मकाउ क्यासिनोका बादशाह स्टान्लेको निधन, यस्तो अनौठो थियो स्टान्लेको जीवन


प्रकाशित मिति : 26 May, 2020 4:12 pm

हङकङ, १३ जेठ । चीनमा आधुनिक क्यासिनाका पिता भनेर चिनिने मकाउका क्यासिनो बादशाह स्टान्ले हो को मंगलबार हङकङमा निधन भएको छ । उनी ९८ वर्षका थिए ।

यी अर्बपति क्यासिनो लगानीकर्ता स्टान्लेको मकाउका क्यासिनोमा झण्डै चार दशक एकछत्र साम्राज्य थियो । उनले मकाउलाई क्यासिनोमा एसियाकै उत्कृष्ट गन्तव्य बनाउन प्रमुख भूमिका खेलेका थिए ।

उनी पूर्व पोर्चुगाली उपनिवेश मकाउकै सर्वाधिक धनी व्यक्ति हुन् । उनको चीन र हङकङमा समेत ठूलै प्रभाव थियो, तर अमेरिकी अधिकारीहरुका अनुसार स्टान्लेको सम्बन्ध र सम्पर्क संगठित अपराधी समूहसँग पनि रहेको थियो ।

अग्ला, निकै आकर्षक र चिनियाँ तथा युरोपेली शैली सम्मिश्रण भएका स्टान्लेका चार जना पत्नीबाट १७ जना छोराछोरी जन्मेका थिए । तर स्टान्ले आफैंले भने क्यासिनो नखेलेको विश्वास गरिन्छ ।

एसोसिएटेड प्रेसले सन् २००१ मा लिएको अन्तर्वार्तामा स्टान्लेले भनेका थिए, ‘म जुवा खेल्दिनँ । मलाई त्यति धैर्य नै हुँदैन । यस्ता खेलबाट पैसा कमाउने आशा पनि गर्नु हुँदैन । यो घरभित्र खेलिने खेल हो, र यो घरभित्रै सीमित हुन्छ ।’

स्टान्लेले क्यासिनोजस्ता मनोरञ्जन उद्योगदेखि हेलिकप्टर सेवा, होटल, डिपार्टमेन्ट स्टोर, मकाउको विमानस्थल र घोडादौड कोर्समा लगानी गरेका थिए ।

उनको सन् २००९ मा मस्तिष्कको शल्यक्रिया गरिएको थियो, र त्यसपछिका दिनहरुमा उनी अक्सर ह्वीलचेयरमा सार्वजनिक समारोहमा देखिने गर्थे । पछिल्ला दिनहरुमा उनी आफ्ना सन्तानलाई सम्पत्तिको बाँडफाँडका विषयमा तनाबमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्