लकडाउन अवज्ञा गर्दै मेला आयोजना, चार वडाध्यक्षसहित नौ जना पक्राउ


२७ चैत्र २०७६, बिहीबार
bajhang mela d0blA1NSzp

बझाङ, २७ चैत । प्राणघातक महामारी कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले लकडाउन जारी गरेर विभिन्न उपाय लगाइरहेका बेला बैतडीमा भने जनप्रतिनिधिकै सहभागितामा मेला लगाइएको छ ।

लकडाउनको अवज्ञा गर्दै बझाङको छविसपाथिभेरा गाउँपालिकामा ‘बन्नीकी चैतली’ मेला लगाएको भन्दै प्रहरीले चार जना वडाध्यक्ष, बान्नी मष्टा मन्दिरका पुजारीसहित नौ जनालाई पक्राउ गरेको छ ।

लकडाउनको अवधिमा सयौंको संख्यामा मानिस भेला भएर गरिएको उक्त मेलाको विरोध भएसँगै प्रहरीले उनीहरुलाई पक्राउ गरी सदरमुकाम ल्याएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्ने वडाध्यक्षहरुमा छविसपाथीभेरा–२ का विकास अयडी, ३ का केशवराज जोशी, ४ का अमर थापा र ५ का लोकेन्द्र ठगुन्ना छन् ।

अन्य पक्राउ पर्नेमा बान्नीकी चैतली मेलाका व्यवस्थापक एवम् बान्नी मष्टा मन्दिर संरक्षण समितिका सचिव राजेन्द्रबहादुर सिंह र बान्नी मष्टाका पुजारी नृपराज जोशीसँगै जयकृष्ण जोशी, बान्नी मष्टा मन्दिरका फूलपाती सेवक डम्मर धामी, मन्दिरका रजवार इन्द्रबहादुर सिंह रहेको प्रहरी निरीक्षक एवम जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी नेत्र बोहराले जानकारी दिएका छन् ।

गाउँपालिका अध्यक्ष अक्कलबहादुर धामी र उपाध्यक्ष राधिका रतालालाई समेत प्रहरीले पक्राउ गर्ने तयारी गरेको थियो । तर, उनीहरु सम्पर्कविहीन भएको जनाइएको छ ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई पटक–पटक धार्मिक आस्था बमोजिम रीत मात्र पूरा गर्न र भीडभाड नगर्न सुझाएको तर, स्थानीयको अटेरीले सयौं मानिस जम्मा भएर मेला सञ्चालन गरेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताएका छन् ।

पाण्डेका अनुसार तल्लो र मल्लो छबिसेका ब्यक्तिबीच झडप समेत भएकोले उनीहरुलाई नियन्त्रणमा लिइएको छ । प्रजिअ पाण्डेले सोमबारै मेला सञ्चालन गर्ने र झडपमा संलग्नलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

यसअघि सोमबार मेलाका दिन छविसपाथिभेरा गाउँपालिकाका अध्यक्ष अक्कलबहादुर धामीले कोरोनाको सन्त्रासले गर्दा मेला स्थगित गर्न निर्देशन दिएको बताएका थिए । एक जना धामी र एक जना पुजारी मात्र उपस्थित भई पूजा गर्न निर्देशन दिँदादिँदै पनि मानिसहरु आफै भेला भएको बताएका छन् ।

सत्य युगमा मैसासुर दानवले सुर्मादेवी र उनका भाई मास्टालाई दुःख दिएपछि उनीहरुले लिङ्गोको हतियार बनाइ युद्ध गरेर परास्त गरेको किम्वदन्ती छ । सोही सम्झनामा हरेक वर्ष बान्नी चैतली मेला मनाउने गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७