गाई मार्दा पाप लाग्छ भन्नेहरूलाई मान्छेको निर्मम हत्या गर्दा पाप लाग्दैन ?


१३ जेष्ठ २०७७, मंगलवार
suman bh

विभेद शून्य हुन्छ । विचारहरूमा सम्झौता हुन्छ । त्यसैले प्रेम सोंचे भन्दा सुन्दर हुन्छ । प्रेमको अन्त्य र मान्छेको भावनाको कुनै गन्तव्य हुँदैन । प्रेमी–प्रेमिकाहरू गन्तव्यहीन यात्रीहरू हुन । प्रेमको दुनियाँमा उनीहरू स्वतन्त्र हुन्छन् । तर समाज निर्मित मानकको हतियारले धेरै प्रेमिल जोडीहरूको कायरतापूर्ण हत्या गरिन्छ ।

तिनीहरूको छाला काढेर धर्म संस्कार छल्ने छल्की बनाइन्छ । प्रेम, धर्म, संस्कार भन्दा उच्च चेत हो । धर्म, संस्कारले निर्माण गरेको कथित हिन्दु उच्च जातीय दम्भ गैरमान्छेहरूको आहारा हो । नवराज विश्वकर्मा र ठकुरी थरकी एक किशोरी बीचको प्रेम सम्बन्धलाई लिएर नवराज विश्वकर्मालगायत दुई जनाको निर्मम हत्या र अन्य तीन जना बेपत्ता बनाइएको घटना जति भत्र्सना गरे पनि कम नै हुन्छ ।

यो घटना देखिएको घटना हो । यस्ता खालका धेरै घटनाको सत्य तोडमोड गरिएको इतिहास साक्षी छ । यो समय प्रत्येक सचेत मान्छे आफ्नो गिदीलाई नै बम बनाएर हिन्दु उच्च जातीय दम्भ ध्वस्त बनाउन लाग्नै पर्छ । आखिर विभेद कहिलेसम्म ?

कोरोनाले विश्वका मान्छेको धर्म, संस्कार क्वारेन्टाइनमा थुनिदिएको बेला नेपालमा भने दिन प्रतिदिन धर्म, संस्कार बचाउने कुसंस्कारले हत्या हिंसा मौलाउँदो छ । विश्वव्यापी नोवेल कोरोना भाइरसले मान्छेको चेत फर्कायो भन्दै गर्दा हाम्रो समाजमा निर्मम गैरमानवीय घटनाहरू हुनु भनेको नेपाली समाजको चेतनास्तर कहाँ छ भन्ने कुराको कसी हो ।

कोरोना कहरको कारण मान्छे भोकभोकै मर्दै गर्दा पूर्वको पाँचथरदेखि पश्चिमको रूकुमसम्म हिन्दु उच्च जातीय पराकाष्ठाको उपज गैरमानवीय घटना घटिरहेका छन् । आश्चर्यलाग्दो कुरा त यहाँ छ कि यस्तो गैरमानवीय घटनामा जनप्रतिनिधिको नाम जोडिएर आएको छ । यसरी हेर्दा हाम्रो समाजको राजनीतिक सचेतता हिन्दु संस्कारमा जगडिएको छ र वर्णवादी शासन व्यवस्थाबाट प्रशिक्षित छ । कहाँबाट आयो वर्ण व्यवस्था र किन समाजबाट हट्दैन ?

दक्षिण एसियामा करिव ४५ सय बर्षअघि जात व्यवस्था शुरू भएकोे मान्न सकिन्छ । जात व्यवस्थाको उद्गम विन्दु ऋग्व वेद हो । जहाँ एक विराट पुरूष ब्रह्माको परिकल्पना गरिएको छ । जसको मुखबाट ब्राह्मणको उत्पत्ति भयो ब्राह्मणको काम पठनपाठन अर्थात यज्ञ गर्ने ।

हातबाट क्षेत्रीको उत्पति भयो क्षेत्रीको काम अर्थशास्त्र र राज्य सञ्चालन गर्ने, तिघ्राबाट वैश्यको उत्पति भयो जसको काम खेतीपाति गर्ने । पैतालाबाट शुद्रको जन्म भयो जसले माथिका तिनै वर्णको सेवा गर्नु पर्ने भनेर किटान गरियो ।

सयौं बर्षसम्म वर्ण व्यवस्था छुवाछुतसहितको बनाइएन कालान्तरमा छुवाछूतसहितको वर्ण व्यवस्था निर्माण गरियो । छुवाछूतसहितको वर्ण व्यवस्था करिव ३५ सय बर्ष अघिदेखि सुरूवात भएको मान्न सकिन्छ । नेपालमा वर्ण अर्थात् जात व्यवस्था प्रवेश एकै पटक भएन किस्ता वन्दीमा प्रवेश गर्‍यो ।

छुवाछूतसहितको वर्णव्यवस्था गौतमबुद्ध कालभन्दा अगाडि नै तराईमा आएको प्रमाणित छ । भने क्रमशः छैटौं शताब्दीदेखि ११ औं शताब्दीसम्म छुवाछूतसहितको वर्ण व्यवस्था नेपाल प्रवेश गरेको इतिहास छ ।

छुवाछूतसहितको जात व्यवस्थाले काठमाडौ उपत्यकामा सबै भन्दा पहिले पूर्णता पायो भने गोरर्खाका राजा राम शाहले भारतबाट ५ ब्राह्मण ल्याएर चार वर्ण ३६ जात स्थापना गरे । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा पूर्वको राई, लिम्बूसम्म वर्ण व्यवस्था ल्याएर लागू गरे अनि घोषणा गरे नेपाल चार वर्ण ३६ जातको साझा फूलबारी हो । त्यसताका रोपिएको जातको कलंक आज रक्तपातपूर्ण हिंसामा परिणत भएको छ ।

हाल आएर वर्ण अर्थात जात व्यवस्थाको सिकार भइरहेको दलितहरू धर्म परिवर्तनको बाटोमा छन् । के धर्म परिवर्त नै मुक्ति हो ? मुक्ति पटक्कै होइन । जो कथित उच्च जातीय अंहकारले समाजको उच्च ओहोदाको वाणी छाट्छ । हत्या हिंसा गर्नु हुँदैन भन्छ तर, मन्दिर प्रवेशमा रोक लगाउँछ ।

धर्म, संस्कार संरक्षणको नाममा मान्छेको हत्या गरेर छाला काढेर धर्म, संस्कार संरक्षण गर्ने ओत बनाउँछ । धर्म, संस्कारसँग तुलना नै गर्न नसक्ने उच्च चेत हो प्रेम त्यहि प्रेमको निर्मम हत्या गर्छ । यो जटिलता मान्छेको मस्तिष्कमा हावी भइरहँदा । कुविचारले निर्देशित गरेको ब्यवहार जबसम्म परिवर्तन हुन सक्दैन । तबसम्म उपेक्षितहरूको मुक्ति सम्भव छैन ।

दलित समुदाय अज्ञानी, अशिक्षित छन् यो भनाई उच्च हिन्दु अंहकारवादले निर्माण गरेको हो । एक पंक्ति समाजलाई टुक्रा टुक्रामा विभाजन गरेर शोषण, दमन र उत्पीडन खडा गर्दै मान्छेलाई दास बनाउने कुकर्म, हत्या, हिंसा र अत्याचार गरेर लुटेर खाने स्वभावले समाज ध्वस्त बनाइएको छ । यहि समाजमा एउटा पसिनाको सुगन्ध, श्रम र सिर्जनाले समाजलाई सुन्दर बनाउदै आएको शुद्र अर्थात् वर्तमानका दलित समाजका कुपात्र होइनन् समाजका सौन्दर्य हुन् ।

रूकुममा अन्तर जातीय विवाह असफल बनाउन हत्याको कायरतापूर्ण बाटो रोजियो । यो जात व्यवस्थाको चरम अवस्था हो । हिजो व्यवस्था परिवर्त गर्छाै भनेर दलित समुदायलाई संगठित गर्दै युद्धमा खटाइयो । आफ्नो मुक्तिका लागि दलितहरू युद्धको अग्रमोर्चमा खटिए । रगत बगाए, वीरगति प्राप्त गरे, अंगभंग भएर व्यवस्था परिवर्तन भयो ।

अरू सबै शासन व्यवस्थाको मालिक भए तर दलितहरू मुक्तिका लागि अझै रगत बगाईरहेका छन्, ज्यान आहुति दिरहेका छन् । दलितहरूले त्यस समय रगत बगाएर ज्यान बलिबेदीमा चढाएर निर्माण गरेको वर्तमान स्थानीयदेखि केन्द्रिय सरकार हो । स्थानीय सरकार दलित समुदायबाट प्रतिनिधित्व गर्ने महिला सदस्यलाई आफ्नो निर्णयमा ताली बजाउन राखेर आफू धर्म, संस्कारको खोल ओढेर हिन्दु उच्च जातीय हमला गर्छ भने, केन्द्रिय सरकार दलित मुक्तिको सवालमा लाचार छ ।

सरकारी जागिरको समावेशी कोटा सबै काटेर आधारभूत तहसम्म अनिवार्य संस्कृत पढ्न बाध्य बनाउनै ३ हजार ३५ सय संस्कृत भाषाको शिक्षक नियुक्ति गर्ने योजना बनाउँछ । सरकारले कसलाई समृद्ध बनाउँदैछ नेपाली दलित मुक्ति आन्दोलले हेक्का राख्ने छ । अन्त्यमा एउटै प्रश्न छ–गाई मार्दा पाप लाग्छ भन्नेहरूले, मान्छेको निर्मम हत्या गर्दा पाप लाग्दैन ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७