कोरोना संकट र पूँजीवाद 


३० चैत्र २०७६, आईतवार
Bhawana luitel

– भावना लुईंटेल /

विश्व पूँजीवादी र समाजवादी व्यवस्थाको दुई ध्रुवमा रस्साकस्सी गर्दै गर्दा अन्ततोगत्वा दुई ध्रुव एकै यात्रामा एकै गन्तव्यमा छन् । त्यो यात्रा र गन्तव्य हो कारोना परास्तको लडाई । विश्व राजनीति व्यवस्था कहिले रक्तपातपूर्ण, हिंश्रक  बन्यो, कहिले  आणविक अस्त्रको निर्मम प्रहारले शत्रु राष्ट्रलाई झारसम्म नउम्रिने गरी भस्म बनाइयो ।

कहिले शीतयुद्धको प्रभावले नाकाबन्दी लगाएर मान्छेहरू भैकभोकै मारियो । यतिबेला  एसियामा चंगेज खान र युरोपमा हिटलरले गरेको नरसंहार भन्दा भयावह अवस्था कोरोना भाइरस संक्रमणले निम्त्याएको छ । यतिबेला विश्व विकल्पबिहीन विकल्प लकडाउनको अवस्थामा छ ।

कोरोना भाइरसबाट बढ्न सक्ने खतराबाट बच्नका लागि विश्वका अधिकांश मुलुकहरू अनिश्चितकालीन लकडाउनमा छन् । आज विश्वमा कोरोना भाइरस मानव सभ्यताको लागि एक प्रश्न बनेर खडा भएको छ । कोरोनाप्रतिको अन्योलता त्यति नै छ ।  के हो कोरोना भाइरस ? कसरी र कहाँबाट उत्पन्न भयो ? यो प्रकृतिक सिर्जित वा मानव निर्मित भाइरस हो ? यस विषयमा ठूला–ठूला वाकयुद्ध र अनुसन्धानहरू भइरहेका छन् ।

हाल अमेरिकी राष्ट्रपति  र विश्व  स्वास्थ्य संगठन बीचको जुहारीले कोरोना भाइरसप्रति थप आशंका थपेको छ । अमेरिकी राष्ट्रपतिले आरोप लगाए–विश्व स्वास्थ्य संगठनले अमेरिकालाई बेलैमा जानकारी नदिएको र चीनलाई सहयोग गरेको । अमेरिकाले आगामी दिनमा अमेरिकाले  विश्व स्वास्थ्य संगठनलाई दिंदै आएको सहयोग कटौती गर्नेसम्मको चेतावनी दिएको छन्  । विश्व स्वस्थ्य संगठनले भने सबै मुलुकलाई कोरोनाबारे सचेत गराएको बताएको छ ।  

यसरी हेर्दा अमेरिकी राष्ट्रपतिको आरोपमाथि शंकाको प्रश्न उठाउन सकिन्छ । आशा राखौं  समय र कालखण्डमा कोरोना भाइरस प्रकृति सिर्जित या मानव निर्मित  पत्ता लागेरै छाड्ने छ ।  विश्वमा मानव जातिको अवस्था देख्दा मानव नै एक भाइरस हो । आधुनिकताको नाममा प्राकृतिक साधनको गलत दोहन, त्यसमा मान्छेको अराजकपन हेर्दा  जसरी डाइनोसरलगायत धेरै जीवहरू यस धर्तीधराबाट सदाका लागि विलयको बाटोतिर गए त्यसरी नै  मानव अस्तित्व नै भस्म हुनशुरू हुुँदै गएको संकेत त होइन ?  मान्छेलाई यस्ता   चिन्तन–मननले गम्भीर बनाउँदैछ ।

मान्छेको  घमण्ड र अहंकार  आज घरघरमा थुनिएको छ ।  जात, धर्म, वर्णका कुरा क्वारेन्टाइनमा थन्केको छ । गाउँ र शहरबीचको भेद सकिएको छ । गाउँ ज्यान बचाउने थलोमा स्थापित भएको छ ।  शहर अभावै अभाव झेलिरहँदा गाउँ स्वच्छ र समृद्ध छ भन्ने भान हुँदैछ । भौतिक सेवा सुविधाको कुनै पनि पर्वाह नगरी ज्यान कसरी जोगाउने भन्नेमा मान्छेहरू तल्लीन देखिन्छन्  । 

यतिखेर कति बाध्यताले त  कति रहरले  सुखी जीवन जिउने रहरमा देशबाट  टाढा छन् ।  तिनको आँखामा घर आँगनको तस्वीर मात्र छ । आमाको मायाबाट टाढा छन् । डायस्पोरा नेपालीहरूबारे सरकार के– के योजना बनाउँदैछ ? नेपाल आएका अन्य देशको नागरिकलाई वाइडवढी चडाएर उनीहरूको देशमा अवतर गराएको समाचार आउँदै गर्दा डायस्पोरिक नेपालीहरूको मन पनि जन्मभूमि र बाआमाको सम्झनाले सताइरहेको होला  ? यो सब भोग्नेलाई थाहा छ ।

अहिलेसम्म मानव सभ्यतालाई हेर्दा ठूलो  अनियमितता र उत्पीडनले मान्छे–मान्छेबीच ठूला ठूला खाडल भएको छ । कोरोना मान्छेलाई एकताको पाठ सिकाउन प्रकृतिले  उत्पति गराएको जैविक मिसाइल सावित भएको छ ।

सयौंको संख्यामा स्वास्थ्यकर्मीको कोरोनाका कारण ज्यान गयो । मन्त्रीले आत्महत्या गरे । राज परिवारका सदस्य नै कोरोना संक्रमणले मरे । यी  घटनाक्रम कहिलै नमेटिने इतिहास भएका छन् । के धनी के, गरीब, के राजा। के रंक सम्पूर्ण मानव जाति एक हुन् भन्ने सन्देश कोरोनाले  विश्वमा आजको अवस्थाबाट पुष्टि भएको छ ।

 नेपालमा जनताको सामाजिक उत्तरदायित्व र सरकारको निर्णयबीचको तालमेल खाएन भने नेपालमा कोरोनाले युरोपियन राष्ट्रहरू जस्तो भयावह स्थिति ल्याउँदैन भनेर अहिले नै भन्न सकिदैन । तर पनि सकारात्मक  मान्नु पर्ने पक्ष यो छ कि चीनको बुहानबाट शुरू भएको  कोरोना भाइरस विश्वमा  महामारी फैलाउँदै गर्दा चीनसँग सीमाना जोडिएको छिमेकी राष्ट्र नेपाल संक्रमणबाट अति न्यून तवरले संक्रमितको संख्या भेटिनुमा कतै यस रोग नेपालको दूरदराजतिर लुकेर बसेको त छैन ? भोलि नरसंहारकारी भएर निस्कने त होइन ? सतर्कता अपनाउनु पर्ने यहाँ छ ।

चिकित्सकको सल्लाह अनुसार पोषणयुक्त खाना खानु, मास्क प्रयोग गर्नु, अनावश्यक भिडभाडमा  नजानु, सेनिटाइजरको प्रयोग गर्नु, साबुन पानीले हात धुनु, कोरोनाको लक्षण देखा पर्दा तुरून्त स्वास्थ्य चौकी जानु, लकडाउनको पूर्ण पलना गर्नु नागरिकको आजको उत्तरदायित्व हो । यो परिस्थितिमा आ–आफ्नो ठाउँबाट आफ्नो उत्तरदायित्व पूरा गरौं ।

नेपालको वर्तमान अवस्था हेर्दा चीनसँग जोडिएका सीमाना भन्दा भारतसँग जोडिएको  सीमाना खतरा र  चुनौतिपूर्ण छ । भारतसँग जोडिएको खुल्ला सीमाना खुकुलो पारवहन व्यवस्था र हाल भारतमा देखिएको कोरोना संक्रमण बढ्दो अवस्थाले नेपाल भारतसँग जोडिएको सीमानादेखि बढी जोखिममा छ । परिवारको छाक टार्न र आफ्नो पेट पाल्नकै लागि रोजगारीका लागि भारत गएका हजारौं नेपाली सीमानामा क्वारेन्टाइनको नाममा एउटै कोठामा दशौं जना कष्टकर बसिरहेका छन् । 

यसरी सीमानामा बसेका नेपालीलाई नेपाल ल्याउँदा संक्रमण बढ्न सक्ने खतराबाट बच्न नेपाल सरकार र भारत सरकारले सहमति गरेर यसरी राखिरहँदा सीमानाको क्वारेन्टाइनमा बसेका नेपालीको उचित व्यवस्थापन गर्न जरूर छ । खुल्ला सीमानाका कारण भारतीय भूमिका नागरिक विभिन्न बहानामा सयौंको संख्यामा नेपाली भूमिमा प्रवेश गर्ने संख्या बढ्दो छ ।

यसको प्रभाव सुदूरपश्चिममा बढी देखिएको र बढी खतरा पनि सुदुरपश्चिम नै रहेको छ । यो घडीमा जनताको सेवाको नाममा  कमिसन, राहत वितरणको नाममा सस्तो लोकप्रियता, स्वास्थ्य सामाग्री खरिदको नाममा भ्रष्टाचार भएका समाचार बाहिर आइरहेको छन् । यस्ता खालका बिकृति विसंगतिले  समाज कोरोनाले  भन्दा जोखिम अवस्थामा  छ ।

आज सञ्चार माध्यमको हेडलाईन नै कोरोना  हुँदै गर्दा, स्वास्थ्यकर्मी अस्पतालमा, सुरक्षाकर्मी सडकमा र अन्य मान्छे घरभित्र बसेर कोरोनाविरूद्ध लडाई लडिरहँदा पृथ्वीमा जति पनि भयावह विनाशकारी प्रकोप  हुन्छन्, त्यसले मानव जातिलाई केही सिकाएर जान्छ । 

यस ज्ञानको सदुपयोग गरौैं, एक आपसमा आपसी सदभाव, माया र सहअस्तित्व कायम  गर्न कोरानाले पाठ सिकाई रहेको छ । हजारौं ऋषिमुनिहरूले वर्षाैको साधनाले जीवन  र जगत बुझे । त्यसकारण एकान्तबास साधनाको एक महत्वपूर्ण स्थान हो र यहाँबाट सिङ्गो जीवन र  जगत बुझ्न सकिन्छ । त्यसैले समयलाई  सकारात्मक रुपमा बुझ्नै पर्छ ।  सकारात्मक पक्षको समर्थन,  नकारात्मक पक्षको आलोचना नै बौद्धिक चेत हो । आज विश्वको सम्पूर्ण  विकासमा अवरोध  खडा भएको छ । 

सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक रूपमा   प्रत्यक्ष असर परेको छ । यस अवस्थालाई हेर्दा कोरोना परास्त पछि धनी झन धनी र गरीब झन गरीब हुने अवस्था आउँछ र गरीब राष्ट्रहरू र धनी राष्ट्रहरूबीच फराकिलो खाडल भएर विश्व आर्थिक मन्दीको चपेटामा फसेर फेरि बम बारूद, गोलीगठ्ठासहितको रक्तपातपूर्ण हिंसातिर विश्व फर्किदैन ? संयमित हुने र विश्व अर्थतन्त्रमा बहस गर्नुपर्ने विषय यहाँ देखिन्छ ।

विश्वका शक्तिशाली राष्ट्र स्वस्थ्य सामग्रीको अभावमा विरामी उपचार गर्न नसक्दा गुहार मागिरहेका छन् । बन्दाबन्दीको कारण गरीब राष्ट्रहरू चरम खाद्य असुरक्षा  झेलिरहेका छन् । यस्ता खालको खाद्य असुरक्षाले भोलि एकातिर मान्छे कोरोनाले मर्छ र अर्काेतिर भोकमरीले मर्छ । 

विश्वका देशहरूले कोरोना भाइरस परास्त  गर्न विकल्पबिहीन विकल्प लकडाउनको प्रयोग गरेका छन् । यसले गर्दा अत्यावश्यक सवारी साधन र अतिआवश्यक उत्पादन गर्ने उद्योगधन्दा बाहेक अन्य सबै बन्द छन् । यसका कारण तेल प्रशोधन केन्द्रहरूले तेल कम मात्रामा प्रशोधन गर्न थालेका छन् भने कतिपय प्रेट्रोलियम पदार्थ प्रशोधन केन्द्र बन्द गरिसकेको अवस्था छ । यस कारण  पेट्रोलियम पदार्थको भाउ घटेर सन् २००८ यताकै सबै भन्दा कम मूल्य भएको छ । 

चरम बेरोजगारी, चरम खाद्य अभाव, चरम आर्थिक मन्दीको कारण पूँजीवाद चरम विकासले विश्वमा हुनेखाने र हुँदाखाने बीचको खाडल अहिलेसम्मकै चरम हुन सक्दैन भन्न सकिदैन । अन्ततः विश्व द्वन्द्व कै बाटोमा लाग्ने सम्भावना अत्याधिक छ ।

कोरोना परास्तको लडाईंपछि अमेरिका विश्वको महान शक्ति नरहने निश्चित जस्तै छ भने चीनले हालको भन्दा धेरै गुणा माथि विश्व बजारमा आफ्नो पकड जमाउने निश्चित छ । यसकारण जबरजस्त बलजफ्ती शासन गरिरहेका पूँजीवादी अर्थ व्यवस्थाले समृद्धिको बाटो हिंडिरहेका मुलुकहरूलाई समाजवादी मुलुकहरूबाट गतिलो पाठ सिकाई हुनेछ । 

समाजवाद यस्तो व्यवस्था हो जसले समाजको लागि काम गर्छ । चीनले आफूमा भएको कोरोना चरम संकट एक्लै टार्दै इटाली अमेरिकालगायतका युरोपका राष्ट्रहरूलाई चिकित्सकीय सहयोग गरिरहेको छ । अझ समाजवादी शासन व्यवस्था अंगालेको सानो मुलुक क्युवाले कोरोना संकटलाई सजिलै सामना गर्दै संकटमुक्त भएर  युरोपेली राष्ट्रहरूलाई चिकित्सकीय सयोग गरिरहेको छ । क्युवाको चिकित्सक प्रविधि विश्वको उच्चस्तरीय छ ।

सरल तरिकाले हेर्दा पूँजीवादी  राज्यहरू नाफाका लागि सहयोगदेखि निर्मम मान्छेको हत्यासम्म गर्दाेरहेछन् भने समाजवादी राष्ट्रहरू निःस्वार्थ मानव सेवा गर्दाेरहेछन् भन्ने फरक देख्न सकिन्छ । आगामी समयमा नेपाल जस्तो विकासोउन्मुख देश जहाँ कुन शासन व्यवस्था हो भन्ने स्पष्ट बाटो नदेखिएको बेला  पूँजीवाद र  समाजवाद कस्तो शासन व्यवस्था अपनाउने भन्ने कुरा बहसको बिषय बनेको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७