समुदाय नै कोरोनाको जोखिममा


२२ बैशाख २०७७, सोमबार
korrona nepaljuange

काठमाडौं, २२ बैसाख । बाँकेको नेपालगञ्जमा एकै दिन १५ जना संक्रमित भेटिएपछि कोरोना तेस्रो चरणतर्फ उन्मुख देखिएको छ ।

विज्ञका अनुसार बाहिरी देशबाट आएको व्यक्तिमार्फत स्थानीयमा कोरोना सरेर समुदाय नै प्रभावित भएको अवस्थालाई तेस्रो चरण मानिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा चैत २२ गते संक्रमण दोस्रो चरण अर्थात् स्थानीयमा प्रवेश गरेको घोषणा गरेको थियो । संयुक्त अरब इमिरेट्स (यूईए) को दुबईबाट फर्किएका कैलालीका संक्रमित युवाकी भाउजूमा पोजिटिभ देखिएसँगै संक्रमण दोस्रो चरणमा पुगेको थियो ।

संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्यूँ गर्दा नाक तथा मुखबाट निस्किने छिटाको माध्यमबाट सर्ने कोरोना जोखिम समुदायमा पुगेको छ । यस विषयमा मन्त्रालयका अधिकारीले केही बताएका छैनन् ।

मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले नेपालगञ्जमा फैलिएको संक्रमणको अवस्था तेस्रो चरणतर्फ प्रवेश गरेको संकेत रहेको बताए । ‘धेरैको परीक्षण हुन बाँकी रहेकाले संक्रमण समुदायमा पुगेको संकेत छ’, उनले भने, ‘केही दिनमा पुष्टि त होला ।’

सीमावर्ती नेपालगञ्जमा सात वर्षकी बालिकादेखि ५८ वर्षसम्मका व्यक्तिमा आइतबार कोरोना पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले तीमध्ये ८ पुरुष र ७ जना महिला रहेको जानकारी दिए ।

नेपालगञ्जकै मदरसामा पढाउँदै आएका एक शिक्षकको परीक्षण गर्दा शुक्रबार पोजिटिभ देखिएको थियो । संक्रमित सबैको पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षण भेरी अञ्चल अस्पतालमा गरिएको थियो ।

६० वर्षीय ती शिक्षकको लापरवाहीबाट अन्यमा पनि संक्रमण भएको ‘कन्ट्याक्ट टे«सिङ’ र ‘ट्राभल हिस्ट्री’ खोजबिनमा संलग्न स्वास्थ्य सेवा विभागका एक अधिकारीले बताए । सरकारले चैत ११ गतेदेखि लकडाउन गर्दै आए पनि उनले घर–घर पुगेर पढाउँदै आएका थिए ।

ती शिक्षक दुई महिनाअघि भारतको रुपैडिहा हुँदै नेपालगन्ज आएका थिए । प्रदेश ५ मा १० हजार ६ सय ६७ जना अझै क्वारेन्टाइनमा छन् । मुलुकभरमा संक्रमितको संख्या ७५ पुगेको छ । यीमध्ये १६ जना निको भएर घर फर्किएका छन् । यसअघि वैशाख दोस्रो साता उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा पनि एक साता अवधिमा २८ जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्यकर्मीको मनोबल उच्च बनाऔं : मन्त्री ढकाल

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनुपर्ने बताएका छन् । ‘स्वास्थ्यकर्मीको अगुवाइमा कोरोना भाइरसविरुद्ध लडाइँ लडिएको छ’, मन्त्रालयमा आइतबार स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले भने, ‘त्यसैले चिकित्सक, नर्सलगायतको मनोबल उच्च बनाउन सबै लाग्नु पर्छ ।’

अभावका बेला विभिन्न संस्थाले उपलब्ध गराएको स्वास्थ्य सामग्रीले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई मनोबल बढाउन सहयोग पुगेको भन्दै उनले आभार व्यक्त गरे। सेभ द चिल्ड्रेनले दिएको सामग्रीले सरकारलाई स्वास्थ्य सेवा सुदृढीकरण गर्न र स्वास्थ्यकर्मीलाई संक्रमण रोक्न सहयोग पुग्ने उनको धारणा थियो ।

सेभ द चिल्ड्रेनले १ हजार ७ सय ४३ सेट व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो । इन्फ्रारेड थर्मोमिटर, एन–९५ मास्क, कार्डिआक मोनिटर, इलेक्ट्रिक सक्सन मेसिन, ईसीजी मेसिनलगायत उपलब्ध गराएको सेभ द चिल्ड्रेनकी अन्तरिम राष्ट्रिय निर्देशक बन्दना रिसालले सुनाइन् । थप २ हजार पीपीई खरिद प्रक्रियामा रहेको उनको भनाइ थियो । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७