कोभिड–१९ नियन्त्रणमा सेना परिचालन, सेनाले के–के गर्छ ?


२० जेष्ठ २०७७, मंगलवार
Nepali Army
फाइल फोटो

काठमाडौं, २० जेठ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवास पुगेर कोभिड–१९ नियन्त्रणका निम्ति सेना परिचालन गर्ने सरकारको निर्णय अवगत गराएका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँगको भेटमा पछिल्लो राजनीतिक गतिविधि, सरकार सञ्चालन र कोभिड–१९ को कारण देखा परेको असहज अवस्थाबारे जानकारी दिएका हुन् । ‘उहाँहरूबीच सरकार सञ्चालन, समसामयिक विषयवस्तु र घटनाक्रमबारे छलफल भएको हो ।

सरकार सञ्चालन र पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीले रिपोर्टिङ गर्नुभएको हो,’ राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले भने, ‘यो नियमित ब्रिफिङ र भेटघाटको सिलसिला हो । सञ्चार माध्यममा सेना परिचालन र अन्य विषयमा जानकारी दिन प्रधानमन्त्री आउनु भएको भनिए पनि त्यसप्रकारको छलफल भएको जानकारी छैन ।’

विपदमा मन्त्रिपरिषद्ले सेना परिचालन गर्न सक्ने संवैधानिक व्यवस्था छ र त्यहीअनुसार सेनाकै छाउनीमा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) पनि स्थापना भएको हो ।

विदेशबाट फर्कने र प्रभावित क्षेत्रमा सेना परिचालन गर्ने सरकारले जनाइसकेको छ । यो विषय मन्त्रिपरिषद्बाट शनिबार सीसीएमसीले तयार गरेको कार्ययोजना पनि पारित भइसकेको छ । त्यहीअनुरूप काम हुने सरकारले कार्ययोजना सार्वजनिक गरिसकेको छ ।

कोभिड १९ का लागि सेना पहिलेदेखि कार्यरत भए पनि सेना परिचालन गर्ने भन्ने निर्णय शनिबार मन्त्रिपरिषद् बैठकपछि सुनाएको र तेस्रो दिन प्रधानमन्त्री ओली शीतल निवास पुगेपछि अनेकन अड्कल भएको बालुवाटार स्रोतले बतायो । प्रधानमन्त्री ओली आफ्ना सुरक्षा अधिकारीहरूसँग शीतल निवास पुगेको र करिब डेढ घण्टापछि बालुवाटार फर्किएको उनको सचिवालयले जनाएको छ ।

विकास निर्माण र विपद्बाहेक अन्य कुनै अवस्थामा सेना परिचालन गर्नुपरेको खण्डमा मात्र सुरक्षा परिषद्बाट पारित गर्दै त्यसलाई मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्छ । मन्त्रिपरिषद्को निर्णय राष्ट्रपतिबाट अनुमोदन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसका लागि औपचारिक पत्राचार आवश्यक पर्छ तर त्यस्तो कुनै पत्राचार नभएको प्रमुख स्वकीय सचिव डा. अधिकारीले बताए ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले ‘नियमित भेट र छलफल होला, अरु औपचारिक प्रस्तावबारे कुनै त्यस्तो जानकारी नभएको’ बताए ।

प्रतिनिधिसभा संसद्मा सरकारले कोभिड १९को नाममा सेना परिचालन गरेको विषयमा प्रश्न उठाइएको छ । लकडाउनमा जनता राखेर कोभिडको नाममा सेना परिचालन गर्दै लोकतन्त्र कमजोर बनाउने पथमा सरकार लागेको समेत भनेका छन् । नागरिकलाई त्रसित पार्ने होइन, सेवा दिने हो भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण समेत गरेका छन् ।

जेठ १७ को मन्त्रिपरिषद् बैठकले विदेशबाट आएकालाई र जोखिम बढेको ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको थियो । संविधानको (सेना परिचालनसम्बन्धी भाग २८) धारा २६७ (४) मा नेपाल सरकारले सेनालाई संघीय कानुनबमोजिम विकास निर्माण र विपद् व्यवस्थापनलगायत अन्य कार्यमा समेत परिचालन गर्न सकिने व्यवस्था छ ।

व्यवस्थाअनुरूप सामान्य जानकारीबाहेक अनुमोदन राष्ट्रपतिबाट गर्नुपर्ने देखिन्न । अन्य परिस्थितिमा २६७ (६) अनुरुपको अवस्थामा मात्र सेना परिचालनको स्वीकृत प्रक्रियागत छ ।

शीतल निवासमा प्रधानमन्त्री र राष्ट्रपतिबीच भएको सवा एक घण्टा लामो कुराकानीमा त्यस्तो पछिल्लो अवस्थाबारे छलफलबाहेक अन्य कुरा भएको आफूलाई जानकारी नभएको प्रमुख स्वकीय सचिव अधिकारीले जानकारी दिए ।

सेनाले के–के गर्छ ?

– नेपाल–भारत सीमाका प्रवेश विन्दु व्यवस्थापनमा गृह मन्त्रालयले मुख्य जिम्मेवारी लिए पनि सहयोगीको भूमिका निर्वाह गर्ने ।

– नेपाल–भारत सीमाका प्रवेश विन्दुमा नेपाली नागरिक आएपछि होल्डिङ सेन्टरमा ठेगानासहितको व्यक्तिगत विवरण तयार गर्ने काममा गृह र स्थानीय तह जिम्मेवार भए पनि त्यसमा पनि सेनाले सहयोग गर्ने ।

– प्रवेश नाका र विमानस्थलमा आउनेलाई होल्डिङ सेन्टरमा पुर्‍याई सेन्टरबाट होटल क्वारेन्टाइन वा स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टाइनमा पुर्‍याउन आवश्यक यातायात साधनको व्यवस्थापनमा यातायात व्यवस्थापन विभाग, ट्राफ्रिक प्रहरी महाशाखाको सहयोगमा मुख्य जिम्मेवारी सेनाले लिने ।

– भारतबाट आउनेलाई होल्डिङ सेन्टर र तेस्रो देशबाट आउनेलाई विमानस्थलमा स्वास्थ्य स्वघोषणा फारम भर्न लगाउने र ज्वरो मापनलगायत स्वास्थ्य जाँच गर्ने काममा पनि सहयोगी भूमिकामा खटिने ।

– सीमानाकामा रहेका होल्डिङ सेन्टरको व्यवस्थापन गर्न स्थानीय तहको सहयोगमा मुख्य जिम्मेवारी सेनाले लिने ।

– काठमाडौंमा रहेको होल्डिङ सेन्टरको व्यवस्थापन सेनाले गर्ने ।

– क्वारेन्टाइनको सुरक्षा, रेखदेख, निगरानी र अभिलेख व्यवस्थापन गृह मन्त्रालयअन्तर्गतको प्रहरी सशस्त्र र स्थानीय तहको पनि साथ लिएर सेनाले मुख्य जिम्मेवारी लिने ।

– भारत तथा अन्य मुलुकबाट नेपाल प्रवेश गरेकाहरूलाई जिल्ला सदरमुकाम हँुदै सम्बन्धित तहको क्वारेन्टाइनसम्म र्पुयाउने काममा पनि सेनाले प्रदेश सरकारले तोकेका मन्त्री, स्थानीय प्रशासनहरूको सहयोगमा काम गर्ने ।

– समग्र कार्यको सञ्चालन अनुगमन, नियन्त्रण र निर्देशनमा पनि सेना परिचालन हुने । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७