भारतमा डेढ महिनापछि आज १५ रेल विभिन्न शहरका लागि छुट्दै


३० बैशाख २०७७, मंगलवार
train 1

नयाँदिल्ली, ३० बैशाख । भारतमा आज (मंगलबार) देखि रेल सेवा पुनः सञ्चालनमा आउने बताइएको छ । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि भारत सरकारले बन्द गरेको रेलसेवा झण्डै डेढ महिनापछि आजबाट सञ्चालनमा आएको हो ।

यसअघि भारतका विभिन्न स्थानमा खाद्यान्न तथा अन्य सामान ढुवानीका लागि रेलसेवा आंशिक रुपमा सञ्चालनमा थियो तर यात्रुबाहक रेल भने पूर्ण रुपमा बन्द गराइएको थियो ।

रेल सेवाका लागि सोमबार अपराह्न ४ बजेदेखि नै अनलाइन बुकिङ खुलेको थियो । तर रेलवे सेवाका काउन्टरहरूबाट भने टिकट किन्न नपाइने व्यवस्था गरिएको छ । काउन्टरमा भीडभाड हुने भएकोले अनलाइनबाटै टिकट किन्न पाइने अधिकारीहरूले जानकारी गराएका छन् ।

रेलका मजदुरहरुले रेल सेवा पुनः सञ्चालनका लागि पहिल्यै देखि सरकारलाई आग्रह गर्दै आएका थिए । सोही बमोजिम सरकारले मंगलबारदेखि सो सेवाको सुरुवात गरेको बताएको छ ।

भारत सरकारका अनुसार मंगलबार नयाँ दिल्लीबाट १५ वटा रेल देशभरका मुख्य रेलवे स्टेसनका लागि छुट्ने बताइएको छ । नयाँ दिल्लीबाट अगरताला, होरह, पटना, विलासपुर, राँची, भुवनेश्वर, सिकन्दरावाद, बैंगलुरू, चेन्नाइ, थिरूवानानुथपुरम, मदगाउँ, मुम्बई सेन्ट्रल, अहमदावाद र जम्मुतावीका लागि रेलसेवा उपलब्ध हुनेछ ।

यी सबै रेलवे स्टेसनमा यात्रुहरूको स्वास्थ्य जाँच गरिने र स्वास्थ्य परीक्षणमा कोभिड १९ को कुनै लक्षण देखिएमा उनीहरूलाई रेलमा प्रवेश गर्न नदिइने तथा सबै यात्रुले अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्ने बताइएको छ ।

यसरी सञ्चालनमा आएका रेलहरुमध्ये केही दैनिक र अरु केही साप्ताहिक रुपमा सञ्चालनमा आउने व्यवस्था गरिएको छ । यहाँको रेलसेवा मन्त्रालयले कोभिड १९ का विरामीका लागि यो सेवा बन्देज लगाएको छ ।

हरेक रेल स्टेसनको बाहिरै स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको छ भने रेलमा प्रवेश गर्ने सबैले मास्क अनिवार्य रुपमा लगाउनुपर्ने नियम बनाइएको भारतको रेलसेवा मन्त्रालयले जानकारी दिएको छ ।

उता भारतमा कोभिड १९ का संक्रमितहरुको संख्या भने बढ्दो देखिएको छ । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या मंगलबार बिहानसम्म ७० हजार नाघेको समाचारमा जनाइएको छ ।

मंगलबार बिहान जनाइएअनुसार यहाँ कोभिड १९ बाट संक्रमित व्यक्तिको संख्या ७० हजार ७५६ जना पुगेको छ । यहाँ गत २४ घण्टामामात्र थप ३ हजार ६०५ जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । रासस–एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७