काठमाडौंबाट बाहिर जान दिने निर्णयबाट यसरी पछि हट्यो सरकार


२७ चैत्र २०७६, बिहीबार
kathmandu road 1

काठमाडौं, २७ चैत :  काठमाडौं लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर भोली र पर्सि जान दिने निर्णयबाट कोभिड- १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति पछि हटेको छ ।

निर्णयमा प्रदेश सरकार, स्थानीय सरकार र सर्बसाधणहरुबाट समेत तिव्र विरोध भएपछि समिति पछि हटेको हो । ‘स्थानीय तथा प्रदेश स्तरका सरकारहरुले मान्यता नदिएको’ भन्दै निर्णय फिर्ता गरिएको हो ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले सामाजिक सञ्जालमा संक्षिप्त जानकारी राख्दै काठमाडौंबाट भोलि र पर्सि बाहिर जान दिने निर्णय नभएको दाबी गरे । तर, विहिबार समितिका संयोजक पोखरेलको नेतृत्वमा बसेको केही मन्त्रीहरूको अनौपचारिक बैठकले भोली र पर्सि उपत्यका बाहिर जान दिने निर्णय गरेको थियो ।

संयोजक उपप्रधानमन्त्री पोखरेलले निर्णय नभएको दाबी गरे पनि सरकार तथा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आधिकारिक फेसबुकमा समेत बैठकले भोली र पर्सि काठमाडौँ उपत्यकाबाट बाहिरिने निर्णय गरिएको सार्वजनिक गरिएको थियो । आधिकारिक फेसबुकमा भनिएको थियो, ‘लकडाउनका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिन खोज्नु भएका वासिन्दाहरुलाई मध्यनजर गर्दै आज बसेको उच्च स्तरिय समितिको बैठकले भोली र पर्सि काठमाडौँ उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरेको छ ।’

हेर्नुहोस् :

DPM office

यसको प्रक्रिया गृह मन्त्रालयले सरोकारवालाहरूसँग छलफल गरेर टुंगो लगाउने जानकारी पोखरेलका सचिवालयका एक सदस्यले जानकारी गराएको थियो ।

समितिको निर्णयपछि तत्कालै बिहीबार दिउँसो गृह सचिव महेश्वर न्यौपानेले सरोकारवालाबीच निकायका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल गरेका थिए । बैठकमा उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभागका महानिर्देशक, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख र यातायात व्यवसायी महासंघका प्रतिनिधि सहभागी थिए ।

गृह सचिव न्यौपानले उपत्यका बाहिर लैजानको निम्ती योजना बनाउन अनुरोध गरेका थिए । त्यही बिचमा कोभिड १९ संक्रमण रोकथाम तथा समन्वय उच्चस्तरीय समितिको सचिवालयबाट भएको निर्णय सार्वजनिक भएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ उपप्रधानमन्त्री पोखरेललाई भेट्न रक्षा मन्त्रालय पुगे । उनले तत्काल पठाउन सम्भव नभएको जानकारी गराए ।

काठमाडौं उपत्यकाबाट गाउँ फर्कन चाहनेलाई शुक्रबार र शनिबार जान दिने उच्चस्तरीय समन्वय समितिको निर्णय सार्वजनिक भएलगत्तै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विरोध जनाए । तिव्र बिरोध भएपछि उच्चस्तरीय समन्वय समिति निर्णयबाट पछि हट्यो ।

यसपछि सरकार तथा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आधिकारिक फेसबुकमालाई तत्काल अपडेट गरियो । त्यहाँ भनियो, ‘लकडाउनका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिन खोज्नु भएका वासिन्दाहरुलाई मध्यनजर गर्दै आज बसेको उच्च स्तरिय समितिको बैठकले भोली र पर्सि काठमाडौँ उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरेको छ ।

UPdate : स्थानीय तथा प्रदेश स्तरका सरकारहरुले मान्यता नदिएको हुनाले भोली र पर्सि काठमाडौँ उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय फिर्ता गरिएको छ ।

Office PM

यो आधिकारिक फेसबुक पेजमा तीनपटक सूचना तथा जानकारी गराइए पनि विहिबार साझ ७ ३० तिर भने त्यो सबै पोष्ट हटाइएको छ ।

सामाजिक सञ्जालमा उपप्रधानमन्त्री पोखरेलले नै काठमाडौंबाट मान्छे बाहिर पठाउने निर्णय नभएको लेखेका छन् । उनले भनेका छन् : ‘भोलि र पर्सी ( २८-२९ चैत्र , २०७६ ) काठमाडौं प्रवेश गर्न नपाइने तर काठमाडौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको ‘ भन्ने समाचार सार्वजनिक सञ्चारमाध्यमहरू  खासगरी सामाजिक सञ्जालहरूमा आइरहेको सन्दर्भमा ‘नोवेल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ को गम्भीर ध्यानाकर्षण भएकोछ।

 यस किसिमको कुनै निर्णय नभएको, कोभिड-१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनु पर्ने आवश्यकतालाई गम्भीरताका साथ महशुस गरी ‘बन्दाबन्दी’ (लक डाउन) लाई जारी राखिएको, सम्माननीय प्रधानमन्त्रीज्यूले देशवासीहरूका नाममा हालै गर्नुभएको सम्बोधनमा समेत यसको आवश्यकतालाई गम्भीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौं। यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकहरूको पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ। यस्तो गम्भीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ ! जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७