कोरोनाको ‘हटस्पट’ प्रदेश-१ मा पिपिइ जति जनप्रतिनिधिले लगे, स्वास्थ्यकर्मी ‘रित्तै’


१९ बैशाख २०७७, शुक्रबार
ppe

विराटनगर, १९ बैसाख । नेपालमा कोरोनाको ‘हटस्पट’ का रुपमा देखिएको प्रदेश नं १ का जिल्ला अस्पतालहरुमा व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) अभाव भएको छ ।

ती जिल्लाका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) हरुले प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेसँग बिहीबार साँझको भिडियो संवादमा उक्त समस्या अवगत गराएका हुन् ।
प्रदेश सरकारबाट प्राप्त पिपिइ पर्याप्त नभएको र स्थानीयस्तरबाट व्यवस्थापन भएको पिपिइ सकिएकोे उनीहरुको गुनासो छ । प्रदेश–१ मा नेपालकै सबैभन्दा धेरै ३२ कोरोना संक्रमित रहेका छन् ।

जिल्लामा कोरोना सङ्क्रमितको संख्यामा वृद्धि भएको अवस्थामा पिपिइको अभावले उपचार कार्यका समस्या उत्पन्न हुने उनीहरुले बताएका छन् । उनीहरुले प्रदेश सरकारले तत्काल पिपिइको व्यवस्था गर्न माग गरेका छन् ।

मेसुहरुले अस्पतालमा आकस्मिक, फिवर क्लिनिकसँगै नियमित सेवा पनि सञ्चालनमा रहेको बताउँदै विकास समितिबाट नियुक्त भएका र करारका स्वास्थ्यकर्मीलाई प्रदेश सरकारबाट प्रोत्साहन भत्ता उपलब्ध गराउन आग्रह गरेका छन् ।

इलाम जिल्ला अस्पतालका मेसु डा. प्रमोद साहले पिपिइको अभावका बीच आफूहरुले सेवा दिइरहेको बताए । उनले विदेशलगायत अन्य जिल्लाबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा राखिएको जानकारी दिँदै कोभिड–१९ का लागि छुट्टै एम्बुलेन्सको व्यवस्था गरिएको बताए ।

पाँचथर जिल्ला अस्पतालका मेसु डा. बुद्धिबहादुर थापाले पिपिइ, एन–९५ मास्क अभाव भएको चर्चा गर्दै आवश्यक जनशक्ति र बजेटको अभाव भएको सुनाए ।

ताप्लेजुङ अस्पतालका मेसु डा. सनि लामाले अस्पतालमा दरबन्दी कम भएको बताउँदै अन्य जिल्ला अस्पताल सरह सेवा दिए पनि दरबन्दी कम भएको गुनासो गरे । जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष घनेन्द्र मादेनले कोभिड–१९ को व्यवस्थापनका लागि दैनिक काम भइरहेको बताए ।

भोजपुर जिल्ला अस्पतालका निमित्त मेसु डा. पवित्रा श्रेष्ठले जिल्लामा आरडिटी किटको अभाव भएको गुनासो गर्दै पिपिइ आफँ व्यवस्थापन गरेर काम चलाइरहेको बताइन् । उनले जिल्लामा सङ्क्रमित बढेमा पिपिइ अभाव हुने जानकारी दिइन् ।

सोलुखुम्वु जिल्ला अस्पतालका निमित्त मेसु सोनु शेर्पाले अस्पतालमा एम्बुलेन्स नहुँदा बिरामीलाई उपचारका लागि ल्याउन र लैजान समस्या भएको बताउँदै अस्पतालमा सवारी साधन व्यवस्थाका लागि आग्रह गरिन् ।

ओखलढुङ्गा र धनकुटा जिल्ला अस्पतालका मेसु डा. सन्तोष देव र पुजन विश्वकर्माले पिपिइ र एन–९५ मास्कको अभाव रहेको गुनासो गर्दै सबै स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्न माग गरे ।

सुनसरी जिल्ला अस्पतालका मेसु डा. सन्तोष राईले अस्पतालले नियमितरूपमा थ्रोट स्वाब सङ्कलन, फिवर क्लिनिक र मोबाइल क्लिनिक सञ्चालन गरिरहेको तर पिपिइ अभाव रहेको बताए । मेची अस्पतालका मेसु पिताम्वर ठाकुरले आइसोलेसनमा रहेका बिरामीका लागि खाना खर्चको समस्या रहेको गुनासो गरे ।

जनप्रतिधिले पिपिइ लगाएर हिंड्दा समस्या
सामाजिक विकासमन्त्री घिमिरेले प्रदेश सरकार र स्थानीय तहबाट उपलब्ध भएको पिपिइ वितरण भइसकेको जानकारी दिंदै शङ्कास्पद बिरामी वृद्धि भएमा पिपिइको कुनै अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले प्रदेश सरकारले पठाएको पिपिइको सही सदुपयोग नभएको गुनासो व्यक्त गर्दै स्वास्थ्यकर्मीभन्दा जनप्रतिधिले पिपिइ लगाएर हिँड्दा समस्या उत्पन्न भएको बताए ।

मन्त्री घिमिरेले पिपिइको अभाव जिल्लामा मात्रै नभएर प्रदेश र केन्द्रमा पनि रहेको चर्चा गर्दै शक्तिशाली देशमा पनि पिपिइ अभाव रहेको बताए । प्रदेश सरकारले पिपिइ न्यूनतम रूपमा व्यवस्थापन गरेको छ भन्दै कसले कस्तो पिपिइ लगाउने भनेर नबुझ्दा पनि समस्या उत्पन्न भएको उनले बताए ।

कोरोनाको त्रासका वीचमा पनि अस्पतालले अत्यावश्यकीय सेवासँगै नियमित सेवा र फिवर क्लिनिक सञ्चालन गरेकामा धन्यवाद दिँदै शुरुवातका दिनमा कोरोनाको आतङ्क स्वास्थ्यकर्मीमा देखिए पनि अहिले त्यो त्रास हटेर गएको अनुभव उनले सुनाए ।

सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थले कर्मचारी, स्वास्थ्य सामग्री अभावका विषयमा ध्यानाकर्षण भएको बताउँदै थप जनशक्ति तत्काल व्यवस्थापन गर्न आवश्यक भएको जानकारी दिए ।

हालसम्म प्रदेश नं १ मा आरडिटी र पिसीआर प्रविधिबाट आजसम्ममा छ हजार ३७७ जनाको कोरोना भाइरसको परीक्षण भएको छ । परीक्षण गरिएकामध्येमा पाँच हजार ७६ जनाको रिर्पोट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सूचना कक्षले जनाएको छ ।

कोरोना सङ्क्रमित ३१ जना केही दिनदेखि यथावत रहेको बताइएको छ । कक्षका अनुसार ल्याबमा स्वाब लगेर गरिने परीक्षण (पिसीआर) बाट एक हजार २८८ मा कोरोना भए–नभएको परीक्षण भएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनस्थलमा बस्नेको सङ्ख्या बिहीबारसम्म कूल दुई हजार ३३७ पुगेको छ भने ३० डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३९ जना छन् । होम क्वारेन्टाइनमा जम्मा छ हजार १९९ बसिरहेको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७