कोरोनाबाट भूपू गोरखा सैनिकको मृत्यु, पूर्व बेलायती राजदूत बेपत्ता


२८ बैशाख २०७७, आईतवार
londong

लण्डन, २८ बैशाख । कोरोनाको सङ्क्रमणबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको मृत्यु भएको छ ।

श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा शनिबार निधन भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिए ।

ताप्लेजुङ मैवाखोला स्थायी घर भएका राई विगत तीन वर्षदेखि बेलायतको मेडिस्टोनमा श्रीमती, एक छोरा र एक छोरीसहित बस्दै आएका थिए । हालसम्म बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ४५ पुगेको छ ।

नेपालका लागि पूर्व बेलायती राजदूत बेपत्ता
नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिस बुधबारदेखि बेपत्ता भएका छन् । लण्डन प्रहरीले मोरिस हराएकाले खोजीका लागि अपिल गरेको छ । बुधबार बिहान करिब १०ः३० मा दौडिनका लागि बेन्टलीमा निस्किएका मोरिस नफर्केपछि प्रहरीले खोजी कार्य शुरु गरेको छ ।

हेम्पसायर प्रहरी कार्यालयका प्रवक्ताले प्रहरीले खोजीकार्य गरिरहेको भए पनि सार्वजनिक रूपमा खोजीका लागि सबैमा अनुरोध गर्नुपर्ने भएका कारणले सूचना जारी गरिएको बताए । ५२ वर्षीय रिचार्डले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७