विश्वमा एकै दिन थपिए ८५ हजार नयाँ कोरोना संक्रमित, ५३ सय बढीको मृत्यु


३१ बैशाख २०७७, बुधबार
153255 01 02 1

काठमाडौं, ३१ बैशाख । केहि दिनदेखि केहि ओरालो लागेको विश्वमा कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या फेरि बढ्न थालेको छ ।

विश्वमा कोरोना केहि नियन्त्रणमा आएको तथ्याङ्कले खुशी तुल्याइरहेका बेला फेरि मृत्तकको संख्या बढेपछि विश्वलाई फेरि निरास बनाएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट पाँच हजार ३१३ जनाले ज्यान गुमाएका छन् ।

यसबीचमा विश्वभर ८५ हजार २११ जना नयाँ सक्रमित थपिएको वल्र्डओमिटरले जनाएको छ । आज (बुधबार) बिहानसम्ममा कोरोना संक्रमणबाट हालसम्म विश्वभर दुई लाख ९२ हजार ४४४ मानिसको ज्यान गएको छ । संक्रमितको संख्या ४३ लाख ३७ हजार पाँच सय एक पुगेको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा एक हजार ६२३ जनाले कारोना संक्रमणबाट ज्यान गुमाएका छन् । सोमबार अमेरिकामा मृत्यु र संक्रमण दर केही घटेको देखिए पनि मंगलबार फेरि बढेको छ । मंगलबार अमेरिकामा २२ हजार ६ सय भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

सोमबार अमेरिकामा यसको संक्रमणबाट ९९९ जनाको मात्रै मृत्यु भएको थियो ।
अमेरिकामा अहिलेसम्म मृतकको संख्या ८३ हजार ४१८ पुगेको छ भने संक्रमितको संख्या १४ लाख ८ हजारभन्दा धेरै पुगेको छ ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा ७७९ जनाले ज्यान गुमाएका छन् । बेलायतमा गएको २४ घण्टामा संक्रमणबाट ६२७ जनाको कोरोनाबाट मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म मृतकको संख्या ३२ हजार ६९२ र संक्रमितको संख्या २ लाख २६ हजारभन्दा धेरै पुगेका छ ।

गएको २४ घण्टामा फ्रान्समा ३४८ जना, स्पेनमा १७६, रुसमा १०७, इटालीमा १७२, क्यानाडामा १७६, मेक्सिकोमा १०८, इक्वेडरमा १८२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

रुसमा हिजो एकै दिन झण्डै ११ हजार नयाँ संक्रमित थपिएका छन् । त्यसैगरी ब्राजिलमा ८ हजार भन्दा धेरै संक्रमित थपिएका छन् ।

छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२१ जनाको मृत्यु भएको छ । त्यहाँ हिजो एकै दिन ३५ सयभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ सय नाघेको छ भने संक्रमितको संख्या ७४ हजार नाघेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७