ वटा अनलाइनलाई देशैभरी प्रकाशन-प्रशारण नहुने गरी ‘ब्लक’ गरिदिएको छ । यस्तै आधाकारिता पुष्टि नभएका र हुन नसक्ने सूचनालाई समाचारको नाम दिएर विभिन्न शीर्षकमा नागरिकसम्म पुर्‍याएर भ्रम सिर्जना गरेको आरोपमा ३६ वटा अनलाइन सञ्चारमाध्यमहरुलाई काउन्सिलले स्पष्टिकरण सोधेको छ ।

चैत १० गतेदेखि हालसम्म कोरोना भाइरस संक्रमणबारे अफवाह फैलाउने, जथाभावी तथ्यहीन समाचार सम्प्रेण गरेर भ्रम फैलाउने अनलाइनहरुलाई स्पष्टिकरण सोधिनुका साथै १४ वटालाई ब्लक गरिएको प्रेस काउन्सिल नेपालले जनाएको छ ।

प्रेस काउन्सिलले पहिलो चरणमा दर्ता भएका अनलाइन सञ्चारमाध्यमहरुलाई स्पष्टिकरण मात्रै सोधेको छ । सम्बन्धित निकायमा दर्ता बिना नै सञ्चालन गरेर जथाभावी भ्रम फैलाउने समाचार प्रकाशन गर्ने १४ अनलाइन सञ्चारमाध्यमहरुलाई भने बन्द (ब्लक) नै गरिएको काउन्सिलले जनाएको छ ।

पत्रकार आचारसंहिता विपरीत आफैले कथा बुनेर, अनुमानका भरमा, पुष्टि नै नभएका र समाजलाई आतंकित र उत्तेजित बनाउने खालका समाचार सन्देश प्रवाह गर्ने अनलाइन सञ्चारमाध्यमहरुलाई कारवाहीको दायरामा ल्याइएको काउन्सिलले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । विज्ञप्तिमा काउन्सिल अहोरात्र मिडिया अनुगमनमा जुटेको पनि जनाएको छ ।

यी हुन् बन्द गरिएका १४ अनलाइन, कसले कस्ता समाचार पस्किए ?
१) कास्कीखबर डटकम । कास्कीखबर डटकमलाई काउन्सिलले ब्लक गरेको छ । यसले चैत ८ गते ‘धनुषाका जिल्लाका २ जना युवामा कोरोना भाइरस भेटियो, शेयर गरी नेपालीमाझ पुराइदिनुहोला’ शीर्षकको समाचार प्रकाशन÷प्रसारण गरेको थियो ।

२) नेपाली अनलाइनन्यूज डटकम । यो अनलाइनले चैत १० गते ‘वीरगञ्जमा एकजनामा देखियो कोरोना भाइरस’ शीर्षकको समाचार प्रकाशित गरेको छ ।

३) भिजिटस्टार्ट डटकम । यो अनलाइनले चैत ८ गते ‘नेपालमा कोरोना भाइरस लुकाउने कोसिस, इटालीको भन्दा भयावह अवस्था आउनसक्ने, डब्लुएचओ’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।

४) न्युज ट्वेन्टीसेभेनमिडिया डटकम । यो अनलाइनले ‘दुःखद् खबर ! वीरगञ्जमा सिरहामा एकजना विरामीमा कोरोना संक्रमणको लक्षण देखियो, गाउँ नै आतंकित, सबैलाई घरबाहिर ननिस्कन आग्रह’ शीर्षकको समाचार प्रकाशन गरेको छ ।

५) मिडिया माइनेपाल डटकम । यो अनलाइनले चैत ९ गते ‘वीरगञ्जमा एकजना कोरोना संक्रमित फेला परे’ शीर्षकमा समाचार सम्प्रेषण गरेको छ ।

६) निगरानीखबर डटकम । यो अनलाइनले मार्च ४ मा ‘दार्चुलामा भेटियो कोरोना भाइरस’ शीर्षकमा समाचार छापेको छ ।

७) हाम्रो अभियान डटकम । मिति नै उल्लेख नगरेर यो अनलाइनले ‘पत्रकार सम्मेलनमा गएका पत्रकार कोरोना संक्रमित, छोरीमा समेत पोजिटिभ’ शीर्षकमा समाचार प्रकाशन गरेको छ ।

८) नेपालडीप डटकम । यो अनलाइनले चैत ९ र १० गते ‘कोरोनाको मौका छोपी प्रहरी पत्रकार नै लुटपाटमा लागेपछि’, र ‘राजाको सक्रियताले प्रचण्ड चिन्तित, भने, भारतले राजालाई बुई बोक्यो’, र ‘मौसूफ नारायणहिटी सर्ने तयारी गर्नुहोस् : योगी आदित्यनाथ’, शीर्षकमा समाचार प्रकाशित गरेको छ ।

९) बीबीसीई नेपाल डटकम । यो अनलाइनले चैत १३ गते समाचार सम्प्रेषणका क्रममा ‘न्यूज २४ का दुईजना पत्रकारलाई कोरोना भाइरसको संक्रमणको पुष्टि’, ‘प्रधानमन्त्री ओलीको नेपालमा चीनको प्रभाव रोक्न, यस्तो एक्सन, बेइजिङ आत्तियो !’, ‘खुशीको खबर जापानले कोरोना भाइरसको औषधि पत्ता लगायो, ३४० बिरामीमा प्रयोग गर्दा बिरामी निको भए, पढेर शेर गरौं !’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

१०) इन्यूज ट्वेन्टीफोर नेपाल डटकम । यो अनलाइनले १९ मार्चमा ‘खुशीको खबर : कोरोनाबारे नयाँ तथ्य पत्ता लगाए वैज्ञानिकले !’ शीर्षकमा समाचार सम्प्रेषण गरेको छ ।

११) ललितपुरखबर डटकम । यो अनलाइनले चैत ११ गते ‘चितवनमा मृत यादवलाई कोरोना भएको रिपोर्ट’ शीर्षकमा समाचार छापेको छ ।

१२) एचखबर डटकम । यो अनलाइनले मिति नै उल्लेख नगरेर ‘थपिने भयो लकडाउनको अवधि, १८ गते नखुल्ने, सरकारको यस्तो निर्देशन, अब कहिले खुल्छ’, ‘खुशीको खबर सक्दो सेयर गर्नुस्, एक नेपालीले कोरोना भाइरसको औषधि पत्ता लगाएको दाबी’, ‘खुशीको खबर फ्रान्सबाट फर्केकी नेपाली युवती निको भएर डिस्चार्ज’ भन्ने समाचार प्रकाशित गरेको छ । यसमा शीर्षक एउटा, तस्बीर प्रधानमन्त्री केपी शर्मा ओलीको राखिएको छ । साथै यो अनलाइनले ‘विश्वकै सबैभन्दा सानो गौमाता, शेयर गरी पुण्य कमाउनुहोस्’ शीर्षकमा समाचार सम्प्रेषण गरेको छ ।

१३) पवित्र टिभी डटकम । यो अनलाइनले फेब्रुअरी १९, मार्च १७, २४ र २७ तारिखमा ‘पत्रकारले मेयरलाई कोरोनाको बारेमा फोन गर्दा मेयरले फोन राख मु…! मा… चो…!! भनेपछि’, ‘सिराहामा ९ जना कोरोनाका बिरामी भेटिए, गाउँलेहरु आतंकित’, ‘कोरोना भाइरसको संक्रमण भइरहेकोले नेपालले चीनको बदनाम गर्‍यो’, ‘मलेसियामा लकडाउनको समयमा झन कोरोनाको डरलाग्दो रुप, १५१८ संक्रमितका साथै १४ जनाको मृत्यु’ शीर्षकमा समाचार छापेको छ ।

१४) सिआइएनेपाल डटकम । यो अनलाइनले चैत १३ गते ‘डब्लुएचओको चेतावनी ः पहिलो चरणमै कोरोना संक्रमण रोक्न नसकिए नेपालमा महामारी’ शीर्षकको समाचार सामग्री प्रस्तुत गरेको छ ।

press

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७